एजेन्सी– ट्वीटरले ‘ट्वीटर एनालिटिक्स’ भित्र रहेको ‘अडियन्स इन्साइट’ सेक्सन हटाउने भएको छ। सन् २०१५ बाट सञ्चालनमा ल्याइएको यो फिचर जनवरी ३० बाट कम्पनीले हटाउने भएको हो।
‘ट्वीटर एनालिटिक्स’ भित्र रहेको ‘अडियन्स इन्साइट’ बाट प्रयोगकर्ताले आफ्नो फलोअर्स, अकाउण्टको विश्लेषण लगायतका थुप्रै जानकारी प्राप्त गर्दै आएका छन्। यसको माध्यमबाट ट्वीटर अकाउण्टको अध्ययन गर्न र विज्ञापनको योजना बनाउन सहज हुने गरेको छ।
अब भने ट्वीटरले उक्त सेक्सन नै हटाउने भएकाे छ। हाल तपाईं ट्वीटरको ‘ट्वीटर एनालिटिक्स’ भित्र ‘अडियन्स इन्साइट’ मा जानु भयो भने ‘अडियन्स इन्साइट’ सेक्सन आउँदो ३० तारिक देखी हटाइने जानकारी उल्लेख गरिएकाे छ।
केही समय अघि मात्रै कम्पनीले ‘मिडिया स्टुडियो’ मा ‘कन्भर्सेसन इन्साइट’ सेक्सन थप गरेको थियो। कन्भर्सेसन इन्साइट थप भएसँगै एनालिटिक्सबाट अडियन्स इन्साइट हटाउने तयारी भएको हुन सक्ने अनुमान गरिएको छ।
यद्यपी कम्पनीले यो सेक्सन हटाउनु पछाडिको कारण आधिकारिक रुपमा खुलाएको छैन।