काठमाडौं– नेपाल सरकारले करिब दुई लाख क्युफिट रक्तचन्दन (काठ) भारतलाई फिर्ता गर्ने भएको छ। देशका विभिन्न ठाउँबाट बरामद भएको १ लाख ७३ हजार ७१ दशमलव ७ सय ९२ क्युफिट रक्त चन्दन भारलाई फिर्ता गर्न लागिएको हो।
पुस २८ गते बसेको मन्त्रीपरिषद् बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पथतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० को उपदफा (२) र (३) बमोजिम उक्त परिमाणको रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय गरेको हो।
संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० को उपदफा (२) मा संकटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमूना जुन मुलुकबाट पैठारी भएको हो सोही मुलुकमा फिर्ता पठाउने व्यवस्था गरिएको छ। नेपाल सरकारले बहुमूल्य मानिएको रक्तचन्दनको पैठारीमा प्रतिबन्ध लगाएको छ।