काठमाडौं- संसारमा कुनै पनि मानिस रोगी भएर बाँच्न चाहँदैन। सकेसम्म जीवनमा रोग नै नलागोस, यदि लागिहाल्यो भने पनि चाँडै नै रोगबाट छुटकारा पाइयोस् वा रोग ठीक होस भन्ने सबैको चाहना हुन्छ। रोग वा कुनै पनि शारीरिक समस्याले ग्रसित भएर जीवन जिउने होइन, पीडाको एउटा अवस्था हो रोग।
सबै मानिस यस्तै पीडाको अवस्थाबाट जिउन बाध्य छन्। हामी सबैमा केही न केही रोग लागेकै हुन्छ, औषधि खाइरहेकै हुन्छौँ र अस्पताल पनि धाइरहेकै हुन्छौँ। हामी आफ्नो जीवनको एउटा हिस्सा औषधि उपचार र आरामबिराममै खर्चिरहेका छौँ। के हामी पूर्णरूपमा स्वस्थ, निरोगी र तन्दुरुस्त जीवन जिउन सक्दैनौँ? के हामी औषधि सेवन नगरी, अस्पताल नधाई खुसीसँग जीवन बिताउन सक्दैनौँ ?
अहिलेको अवस्थामा यस्तो निरोगी, तन्दुरुस्त र सुखी जीवनको परिकल्पना गर्नै कठिन हुन थालेको छ। खानपानकै कारण हामी आफ्नो शरीरलाई रोगको भण्डार बनाउँदै छौँ। स्वस्थ र निरोगी जीवन जिउनका लागि हामीले यस्ता तरिकाहरू अपनाउनुपर्छः
सन्तुलित खाना
हाम्रो शरीरका लागि सम्पूर्ण पौष्टिक तत्त्वको स्रोत नै खाना हो। जस्तो खान्छौँ, हाम्रो स्वस्थ्य पनि त्यस्तै हुन्छ। त्यसैले पोषणयुक्त, सन्तुलित र सुपाच्य खानेकुरा शरीरका लागि अत्यावश्यक हुन्छ। जिब्रोलाई एकछिनको स्वाद दिएर रोगी शरीर कदापि बनाउनु हुँदैन। जुन खाना स्वास्थ्यका लागि हितकर छैन, त्यस्ता खानालाई पूर्णतः बन्देज गर्नुपर्छ। अस्वस्थकर खाना हामीलाई मिठो लाग्छ। जिब्रोको स्वादका लागि हामी खराब खानपान गर्न पुग्छौँ। यस्तो बानीलाई हामीले त्याग्नुपर्छ।
सन्तुलित दिनचर्या
दिनभर हामी के गर्छौं, कतिबेला सुत्छौँ र कतिबेला उठ्छौँ? कति अनुशासनमा बस्छौँ? हाम्रो दिनचर्याले पनि स्वास्थ्यमा धेरै प्रभाव पार्छ। खासगरी स्वस्थ जीवन जिउने हो भने दिनचर्या सन्तुलित र अनुशासित हुनुपर्छ। एउटा निश्चित तालिका अनुसार सुत्ने, उठ्ने, खाने, व्यायाम गर्ने, नुहाउने आदि गर्नुपर्छ। किनभने, शरीरलाई सन्तुलित ढंगले डोर्होयाउन हाम्रो दिनचर्या पनि सन्तुलित हुनुपर्छ।
सही समयमा खानेकुरा खाने, दिनभर सक्रिय रहने, सकारात्मक रहने, शारीरिक क्रियालाई जोड दिने, एकै स्थानमा लामो समय नबस्नेजस्ता गतिविधिले जीवन स्वस्थ बनाउँछ। बिहान सबेरै उठ्नु र राति चाँडै सुत्नु स्वस्थ जीवनका लागि राम्रो मानिन्छ। स्वस्थ रहन हरेक दिन सूर्योदयअघि उठ्नुपर्छ। सूर्योदयको दृश्य हेर्नुपर्छ। राति खाना खानसाथ सुत्नु हुँदैन। खाना खाएको दुई वा तीन घण्टापछि मात्र सुत्नुपर्छ।
प्राकृतिक परिवर्तनलाई आत्मसात
जीवनलाई डोर्होयाउनु पनि अनिवार्य हुन्छ। अर्थात् प्राकृतिक परिवर्तनलाई हामी सबैले आत्मसाथ गर्नैपर्छ। हामीले प्रकृतिको परिवर्तनअनुसार नै आफूलाई परिवर्तन गर्नुपर्छ। प्रकृतिले पनि हामीलाई साथ दिइरहेको हुन्छ। प्रकृतिमा जब परिवर्तन हुन्छ, तब हामी स्वयम् पनि परिवर्तनका लागि तयार रहनुपर्छ।
