सुर्खेत– राष्ट्रिय दलित पत्रकार सङ्घ कर्णाली प्रदेशको अध्यक्षमा दैलेखका खगेन्द्र सुनार सर्वसम्मत चयन भएका छन्। सङ्घको शुक्रबार सुर्खेतमा भएको प्रदेशस्तरीय भेलाले अध्यक्ष सुनार नेतृत्वको १३ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो।
सङ्घको उपाध्यक्षमा सल्यानका भीमबहादुर परियार, महिला उपाध्यक्षमा जाजरकोटका टीका विक, सचिवमा जुम्लाका नौरते नेपाली, सहसचिवमा दैलेखका हिक्मत नेपाली र कोषाध्यक्षमा कालीकोटका अनिता परियार परियार चयन भएका छन्। सदस्यमा वसन्त बागचन (मुगु), पवित्रा भियाल (हुम्ला) मनबहादुर सार्की (डोल्पा), सुभाकर विश्वकर्मा (जुम्ला), कर्ण विश्वकर्मा (कालीकोट), कालीबहादुर नेपाली (जाजरकोट) र प्रतिमा परियार (सुर्खेत) चयन हुनुभएको सङ्घका सचिव नौरते नेपालीले जानकारी दिए।
सङ्घको सल्लाहकार समितिमा ललित बसेल, गणेश विसु, मदन विक, वसन्त विक चयन भएका छन्। नवगठित प्रदेश कार्यसमितिले राज्यको पहुँचबाट पछाडि र पिँधमा परेका दलित समुदायका मुद्दाहरु मिडियाको मूल प्रवाहमा ल्याउने, योगदानको दस्तावेजीकरण गर्दै दलित पत्रकारको क्षमता अभिवृद्धिमा जोड दिने बताइएको छ। उक्त भेलामा कर्णाली प्रदेशका १० जिल्लाका प्रतिनिधि, पर्यवेक्षक र सहभागीसहित १३० को उपस्थिति थियो। (रासस)