गलकोट, २३ माघ – बागलुङमा कृषि विज्ञान क्याम्पस सञ्चालन हुने भएको छ। बागलुङ नगरपालिकाको साझेदारीमा पोखरा विश्वविद्यालयको सम्बन्धनमा क्याम्पस सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ।
कृषि विज्ञान क्याम्पस सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माणको सुनिश्चितता नगरले गर्ने गरी क्याम्पस सञ्चालन गर्न लागिएको हो।
बागलुङमा स्नातक तहको कृषि विज्ञान क्याम्पस सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापन भइसकेको नगर प्रमुख जनकाराज पौडेलले जानकारी दिए।
कृषिमा दक्ष जनशक्ति उत्पादनका लागि क्याम्पस सञ्चालन गर्न आवश्यक प्रक्रियाको टुङ्गो लागएको उनले बताए। नगर कार्यपालिकाबाट निर्णय गरेर क्याम्पस सञ्चालनका लागि पोखरा विश्वविद्यालय पठाइएको पौडेलले बताए।
पोखरा विश्वविद्यालयले क्याम्पस सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सहमत भएको छ। नगरले क्याम्पस सञ्चालनका लागि आवश्यक २० रोपनी जग्गा प्राप्त गरिसकेको छ। अन्य जग्गाको व्यवस्थापनका लागि अन्तिम टुङ्गो लाग्न बाँकी छ।
बागलुङ नगरपालिका–४ निरयघाटमा पन्त गुठीको नाममा रहेको व्यक्तिगत जग्गा नगरपालिकाले निःशुल्क लिएर क्याम्पस निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो।
जग्गा दातासमेत क्याम्पस सञ्चालनका लागि नगरपालिकालाई जग्गा प्रदान गर्न इच्छुक रहेको बताइएपछि क्याम्पस सञ्चालन गर्ने तयारी थालिएको थियो। निरयघाट बागलुङ, म्याग्दी र पर्वतका विद्यार्थीलाई पायक पर्ने स्थान भएको प्रमुख पौडेलले बताए।
गैरनाफामूलक शैक्षिक संस्थाका रुपमा विकास गर्नका लागि स्थानीय सरकारको साझेदारीमा क्याम्पस सञ्चालन गर्न लागिएको बागलुङ नगरपालिका र पोखरा विश्वविद्यालयका मध्यस्थकर्ता निर्मल सापकोटाले बताए।
ललितपुरस्थित ख:प क्याम्पसको मोडेलमा कृषि विज्ञान क्याम्पस सञ्चालन गरिने सापकोटाले बताए। महङ्गो शुल्कमा प्राविधिक शिक्षा अध्ययन गर्नका लागि विभिन्न ठाउँमा भौतारिनुपर्ने अवस्थाको अन्त्य हुने सापकोटाको भनाइ छ। क्याम्पसमा हाल ५० विद्यार्थीलाई अध्यापन गराइनेछ।