काठमाडौं– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारको खेल दशरथ रंगशालाबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले लगातार वर्षाको कारण खेल सारेको बताएको छ।
एन्फाले आफ्नो फेसबुक पेजमार्फत सानमिगेल मछिन्द्र क्लब र यदि हिमालयन शेर्पाको खेल दिउँसो ३ः०० बजे सातदोबाटोमा सुरु हुने जानकारी दिएको छ। तालिका अनुसार लिगमा आज खेल मात्र रहेको छ।
आजको खेल सातौं चरणको पहिलो खेल हो। मछिन्द्र लिगको शीर्षस्थानमा छ भने शेर्पाले अहिले सम्म जित निकाल्न सकेको छैन। शेर्पाले लिगको ६ खेलमा ४ खेल त बराबरी नै गरेको छ। यसक्रममा टोलीले जम्मा १ गोल गर्दै ४ गोल खाएको छ।
मछिन्द्र भने लिगमा १० गोल गर्दै सर्वा्धिक गोल गर्ने टोली बनेको छ। मछिन्द्रले लिगका ६ खेलमा ४ जित र २ बराबरीसहित १३ अंक जोडेको छ। अघिल्लो सिजन लिगको पुछारबाट दोस्रो स्थानमा रहेका कारण मछिन्द्रको यो सिजन एक अंक घटाइएको छ।
लिगमा मछिन्द्रसँगै त्रिभुवन आर्मी क्लबको १३ अंक छ। मनाङ मस्र्याङ्दी क्लबको १२ र रुस्लान थ्री स्टार क्लबको १० अंक छ।