एजेन्सी – जापनीज फुटबल खेलाडी काजु मिउराका नाममा थुप्रै कीर्तिमान छन्। अझै केहि कीर्तिमान उनका नाममा थपिने सम्भावना छ। तर, उनले खेल छाडेका छैनन्। उनले योकोहामा एफसीसँग अर्को एक वर्षका लागि सम्झौता गरेका छन्।
नयाँ सम्झौताको अर्थ अब उनले सोही क्लबमा रहँदा आफ्नो ५३ जन्म दिन मनाउनेछन्। फेब्रुअरी २६ मा उनी ५३ औं वर्षमा प्रवेश गर्नेछन्। ‘मैले यसका लागि हरेक दिन मेहनत गरेको छु। मेरो लागि यो गर्वको विषय हो,’ मिउराले भने,‘ म फुटबलमा रमाउन चाहन्छु। टोलीको जितका लागि आफ्नो तर्फबाट हर सम्भव प्रयास गर्नेछु।’
गत सिजन भने उनले टोलीका लागि उल्लेख योगदान गर्न सकेनन्। ५ खेलमा २ सय ३३ मिनेट मैदानमा बिताएका उनले गोल गर्न सकेनन्। त्यसका बावजुद टोली जापनीज फुटबलको माथिल्लो श्रेणीमा पुग्न सफल भएको छ। यसको अर्थ मिउरा अब जे लिगमा खेल्नेछन्। सन् २००७ पछि उनी पहिलो पटक शीर्ष डिभिजनमा खेल्नेछन्।
पछिल्लो पटक उनले ४० को उमेरमा जे लिग खेलेका थिए। सन् १९९० देखि एक दशक जापानको राष्ट्रिय फुटबल टोलीबाट खेलेका मिउरा देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा दोस्रो स्थानमा छन्। उनले ८९ खेलमा ५५ गोल गरेका छन्।