एजेन्सी– जापानीज मोटरसाइकल निर्माता कम्पनी होन्डाले भारतमा २०० सीसी सेग्मेन्टमा मोटरसाइकल निर्माण गर्ने भएको छ। कम्पनीले दक्षिण एशियाली बजारलाई लक्षित गरेर २०० सीसी सेग्मेन्टमा नेकेड, फियर्ड तथा एड्भेन्चर वेस मोटरसाइकल निर्माण गर्ने भएको हो।
२०१४ अटो एक्सपोमा कम्पनीले सीएक्स ०१ कन्सेप्ट मोटरसाइकल सार्वजनिक गरेको थियो। यहि मोटरसाइकलमा आधारीत २०० सीसी नयाँ मोटरसाइकल बनाउन लागेको समेत अनुमान गरिएको छ। २०० सीसी सेग्मेन्टमा ल्याउने उक्त मोटरसाइकलले बजाज पल्सर एनएस २००, अपाचे आरटीआर २०० जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ।
यो मोटरसाइकलमा एलइडी हेडल्याम्प, डिजिटल इन्स्टुमेन्ट क्लस्टर तथा स्मार्ट कनेक्ट जस्ता फिचर रहने अनुमान गरिएको छ। यसको इन्जिनमा २०० सीसी एयरकूल्ड सिगंल सिलिन्डर इन्जिन रहने छ। जसले २०–२३ पीएस पावर जेनेरेट गर्ने अनुमान छ। कम्पनीको हाल भारतमा उत्पादन गरेको मध्ये प्रिमियम मोटरसाइकलमा होन्डा सीबी हर्नेट १६० रहेको छ।
कम्पनीले २०० सीसी सेग्मेन्टमा एड्भेन्चर मोटरसाइकल समेत निर्माण गर्ने अनुमान गरिएको छ। हाल भारतीय बजारमा २०० सीसी सेग्मेन्टको एड्भेन्चर मोटरसाइकलमा हिरो एक्सपल्सले राम्रो बजार पाइरहेको छ। होन्डाले २०० सीसी सेग्मेन्टमा निमार्ण गर्ने उक्त मोटरसाइकल एशियाली बजारमा निर्यातसमेत गर्नेछ।