काठमाडौं – निकै उतार चढावकाबीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा प्रतितोला रु ७ सयले वृद्धि भएको छ।
महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७४ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ४ सय तोकेको छ। मङ्गलबार छापावाला सुन प्रतितोला रु ७४ हजार र तेजाबी सुन प्रतितोला रु ७३ हजार ७ सय मा खरिदबिक्री भएको थियो।
गत बधुबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो। सो दिन छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २ सय पुगेको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि प्रतितोला रु पाँचले वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला रु ८ सय ८५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ। पछिल्लो समय मध्यपूर्वमा देखिएको तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतारचढाव देखिदै आएको छ। (रासस)