जाजरकोट– निरन्तर तीन दिनदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण जाजरकोट र रुकुम पश्चिमका विद्यालय तथा सरकारी कार्यालयको काम प्रभावित भएको छ।
सरकारी कार्यालयको सेवासमेत चिसोका कारण प्रभावकारी रुपमा दिन नसकिएको स्थानीय सरकारका प्रमुखले बताएका छन्। यहाँका सात स्थानीय तह र रुकुम पश्चिमका सबै स्थानीय तहको काम प्रभावकारी बन्न सकेको छैन। जिल्लाका सयभन्दा बढी सामुदायिक विद्यालय, एक दर्जन निजी विद्यालय, सदरमुकाममा रहेका दर्जन कार्यालयमा चिसोले सेवा प्रवाहमा समस्या भएको हो।
जाजरकोट–डोल्पा सडकखण्डभित्र सञ्चालनमा रहेका सबै यातायातका साधन अविरल वर्षाका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै सातै स्थानीय तहमा जाने र आउने यातायातका साधन प्रभावित भएका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। जाजरकोटदेखि नेपालगञ्ज तथा सुर्खेत जाने यातायातका साधन भने सञ्चालनमा रहका उनले बताएका छन्।
भारी हिमपात र चिसोका कारण ग्रामीण क्षेत्र तथा सदरमुकाममा दाउराको माग बढेको छ। नलगाड नगरपालिका–८ स्थित पंञ्च भयार माविका शिक्षक वीरबहादुर खत्रीले चिसोले पशुचौपाया जङ्गल लैजान नसकेका र वृद्ध, बालबालिका बढी प्रभावित भएका बताएक छन्। (रासस)