काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि हालको लागि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राखेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पछिल्लो पटक इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल र पेट्रोलको मूल्य केही रुपैयाँले बढेको भएपनि सर्वसाधारणको हितलाई मध्यनजर गर्दै मूल्य यथावत् राखिएको हो।
निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ बमोजिम प्रत्येक १५–१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको थियो। निगमले गत पुस २६ गते स्वर्णजयन्ती मनाएको थियो। त्यसै स्वर्णजयन्तीका अवसरमा सर्वसाधारणलाई पेट्रोलियम पदार्थमा केही सहुलियत दिने उद्देश्यले इन्धनको मूल्य समायोजन नगरिएको उनले बताए।
आइओसीले हरेक महिनाको १ र १५ तारिखका दिन निगमलाई नयाँ बिक्री मूल्यसूची पठाउने गरेको छ। सोही मूल्यलाई आधार मानेर निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्यसूची निर्धारण गर्दै आएको छ। निगमले पेट्रोल प्रतिलिटर ११०, डिजेल र मट्टीतेल प्रतिलिटर १००, अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर र आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर ९४.५० तथा एलपी ग्यास प्रतिसिलिन्डर एक हजार ३५० बिक्री मूल्य तोकेको छ।
अहिलेको बिक्री मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर तीन, डिजेलमा चार, हवाई इन्धनमा १० नाफा छ भने एलपी ग्यासमा प्रतिसिलिन्डर १६२ घाटामा रहेको छ। कुनै समय डुब्न लागेको निगमको नाफा केही वर्षदेखि बिस्तारै उकालो लाग्न थालेको छ। निगमले आर्थिक वर्ष २०७५–७६ मा करीब रु आठ अर्ब ७५ करोड (करपछिको) मुनाफा आर्जन गरेको थियो।