एजेन्सी– हुन्डाई कोना सबैभन्दा अग्लो स्थानमा पुग्ने इलेक्ट्रिक भेइकल बनेको छ। तिब्बतको ५ हजार ७ सय ३१ मिटर अग्लो साउला पास पुगेर कोनाले गिनिज बुकको क्याटागोरीमा सो रेकर्ड कायम गरेको हो।
गिनिज वर्ल्ड रेकर्ड्समा दर्ता भएसँगै कोनाले सबै मौसममा र सबै स्थानमा पुग्न सक्ने इलेक्ट्रिक भेइकलको रुपमा पहिचान कायम गर्न सफल भएकाे छ। यात्राको समयमा कोनालाई स्ट्यान्डर्ड पोर्टेबल चार्जरको सहयोगले चार्ज गरिएको थियो। कोना ईभी हुन्डाईको पहिलो इलेक्ट्रिक सब–कम्प्याक्ट एसयूभी हो। जसमा क्लोज्ड ग्रिल र अद्भुत वाहिरी डिजाइन छ। यसकाे भित्री भागमा रहेको सेन्टर कन्सोलले सहज रुपमा सिफ्ट बाई वायर मोडलले गाडी चलाउन सहयोग गर्छ।
कोना ईभीले १ सय ३५ पीएसको पावर दिन्छ। यसमा ३९.२ किलोवाट आवरको पोलिमर ब्याट्री प्याक छ। जसलाई सिंगल चार्ज गर्दा ३ सय किलोमिटर भन्दा बढी दुरी सम्म चलाउन सकिन्छ। साथै यसमा टप बटम एलईडी डीआरएल, ढाकिएको फ्रन्ट चार्ज पोर्ट, एलईडी रियर ल्याम्प्स, अटोहोल्डको साथ इलेक्ट्रिक पार्किङ ब्रेक (ईपीबी), प्याडल सिफ्टर, तातो र हावा जाने अगाडिको सिटहरु, वायरलेस चार्जर, ६ एयरब्याग, हिल असिष्ट कन्ट्रोल आदि विशेषताहरु छन्।
नेपाली बजारमा समेत हुन्डाई कोनाले राम्रो बजार लिएको छ। हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोना ईभी सार्वजनिक गरेको छ। नेपाली बजारका लागि लक्ष्मी इन्टरकन्टिनेन्टलले तीन वर्षको वारेन्टी र आठ वर्षको ब्याट्री वारेन्टी उपलब्ध गराएको छ।
नेपाली बजारमा ३९.२ र ६४ किलोवाट आवर क्षमताका कोना इलेक्ट्रिक गाडी उपलब्ध छन्। यिनको मूल्य क्रमशः ५५ लाख ९६ हजार र ६५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।