काठमाडौं_ धादिङ समाज यु.ए.ईले धादिङ निलकण्ठ नगरपालिका–११ गैरीगाउँका स्थायीवासिन्दा जीतबहादुर गुरुङको उपचारको लागि ५० हजार नेपाली रुपैयाँ सहयोग प्रदान गरेको छ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजका उपाध्यक्ष ईश्वर भट्टले मिर्गौला रोगबाट पीडित गुरुङको उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेका हुन्।
समाजको तर्फबाट संकलित उक्त रकम रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला, समाजका आजिवन सदस्य तथा पूर्व महासचिव किरण धमला र ज्ञाननारायण श्रेष्ठको हातबाट संयुक्त रुपमा प्रदान गरिएको थियो। ६२ वर्षीया गुरुङको दुवै मिर्गौलामा समस्या छ।
एउटा मिर्गौला पूर्ण रुपमा फेल भएको र अर्कोले पनि ७० प्रतिशतमात्रै काम गरेको छ। उनको आर्थिक अवस्था अत्यन्तै दयनीय छ। कार्यक्रममा सम्बोधन गर्दै सभापति धमलाले समाजले सराहनीय काम गरेको भन्दै धन्यवाद दिए। आगामी दिनमा पनि गुरुङको उपचारको लागि सबैले सहयोगी हात अघि बढाउनुपर्ने धमलाको भनाई छ।
उनले भने,‘म पनि उपचारमा सहयोग जुटाउने टीममा सहभागी भएँ। उहाँको उपचारको लागि जस्तोसुकै सहयोग गर्नपनि तयार छु। विदेशबाट नेपाली दाजुभाईहरुले ठूलो सहयोग गरेका छन्।
यो खुशीको कुरा हो।’ त्यस्तै कार्यक्रममा समाजका पूर्व महासचिव किरण धमलाले समाजले स्थापनाकालदेखि नै समाजसेवी कामहरु गर्दै आएकोबारे प्रकाश पारेका थिए। त्यस्तै, उनले आफूहरुले देशभरि आपत, विपत र दुःख र पीडामा परेकाहरुलाई समाजले सहयोग गर्दै आएको र आगामी दिनमा यो कामलाई निरन्तरता दिने जानकारी दिए।