काठमाडौं _ भीमसेन मन्दिर पुनर्निर्माणका लागि नेपाल इन्भेस्टमेन्ट बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिलाई बुधबार चेक हस्तान्तरण गरेको हो।
२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पाटन मंगलबजारस्थित भीमसेन मन्दिर क्षतिग्रस्त भएको थियो। जिल्लाका विभिन्न जातीय समाज, व्यापारिक वर्ग, संघ संस्था, मंगल टोल सुधार समिति समेतको आग्रहमा ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिमार्फत् स्थानीय तवरबाट आर्थिक स्रोत जुटाउने गरी मन्दिर पुनर्निर्माण द्रुतगतिमा भइरहेको छ।
“हाम्रो सम्पदा हामी आफैं बनाउन” भन्ने नाराका साथ काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टको प्राविधिक सहयोगमा मन्दिरको छानामा सुन लेपन बाहेक ४ करोड ९३ लाखको अनुमानित लागत तय गरिएको छ। भीमसेन मन्दिरको पुनर्निर्माणका लागि विभिन्न संघ संस्था, व्यक्ति, व्यापारीवर्ग, वित्तीय संस्था, स्थानीय सरकार, प्रदेश सरकार, सांसदहरूबाट समेत आर्थिक सहयोग प्राप्त भइरहेको छ।
यसै क्रममा नेपाल इन्भेस्टमेन्ट बैंक लि. बाट मन्दिर पुनर्निर्माणका लागि बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले आफ्नो प्रतिबद्धता अनुरुप ५० लाख रुपैयाँ सहयोग गरेको बैंकले जनाएको छ। रासस