काठमाडौँ, २३ माघ - साहसिक जलयात्राका लागि कर्णाली नदीमा ‘रिभर गाइड’ तालिम थालिएको छ। यहाँकाे पर्यटन प्रवर्द्धन गर्नका लागि कर्णाली नदीमा ‘रिभर गाइड’ तालिम दिन थालिएकाे हाे।
नेपाल एशोसिएशन अफ र्याफ्टिङ (नारा)को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनात्मक सहकार्यमा मङ्गलबारदेखि ३ दिनको तालिम सञ्चालन गरिएको हो।
नेपालको पर्यटन उद्योगको एउटा महत्त्वपूर्ण विधाका रूपमा स्थापित साहसिक जलयात्रा व्यवसायलाई आवश्यक दक्ष रिभर गाइड सबै प्रदेशमा उत्पादन गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको नाराका महासचिव शिव अधिकारीले बताए।
साहसिक जलयात्राका लागि त्रिशूली, भोटेकोशी, कर्णाली, कोशी र नारायणी महत्त्वपूर्ण नदीका रूपमा मानिन्छन्। पर्यटन वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन उक्त अभियानले सहयोग पुग्नेछ।
प्रत्येक प्रदेशमा दक्ष रिभर गाइड उत्पादन गर्न जलयात्रा तालिम सञ्चालन गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनाल बताउँछन्। निःशुल्क रूपमा दिइने सो तालिमले बेरोजगार युवालाई पर्यटन उद्योगमा आबद्ध हुन सहयोग पुग्ने विश्वास नाराको छ।