धादिङ– धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट बिहीबार साँझ एक दम्पती आफ्नो दुई नाबालक छोरासहित त्रिशुली नदीमा हाम्फालेका छन्।
नदीमा हाम फाल्नेमा काठमाडौँ चद्रागिरी घर भएका विनय लामिछाने र जमुना रेग्मी लामिछाने रहेका छन्। उनीहरुले ६ महिना र २ वर्षका छोराहरु साथैमा लिएर त्रिशुली नदिमा हामफालेका हुन्।
विनयलाई जीवितै उद्दार गर्न सकिए पनि श्रीमतीको भने मृत्यु भएको छ। यस्तै दुई नाबालक छोराहरु वेपत्ता छन्। उनीहरुको शुक्रबार बिहानैबाट खोजी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय, धादिङका एसपी रवीन्द्र रेग्मीको अनुसार त्रिशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको छ।
जीवितै उद्दार गरिएका विनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भइरहेको एसपी रेग्मीले जनाए। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित आदमघाटस्थित ससुराली जान भनेर काठमाडौँबाट २ बजे हिँडेपनि गोरखाको घ्याल्चोक पुगेका थिए।
कमोडिटी अनलाइन बिजिनेसमा एक करोडभन्दा बढी घाटामा गएपछि परिवारसहित आत्महत्या गर्ने योजना बनाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।