लमजुङ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङफे नै सभामुख पदको सशक्त उम्मेदवार भएको बताएका छन्। मंगलबार प्रेस संगठन लमजुङले गरेको अन्तरक्रियामा बोल्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन्।
प्रतिनिधिसभाको उपसभामुख बनिसकेकाले शिवमाया पार्टीको तर्फबाट सभामुखको सशक्त उम्मेदवार भएको उनको भनाइ छ। संवैधानिक प्रावधान अनुसार उपसभामुखले राजीनामा नदिएसम्म संसद्को सबैभन्दा ठूलो दल नेकपाले समाभुख पद नै गुमाउने स्थिति सिर्जना भएकाले उहाँलाई राजीनामा दिन पार्टीले आग्रह गरेको उनको भनाइ छ।
‘अहिलेको उपसभामुखले सभामुखमा दाबी गर्ने हक राख्नुहुन्छ। यो स्वभाविक पनि हुन्छ। तर उहाँले राजीनामा नदिँदासम्म त सभामुख हाम्रो पार्टीले पाउने सम्भावनाकै अन्त्य हुन्छ। सभामुख उहाँ नै बन्ने हो भने त्यो सभामुख हाम्रो पार्टीले पाउन सक्ने बाटो त तयार हुनुपर्छ’, प्रवक्ता श्रेष्ठले भने, ‘अब पहिला उहाँले मार्ग प्रशस्त गर्नुपर्छ। त्यो बाटो खुलेपछि हाम्रो पार्टीको एउटा सशक्त दाबेदार उहाँ पनि भएको सबैलाई थाहा छ। त्यसमध्ये पार्टीले आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिने छ।’
नेता श्रेष्ठले उपसभामुखले संसदको ठूलो दल नेकपाले नै समामुख गुमाउने अवस्था सिर्जना हुँदासम्म राजीनामा नदिनु लोकतान्त्रिक मान्यता विपरित भएको बताए। ‘सभामुख संसद्को सबैभन्दा ठूलो दल हाम्रो पार्टीले नपाउने स्थिति सिर्जना गर्नु पार्टीको हित चाहने र लोकतान्त्रिक मान्यता स्वीकार गर्ने पक्षका निम्ति हितकर कुरा होइन’, उनले भने। उपसभामुखलाई प्रवक्ता श्रेष्ठले संवैधानिक प्रावधानलाई बुझ्न अनुरोधसमेत गरे।
‘नेकपा संसद्को सबैभन्दा ठूलो पार्टी हो। हाम्रो पार्टीले रिक्त सभामुख पदमा दाबी गर्नु र उक्त पद पाउनु स्वभाविक हो। तर, त्यसका निम्ति संविधानको मर्म अनुसार उपसभामुख पनि रहिरहेर सम्भव छैन’, उनले भने, ‘उपसभामुख हाम्रो पार्टीको हुँदासम्म सभामुख हाम्रो पार्टीको उम्मेदवार बन्ने अवस्था रहँदैन। त्यस कोणबाट हामीले उपसभामुखलाई राजीनामा दिन अनुरोध गरेका हौँ। यो स्वभाविक प्रक्रिया हो। दाबीको हकमा हाम्रो पार्टीको प्रतिनिधिसभाका जुनसुकै सदस्यले दाबी गर्न सक्छन्।’
उपसभामुखको राजीनामाकै कारण पुस ४ गतेबाट सुरु भएको संसद्को हिउँदे अधिवेशन बिजनेस विहीन बनेको छ। उपसभामुखको राजीनामाकै कारण पुस ११, १६ र २७ गते सूचना टाँस गर्दै बैठक स्थिगित भएका छन्। प्रनिधिसभाको अर्को बैठक माघ ६ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।