काठमाडौं– शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछ। पहिलो खेल जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबिच एन्फा कम्पलेक्सको मैदानमा हुनेछ भने दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।
जावलाखेल र पुलिस क्लब दिउँसो १२ बजे भिड्नेछन्। दुवै टिम जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ। पुलिस ६ खेलमा २ खेलमा जित, २ मा हार, २ बराबरी सहित ८ अंक जोडेर तालिकाको सातौँ स्थानमा छ। त्यस्तै जावलाखेल २ खेलमा जित, १ मा हार र ३ बराबरी सहित ९ अंक जोडेर पाँचौ स्थानमा छ।
त्यस्तै आजै दिउँसो ३ बजे हुने दोस्रो खेलमा लिगकै ठुलो क्लब मानिने मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। उपाधि होडमा रहेका दुवै टिमलाई जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर छ। नयाँ सिजन खेलाडी अनुबन्धनमा खासै चासो नदेखाएका दुवै क्लब सन्तुलित टिम बनाउँदै लिगमा चुनौती पेश गरिरहेका छन्।
मनाङ ६ खेलमा ३ जित र ३ बराबरी सहित १२ अंक जोडेर तेस्रो स्थानमा छ। थ्री स्टार ६ खेल मध्ये ३ मा जित, २ हार र १ बराबरी सहित १० अंक जोडर तालिकाको चौथो स्थानमा छ। शीर्ष स्थानको आर्मीको १३ अंक रहेको छ। मछिन्द्रलाई गोल अन्तरमा पछाडी पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो।