एजेन्सी– बिहीबार आबुधाबीमा भएको सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
मृत्यु हुनेमा ३ जना नेपाली रहेको प्रहरीले जनाएको छ। यस्तै १४ जना नेपाली घाइते भएको पनि पुष्टि भएको छ। बिहीबार बिहान ५ः३० बजे अल रहा भन्ने स्थानमा सो दुर्घना भएको थियो। एमबीएम कम्पनीमा कार्यरत उनीहरु डियुटी जाने क्रममा लरीमा ठोक्किएर बस दुर्घटनामा परेको थियो।
नेपाली दूतावास अबुधाबीको अनुसार मृत्यु हुनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेका छन्। तर तामाङको ठेगाना भने खुलेको छैन्। घाइते हुने नेपालीहरुमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन्।
त्यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते छन्। सुजलाको नेपाल ठेगाना भने खुलेको छैन। बसमा चालकसहित २४ सवार थिए। जसमा २३ जना महिला रहेको जनाइएको छ।