जसरी ऋतु बदलिएसँगै प्रकृतिमा बदलाव देखिन्छ, त्यसरी नै हामीले पनि खानपान, रहनसहन, दिनचर्या र योगासनमा परिवर्तन ल्याउनुपर्छ। प्रकृतिले हरेक ऋतुअनुसार फल, सब्जी, खानेकुरा दिइरहेकै हुन्छ। कुनै अन्य ऋतुमा उत्पादन हुने खानेकुरा अर्को ऋतुमा खानु हुँदैन। त्यसैगरी स्टोरेज गरिएको, बेमौसमी खानेकुरा पनि शरीरका लागि हानिकारक हुन्छ।
सन्तुलित योगा
हाम्रो जीवनमा योगालाई अनिवार्य मानिएको छ। योगा हाम्रो जीवनको अंग बनेको छ। योगा त्यस्तो व्यवस्थित शारीरिक कर्म हो, जसले शरीरलाई स्फूर्ति र निरोगी रहन मद्दत्त गर्छ। साथै, मनलाई सकारात्मक र शान्ति पनि प्रदान गर्छ। प्रकतिको परिवर्तनअनुसार नै योगासन र मुद्राको अभ्यास गर्नुपर्छ। योगासँगै मुद्राको अभ्यासले पनि राम्रो गर्छ। स्वास्थ्यका लागि मुद्राको अभ्यास पनि एकदम जरुरी छ। जस्तो प्राण मुद्रा, पृथ्वी मुद्रा, वायु मुद्रा, हृदय मुद्रा, सूर्य मुद्रा आदि।
सकारात्मक सोचाइ
शरीर र मनको सम्बन्ध एकापसमा जोडिएको हुन्छ। मनको अवस्थाले स्थुल शरीरमा असर गर्छ। जस्तो– हामी डराएको छौँ। डर एक भावनात्मक अवस्था हो। डराउनु भनेको मनमा भय पैदा हुनु हो। डरको असर शरीरमा पर्छ र हाम्रो शरीर काप्न थाल्छ।
यसैगरी मनको कुनै पनि अवस्थाले शरीरलाई सीधैँ प्रभाव पारिरहेको हुन्छ। त्यसैले त मन जति प्रफुल्ल, सकारात्मक र शान्त हुन्छ, त्यति नै शरीर पनि राम्रो हुन्छ। सकारात्मक सोचका लागि शारीरिक क्रिया पनि गर्न सकिन्छ। प्राणायामले मनमा सकारात्मक भाव पैदा हुन्छ। बेलाबखत लामो सास लिने र छाड्ने अभ्यासले पनि मनलाई शान्त पार्न सघाउँछ।
स्वतस्फूर्त हाँसो
हामीले जीवनमा हाँस्नका लागि केही पनि खर्च गर्नुपर्दैन। न बल नै खर्च गर्नुपर्छ, न त पैसा नै, जीवनमा स्वतस्फूर्त हाँसो आफैँ प्रकट हुन्छ। हाँस्नु आफैमा एउटा प्राकृतिक उपचार पनि हो। जब हामी मन खोलेर हाँस्छौँ, त्यस्तो हाँसोले हाम्रो शरीर र मनलाई आनन्दित मात्र तुल्याउँदैन, शरीरका भित्री अंगहरूको कार्य सञ्चालनलाई पनि सुचारु गराउँछ।
गम्भीर रहने, भावुक हुने, चिन्तित हुनेजस्ता कुराले शरीरलाई अवश्यै हानि र्पुयाउँछ। हाँसोले आफूलाई खुसी तुल्याउनु मात्र होइन, यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। खुलेर हाँस्दा पाचन संयन्त्रलगायत शरीरका भित्री अंगमा प्रत्यक्ष प्रभाव पर्छ।
मन र शरीरमा सन्तुलन
सन्तुलित आहार, सन्तुलित दिनचर्या, सन्तुलित व्यायाम र अन्य तरिका अपनाएर मात्र पूर्ण रूपमा स्वस्थ जीवन जिउन सकिँदैन। मन र शरीरलाई पनि हामीले नियन्त्रित गर्नुपर्छ। राम्रो स्वास्थ्यका लागि शारीरिक र मानसिक श्रम पनि अत्यावश्यक छ। किनभने विनाशारीरिक श्रम स्वस्थ जीवन जिउन सकिँदैन। त्यसैगरी हामी मानसिक रूपले पनि क्रियाशील हुनुपर्छ। अनि मात्र स्वस्थ जीवन जिउन सकिन्छ।