एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले उत्कृष्ट प्रदर्शन गरेपछि इटालियन कप अन्तर्गत बुधबारको खेलमा युभेन्टसले उडीनेजेलाई ४–० ले पराजित गरेको छ। युभेन्टसको जितमा कप्तानको भूमिकामा रहेका डिबालाले २ गोल र १ असिस्ट प्रदान गरे।
खेलको १५ औं मिनेटमा नै युभेन्टसले गोन्जालो हिगुआइनको गोलमा अग्रता लिएको थियो। उडीनेजेको मिडफिल्डको मध्यभागबाट सुरु भएको मुभलाई डिबाला र हिगुआइनले उत्कृष्ट पास दिँदै गोल सम्भव बनाएका थिए। यी दुईले एक अर्कासँग लगातार १–२ पास खेल्दै उडिनेजेको मिडफिल्ड र डिफेन्सलाई नै छक्याएका थिए।
त्यसको केहिबेरमा नै युभेन्टसले पेनाल्टीको अवसर पायो। उडीनेजेका गोलरक्षक निकोलसले पेनाल्टी क्षेत्रभित्र फेडेरिको बर्नार्डेस्कीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिए। उक्त पेनाल्टीलाई डिबालाले सहजै गोलमा परिणत गर्दै अग्रता दोब्बर पारे। फरवार्ड क्रिस्टियानो रोनाल्डो बिरामी भएका कारण अनुपस्थित रहेको खेलमा डिबालाले उत्कृष्ट प्रदर्शन गरे।
दोस्रो हाफको सुरुवातमै युभेन्टसले गोल गरेपनि रेफ्रीले त्यसलाई अफसाइड करार दिए। माथिस डे लिग्टको प्रहार गोलरक्षकले रोकेपछि रिबाउन्डमा हिगुआइनले गोल गरेका थिए। तर भिडियो असिस्टेन्ट रेफ्रीले डे लिग्टले पास पाउने बेलामा नै अफसाइड रहेको देखाएपछि गोलले मान्यता पाएन।
डिबालाले ५८ औं मिनेटमा युभेन्टसलाई सहज जिततर्फ उन्मुख गराए। उनले हिगुआइनको पास लिएपछि पेनाल्टी क्षेत्रको ठिक भित्रबाट उत्कृष्ट गोल गरे। अनमार्क रहेका डिबालाले दायाँ भागबाट गरेको प्रहारले गोलरक्षक निकोलसलाई बिट गर्न सफल रहयो।
उडीनेजेका डिफेन्डर ब्राम न्युटिन्कले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि रेफ्रीले युभेन्टसलाई पुनः पेनाल्टी दिए। डिबालाले ह्याट्रिक गर्ने अवसर रहेपनि उनले पेनाल्टी डग्लस कोस्टालाई दिए। कोस्टाले सहजै गोल गर्दै ४–० को फराकिलो अग्रता दिलाए।
खेलको अन्तिम समयमा युभेन्टसले अर्को गोल गर्ने अवसर गुमायो। डिफेन्डर ड्यानीएल रुगानीको प्रहार पोस्टमा लाग्दा उडीनेजे जोगिएको थियो। यस जितसँगै युभेन्टस प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। अब बिहीबार हुने रोमा र पार्माको विजेताले युभेन्टसको सामना गर्नेछ।
बुधबार भएको अन्य खेलमा फिओरेन्टिनाले एटलान्टालाई २–१ ले पराजित गर्यो। प्याट्रिक कुट्रोनेले ११ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। जोसिप इलिचिचले एटलान्टाका लागि बराबरी गोल गरे। खेलको ६ मिनेट बाँकी रहँदा पोल लिरोलाको गोलमा फिओरेन्टिना जित हासिल गर्न सफल रहयो।
यस्तै अर्को खेलमा मिलानले एसपीएएल माथि ३–० को सहज जित दर्ता गयो। मिलानले घरेलु मैदानमा क्रिस्टोफ पियाटेकको गोलमा अग्रता लिएको थियो। ४४ औं मिनेटमा पियाटेककै गोलमा सामु कास्टिलेजोले मिलानको अग्रता दोब्बर पारे। ६६ औं मिनेटमा थियो हर्नान्डेजको गोलमा मिलानको जित पक्का भएको थियो।