कास्की_ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चिडियाखाना निर्माण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने प्रदेश सरकारको सपना रहेको बताएका छन्।
युनाइटेड क्लब पोखराको आयोजनामा आजदेखि शुरु १० औँ संस्करणको पोखरा महोत्सवको उद्घाटन गर्दै उनँले पोखरा महानगरपालिका ३०, ३१ र ३२ स्थित वेगनासताल र रुपातालको बीच भागमा रहेको सामुदायिक वनमा चिडियाखाना निर्माण गर्ने सपना देखेको क्लबसँग प्रदेश सरकारको समेत सपना जोडिएको छ भने।
मुख्यमन्त्रीले भने,“क्लब, पोखरा महोत्सव र गण्डकी प्रदेश सरकारले पोखरामा चिडियाखाना निर्माण गर्ने साझा उद्देश्य छ, त्यसलाई हामी साकार पार्छाैँ।” प्रदेशमा ठूला उद्यान, एक हजार जना अट्ने सभागृह निर्माण गर्ने र धेरै पर्यटक भित्र्याउने उद्देश्यले विकासका कामलाई तीव्रता दिइएको मुख्यमन्त्री गुरुङले स्पष्ट पार्नुभयो।
सो अवसरमा राष्ट्रिय खेलकूद परिषद्का निमित्त सदस्य सचिव राजेशकुमार गुरुङले खेलकूद, शिक्षा, स्वास्थ्य र चिडियाखाना निर्माणमा क्लबले गरेको सकारात्मक कामको सिको अन्य सङ्घसंस्थाहरुले समेत गर्नुपर्ने बताए।
क्लबका अध्यक्ष लालकाजी गुरुङले चिडियाखाना निर्माणका लागि क्लबका तर्फबाट हालसम्म रु ५५ लाख लगानी गरिसकिएको जानकारी दिए। कार्यक्रममा पोखरा–१२ का वडाध्यक्ष रामबहादुर कार्की, क्लबका उपाध्यक्ष राजु श्रेष्ठ र महासचिव शान्त बहादुर थापालगायतले पर्यटन प्रवद्र्धन तथा उद्यमशीलता विकासका लागि महोत्सवले सघाउने भनाइ राखेका थिए।
महोत्सव उद्घाटनपूर्व रङ्गशाला प्रवेशद्वारदेखि महोत्सवस्थल अमरसिंहचौरसम्म बृहत् झाँकी तथा पदयात्रा आयोजना गरिएको थियो। झाँकीतर्फ राम बजार पुन समाज प्रथम, डढुवा दुर्छा लमजुङ तमु समाज द्वितीय, र ताङतिङ दूधपोखरी तमु समाज तृतीय बने।
पदयात्रातर्फ पौँचोको तमु समाज प्रथम, जुरे भुमे तप्रे तमु समाज बाँझापाटन द्वितीय र मान्द्रेढुङ्गा आमा समूह पोखरा तेस्रो भए। झाँकी तथा पदयात्रातर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरेका छन्। महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ। रासस