कन्चनपुर– स्थानीय जनप्रतिनिधि र प्रहरीको संयुक्त पहलमा छाउगोठ भत्काउने अभियान शुरु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकामा मङ्गबार १२ वटा छाउगोठ भत्काइएको छ। भीमदत्त नगरपालिका–३ तिलकपुरमा सात र वडा नं ७ मा पाँच गरी १२ वटा छाउगोठ भत्काइएको हो।
वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले वडा कार्यालयसितको समन्वयमा छाउगोठ भत्काउने काम भएको जानकारी दिँदै अभियानले निरन्तरता पाउने छ भनेका छन्। भत्काएका छाउगोठ पुनःनिर्माण गरिए वडा कार्यालयबाट उपलब्ध सुविधा दिन रोक लगाइने भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष रामबहादुर जप्रेलले बताए।
‘यसअघि पनि हामीले छाउगोठ भत्काएका थियौँ।’ वडाध्यक्ष जप्रेलले भने, ‘केही स्थानीयले फेरी निर्माण गरेको पनि भेटियो।’ त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटामा पनि सोमबारदेखि स्थानीय तह र प्रहरी प्रशासनको पहलमा छाउगोठ भत्काउने अभियान शुरु भएको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले जानकारी दिएका छन्। (रासस)