गाईघाट– उदयपुरको कटारीस्थित कमला नदीको त्रिवेणीधाममा पन्ध्र दिने त्रिवेणी मेला शुरू भएकाे छ। परम्पराकालदेखि हरेक वर्ष माघे सङ्क्रान्तिदेखि सञ्चालन हुने मेला यस वर्ष पनि माघ १ गतेबाट औपचारिकरूपमा शुरु भएको हाे।
कटारीको कमला नदीस्थित त्रिवेणीधाममा आजबाट सुरु भएको मेला यही माघ १५ गतेसम्म लाग्ने मेला व्यवस्थापन समितिका अध्यक्ष केदार धमलाले बताएका छन्। मेलामा मुख्य गरेर त्रिवेणीधाममा दर्शन गर्न आउने र मेलाका लागि आउने आगन्तुकका लागि विभिन्न ४०० व्यापारिक कक्ष, होटल, सुरक्षा व्यवस्थासमेत प्रबन्ध गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ।
दर्शन गर्न आउने भक्तजनले मुख्य गरेर कमला नदीको त्रिवेणीधाममा मकर नुहाउने, पूजा तथा आरधना गर्ने, कमलेश्वर शिव महादेवको दर्शन गर्ने गरेका कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठ बताउछन्।
मनले चिताएको कुरा पूरा हुने र शरीरका विभिन्न रोगकष्ट तथा चर्मरोग अन्त्य हुने जनविश्वासका साथ त्रिवेणीधाममा मकर नुहाउने तथा कमला नदीमा पाठी, परेवा र हाँस बलि दिएर पूजा गर्ने र कमलेश्वर महादेव मन्दिरमा दूध चढाएर पूूजा गर्ने प्रचलन रहँदै आएको त्रिवेणीका हेमप्रसाद दाहाल बताउछन्।
पन्ध्र दिनभित्र सात लाखभन्दा बढी भक्तजनले दर्शन तथा पूजा आरधना गर्ने गरेका मेला व्यवस्थापन समितिका पदाधिकारी बताउँछन्। त्रिवेणीधाममा उदयपुरबाहेक प्रदेश नं १ का झापा, मोरङ, सुनसरी, प्रदेश नं २ का सिरहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन, काभ्रे, सिन्धुली, सोलखुम्बुु, ओखलढुङ्गासहित राजधानी काठमाडाैँबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका छन्।
यस्तै भारतको बिहार, पश्चिमबङ्गाल, लार्जिलिङ, सिक्किम र कालिम्पोङबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका मेला व्यवस्थापन समितिले जनाएको छ। (रासस)