काठमाडौं – विषादी तरकारी तथा फलफूलको प्रयोगले मानव स्वास्थ्यलाई गम्भिर असर र्पुयाउँछ। विषादी मिसाइएको तरकारी तथा फलफूल खाने व्यक्तिलाई मात्र होइन, सबैभन्दा बढी असर त विषादी छर्ने किसानलाई त्यसको धेरै पर्छ।
मानव शरीरमा विषादीले तत्कालिन र दीर्घकालिन असर पार्छ। विषादीको पहिलो तहको असर साधारण खालको हुन्छ। रिंगटा लाग्ने, थकित महशुस हुने, टाउको दुख्ने, खोकी लाग्ने, स्वाँ स्वाँ हुने, लाटो हुनु पहिलो अर्थात साधारण तहको असर हो। मध्यम खालको असरमा पेट बटारिने, मांसपेशी बटारिने, लड्खराएर हिड्ने, वाक वाक आउने, छाती दुख्ने, छाती गह्रौ हुने, वान्ता हुने, पखाला लाग्ने, छाला फुट्ने, छालामा फोका आउने, सेतो वा रातो हुने, शरीर कम्पन हुने लगायतको समस्या देखिन्छ। यस्तै पक्षघात हुने, मुर्छा पर्ने, होस हराउने समस्या देखिन्छ।
यस्तो अवस्थामा मानिसको मृत्यु हुनसक्ने सम्भावना धेरै हुँन्छ। यस्तै विषादीको दीर्घकालिन असरहरुमा पुरुषको शुक्राणुमा प्रत्यक्ष नकारात्मक असर गरी सन्तान उत्पादन क्षमतामा ह्रास आउने, शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा नकारात्मक असर देखाउने, क्यान्सर समेतकाे जाेखीम यसले बढाउँछ।
वंशाणुगात परिवार्तन हुने, अपाङ्गता भएको शिशु जन्मने, ट्युमरको जोखिम हुने, कलेजो तथा मिर्गौला विग्रिने, गर्भ तुहिने, स्नायु सम्बन्धि समस्याहरु जस्तै पक्षघात, छारे रोग, मानसिक विकासमा वाधा हुने, दम तथा एलर्जीको समस्या देखिने, अन्धोपना तथा दृष्टि कमजोरको समस्या हुने गर्छ।
गर्भवती महिलाले विषाधी छर्किनु हुँदैन
प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर जागेश्वर गौतमका अनुसार गर्भवती महिलाले तरकारी तथा फलफुलमा विषादी छर्कनै नहुने बताउँछन्। गर्भाअवस्थामा कतिपय औषधि नै प्रयोग गर्नुहुन्न, गर्भवतीलाई कतिपय औषधिले नै त असर पर्छ भने तरकारी तथा फलफुलको किरा मार्न प्रयोग गर्ने विषादीले त झनै असर पर्दछ। गर्भवती महिलाले तरकारी तथा फलफुलमा विषादी छर्कने काम गर्नु हुँदैन, विषादी मिसाइएको वा विषादी छर्किएको १५ दिन सम्म तरकारी खानु हुँदैन।
यसले गर्भवति महिलाको गर्भमा रहेको शिशुको स्वास्थ्यमा गम्भिर असर पर्ने भएपनि ग्रामिण क्षेत्रमा गर्भवती महिलाहरुले विषादी प्रयोग गर्ने गरेको पाईन्छ। गर्भवती महिलामा औषधिले हुने असरबारे त अनुसन्धान भएको छ, तर विषादीले हुने असरबारे कुनै अनुसन्धान गरिएको पाइएको छैन।