काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको संवादहीनता हटेको छ। गत आइतवारदेखि दुई अध्यक्षबीच देखिएको संवादहीनताको अवस्था विहीवार(आज) हटेको हो। दुई अध्यक्षबीचको सम्बन्धमा दरार उत्पन्न भएको समाचारहरु सार्वजनिक भइरहँदा नेकपाका दुई अध्यक्षबीच आज भेटवार्ता भएको हो।
प्रधानमन्त्री ओलीसँग भेटवार्ताको लागि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन्। साढे १२ बजेदेखि दुई अध्यक्षबीच छलफल भइरहेको छ। प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाका दुई जना अध्यक्षबीच अहिले भेटवार्ता जारी रहेको जानकारी दिएका छन्। नेकपामा सभामुख चयनका विषयमा भने विवाद देखिएको छ।
ओली सभामुखमा सुवास नेम्वाङलाई ल्याउन चाहन्छन् भने प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउन अडान लिएका छन्। उता उपसभामुख तुम्बाहाङ्फेलाई सभामुख बनाउनु पर्ने लविङ राष्ट्रपति कार्यालय शीतलनिवासबाट भएको कारण समस्या उत्पन्न भएको नेकपाका नेताहरुले बताएका छन्। नेकपाका दुई अध्यक्षबीच आइतवार यता भने छलफल हुन सकेको थिएन।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने नेकपा सचिवालय बैठकले शनिवार गरेको निर्णयपछि आइतवार दुई अध्यक्षसहित उपसभामुख तुम्बाहाङ्फेको बैठक बालुवाटारमा बसेको थियो। तर उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन अस्वीकार गरेकी थिइन्।
प्रधानमन्त्रीसमेत रहेको पार्टी अध्यक्ष केपी ओलीले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन स्पष्ट निर्देशन नदिएको भन्दै अर्का अध्यक्ष प्रचण्ड ओलीसँग रिसाएका उनी निकट नेताहरुले बताउँदै आएका थिए।