काठमाडौं– आज थारु समुदायले माघी पर्व धुमधामका साथ मनाउँदैछन्। थारु समुदायले माघीका अवसरमा चारधाम जाने, तीर्थमा गई गच्छेअनुसार दिनदुःखीलाई दान गर्ने चलन छ। प्रायः तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने चलन छ।
विवाह, यात्रा, बसाइँसराईका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ।सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रुपमा समेत मनाईन्छ।
कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ। तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ।
यस्ता छन् खिचडी खानुका फाइदाः
भरपूर पोषक तत्वः
खिचडीमा कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फाइबर, म्याकग्निसियम, पोटासियम तथा फस्फोरस पाइन्छ। यदि यसलाई आवश्यकता अनुसार अन्य तरकारीहरु पनि मिसाएर यसलाई थप पोषिलो बनाउन सकिन्छ।
यसलाई पचाउन सजिलोः
खिचडीमा तेज मसलाको प्रयोग हुँदैन, जसका कारण यो पचाउन निकै सहज हुन्छ। त्यसैले हो बिमारी हुँदा खिचडी खान चिकित्सकहरुले सुझाव दिने गरेको। यदि तपाईंको पाचनतन्त्र कमजोर छ भने खिचडी खानु निकै फाइदाजनक हुन्छ।
प्रतिरक्षा प्रणाली मजबुत बनाउनः
खिचडीको सेवनले मानिसलाई बिरामी हुनबाट बचाउँछ। शरीरलाई उर्जा प्रदान गर्छ। साथै यसले रोगप्रतिरोधी क्षमता पनि मजबुत बनाउन सहयोग गर्छ। पित्त तथा कफको समस्यामा पनि खिचडी लाभदायक मानिन्छ।