रौतहट – भारतले नेपाली भूमि अतिक्रमण गरि बनाएको पिलर सशस्त्र प्रहरी कार्यालय राैतहटका प्रमुख एसपी रविन कर्णजितकाे नेतृत्वमा हटाइएको छ। पिलर हटाएसँगै सशस्त्र प्रहरीले ५ वटा विद्युतपोल ३५ फिट भारततर्फ सारेको छ।
सशस्त्र प्रहरी ११ नम्बर हेडक्वार्टरको सक्रियतामा नेपाल भारत सिमाना छुट्टयाउने ईशनाथ नगरपालिका–२ औरैयामा रहेका ३४८.१ र ३४८.२ नम्बरका भारतले नेपालतर्फ च्यापेर ठड्याएका पिलर हटाइएको हो।
गत पुस ९ गते भारत सितामढी जिल्ला बैरगनियास्थित अधैसैनिक बल एसएसबीका कमाण्डेन्ट तपनकुमार दासको अध्यक्षतामा बसेको दुईपक्षीय बैठकमा दशगजा क्षेत्रको अतिक्रमण हटाउने सहमति भएको थियो।
सोही समहमतिअनुसार भारतीय अर्धसैनिक बल एसएसबी र सशस्त्र प्रहरीको संयुक्त टोलीको सहयोगमा घर टहरा हटाईएको हो। त्यस्तै नेपाली र भारतीय नागरिकले दशगजा अतिक्रमण गरी खेती गर्दै आएको ५० बिगाहाभन्दा बढी जग्गा पनि खाली गराइएको छ।
सदरमुकाम गौर देखी परोहा, ईशनाथ लगायत स्थानीय तहसँग टाँसिएका भारतीय सिमाना छुट्टयाउने दशगजा क्षेत्रमा दुबै देशका बासिन्दाले अनाधिकृत रुपमा निर्माण गरेको झण्डै तीनदर्जन घरटहरा हटाईएको जनाइएको छ।