काठमाडौं – सबैभन्दा बढी पोषणयुक्त खाद्य पदार्थहरुमध्ये अण्डा हो। एउटा उसिनेको अण्डामा हामीलाई दैनिक मात्रामा चाहिने भिटामीन ए को ६ प्रतिशत, फोलेएटको ५ प्रतिशत, भिटामीन बी ५ को ७ प्रतिशत, भिटामीन बी १२ को ९ प्रतिशत, फस्फोरसको ९ प्रतिशत र सेलेनियमको २२ प्रतिशत पाइन्छ।
त्यसबाहेक अण्डामा भिटामीन डी, भिटामीन ई, भिटामीन के, भिटामीन बी ६, क्याल्सियम र जिंक पनि पाइन्छ। एउटा सिंगो अण्डा खाँदा हामीले ७७ क्यालोरी, ६ ग्राम प्रोटिन र ५ ग्राम स्वस्थकर चिल्लो पनि प्राप्त गरिरहेका हुन्छौं। पोषिलो र मानव शरीरका लागि अत्यावश्यक प्रोटिन, भिटामीन तथा खनिजतत्त्वहरुले भरिपूर्ण मुटु रोगीहरुले लागि उपयुक्त मानिँदैन।
अण्डा धेरै खायो भने शरीरमा खराब कोलेस्ट्रोल (एलडीएल) को मात्रा बढ्नेछ र त्यसले मुटुको समस्या निम्त्याउने गर्दछ। यही विश्वासका कारण मुटुको समस्या हुनेहरुले अण्डा खानु ठीक मानिँदैन। पछिल्ला अनुसन्धानहरुलाई हेर्ने हो भने यो भनाइमा त्यति सत्यता पनि छैन।
मानव शरीरमा कोलेस्ट्रोलको मात्रा घटबढ हुने कुरा त्यति सजिलो पनि छैन। शरीरमा कोलेस्ट्रोल नियन्त्रण गर्ने एउटा प्रणाली हुन्छ, जुन प्रणालीले स्वचालित ढंगले काम गरिरहेको हुन्छ। त्यसअनुसार, हामीले बढी कोलेस्ट्रोलयुक्त खानेकुराहरु खायौं भने शरीरले आफैँ कोलेस्ट्रोलेकाे उत्पादन कम वा बन्द गरेर त्यसलाई सन्तुलित पार्ने काम गरिरहेको हुन्छ। यसकारण पनि, अण्डा खाँदैमा शरीरमा कोलेस्ट्रोलको मात्रा बढी हाल्छ भन्ने कुरामा विश्वास गर्न सकिँदैन।