काठमाडौं– ललितपुर महानगरपालिका–१ स्थित सङ्कटा पुल नजिक बजाज कम्पनीको सर्भि्सिङ सेन्टरमा गएराति लागेको आगो नियन्त्रणमा आएको छ।
विद्युत् सर्ट भई गएराति करिब ९ः०० बजे लागेको आगो करिब १२ः०० बजे सेना, प्रहरी, स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगो नियन्त्रणका लागि छ दमकल तथा पाँच पानी ट्याङ्कर प्रयोग गरिएको थियो। उक्त आगलागीबाट मानवीय क्षति नभएको भए पनि मर्मतका लागि ल्याइएका १०० मोटरसाइकलमध्ये अधिकांश आगोबाट क्षति भएका छन् भने मोटरसाइकलका पार्टपूर्जा नोक्सान भएका कम्पनीका महाप्रबन्धक यागेन गुरुङले जानकारी दिए।
आगलागीबाट क्षतिको प्रतिवेदन (विवरण) तयार गर्नका लागि प्रहरीले मुचुल्का लिने कार्य जारी छ। (रासस)