काठमाडाैं– तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन १ देखि ५ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेभएको छ।नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ७९ चलचित्र प्रदर्शन हुनेछन्।
महोत्सवबारे जानकारी दिने उद्देश्यले प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सहरी विकास राज्यमन्त्री तथा चलचित्रकर्मी रामवीर मानन्धरले चलचित्र क्षेत्रले राष्ट्रको पहिचानलाई बढवा दिने बताए। मुलुकको विकास र समृद्धिमा कलाकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने हुँदा राष्ट्रिय महत्वका विषयहरुलाई प्रचारप्रसारमा ल्याउन आग्रह गर्दै उनले राष्ट्रलाई चिनाउने ढङ्गले चलचित्रमा विषयवस्तु समावेश गर्न र राष्ट्र एंव राष्ट्रियतालाई सर्वोपरी मानेर चलचित्र बनाउन सुझाव दिए।
राज्यमन्त्री मानन्धरले भने, “भारत अमेरिकालगायत देशहरुले राष्ट्रिय पहिचानलाई चलचित्रमा महत्व दिएका हुन्छन् तर तर नेपाली चलचित्रमा त्यस्तो पाउन सकिएको छैन्।” अभिनेता निर शाहले राष्ट्रिय चलचित्र उद्योगको विकास र प्रवर्द्धनका लागि विभिन्न संस्थाहरु सक्रिय रहनु सकारात्मक सङ्केत भएको उल्लेख गर्दै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि सबैको सहयोग अपरिहार्य रहेकाे बताए।
प्रतिष्ठानका अध्यक्ष केपी पाठकले १० अन्तर्राष्ट्रिय, ३५ लघु, पाँच नेपाली र १५ नेपाली लघु चलचित्र तथा आठ वृतचित्र र ६ एनिमेटेड गरी ७९ चलचित्र प्रदर्शन गरिने जानकारी दिए। उनले ५५ देशबाट प्राप्त ६०० चलचित्रबाट उत्कृष्ट छनिएका मात्र प्रदर्शन गरिने जानकारी दिए। “विगतमा कथानक चलचित्र मात्र प्रदर्शन गरिन्थ्यो”, उनले भने, “यो वर्ष एनिमेसन र वृत्तचित्र विधा पनि थप गरिएको हो।” महोत्सवमा सबै विधाका उत्कृष्ट चलचित्रलाई पुरस्कृत गरिने पनि उहाँले जानकारी दिए।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत कथानक फिल्मलाई एक हजार ५०० अमेरिकी डलरसहित गौतमवुद्ध अवार्ड, सर्वोत्कृष्ट वृतचित्रलाई एक हजार डलरसहित माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५०० डलरसहित वाग्मती अवार्ड प्रदान गरिने छ।
फेस्टिभलमा प्रदर्शन हुनेमध्ये कथानक चलचित्रलाई बलिउड फिल्म निर्देशक प्रकाश झा नेतृत्वको निर्णायक मण्डलले मूल्याङ्कन गर्नेछन्। यसमा गौरी मल्ल, मञ्जुकुमार श्रेष्ठ, पोर्जुगिज फिल्ममेकर जाओपाओलो, र सिङ्गापुरका फिल्ममेकर युनि हाडी सदस्य रहेनछन्।
वृत्तचित्र, लघु चलचित्र तथा ऐनिमेटेड चलचित्रमार्फतको जुरीको नेतृत्व श्रीलङ्कन फिल्ममेकर अनोमा राजाकरुणाले गर्नुहुने छ भने उनलाई थिबाउट फ्रेक र करुण थापाले सघाउनु हुनेछ। नेपाली प्रतिस्पर्धाअन्तर्गत कथानक चलचित्रलाई रु एक लाखको पुरस्कार र उत्कृष्ट लघु चलचित्रलाई रु ४० हजारको पुरस्कार प्रदान गरिने छ।
कथानक चलचित्रमार्फतका उत्कृष्ट निर्देशक, लेखक, छयाकार अभिनेता, र अभिनेत्रीलाई ट्रफी प्रदान गरिनेछ। महोत्सवमा फिल्म प्रर्दशनसँगै विभिन्न विषयमा छलफल पनि सञ्चालन हुनेछन्। छलफलमा नायक राजेश हमालले आफ्नो अभिनय यात्राका बारेमा अनुभव सुनाउनेछन्।