काठमाडौं– काठमाडौं उपत्यकासहित देशभर मौसममा आएको बदलीसँगै चिसो बढेको छ। बिहीबार रातिदेखि शुक्रबार रातिसम्म परेको पानीले चिसो बढाएको हाे। पहाडी जिल्लामा वर्षा र उच्च पहाडी तथा हिमाली जिल्लामा परेको हिमपातले चिसो बढेको छ।
चिसाे बढेसँगै मानिसकाे स्वास्थ्यमा पनि विभिन्न समस्याहरू देखा पर्न थालेकाे छ। तीमध्ये केहि समस्याहरू र त्यसबाट बच्ने उपायबारे यहाँ चर्चा गर्याैंः
१. हाइपोथर्मिया
शरीरमा तापक्रमको मात्रा कम हुनुलाई हाइपोथर्मिया भनिन्छ। यदि हाइपोथर्मिया बढेमा मुटुको धड्कन नै रोकिने र बिरामीको ज्यानै जानेसम्म हुनसक्छ। हाइपोथर्मिया हुदाँ सामान्य भन्दा बढि न्यायो लुगा लगाउनु पर्दछ।
२. फ्लु
इन्फ्लुएन्जा भाइरसबाट लाग्ने सरुवा रोगलाई फ्लु भनिन्छ। मनसुनको मौसम वा जाडो महिनाको सुरुवातमा मौसमी फ्लु हुनेगर्दछ। यसबाट बच्न सार्वजनिक स्थलमा नजानु नै बुद्धिमानी हुन्छ। बाहिरबाट आएपछि साबुन पानीले राम्ररी हातखुट्टा, मुख धनुे गर्नुपर्दछ। फ्लुको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउनु पर्दछ।
३. रुघाखोकी
चिसो मौसम परिवर्तनसँगै रुघाखोकी देखापर्छ। रुघाखोकीबाट बच्न चिसोबाट बच्नु नै सबैभन्दा ठूलो उपाय हो। साधारण रुघाखोकी भएमा घरमै उपचार गर्न सकिन्छ। नाकबाट पहेंलो सिंगान आउने, नाक बेस्सरी बन्द हुने, घाँटीमा समस्या देखिने वा कानमा समेत समस्या भएमा निकै सावधानी अपनाउनु पर्दछ।
४. हिउँले खाने
जाडो मौसममा हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा हिउँ पर्छ। अहिले पनि हिमपात जारी छ।यसको समस्याबाट बच्न शरीरको कुनै पनि अंगलाई हिउँ वा पानी नछुनु नै पहिलो उपचार हो। हातखुट्टा, औलाहरु, अनुहार, नाक, कान आदिलाई बचाउनु पर्दछ।
५. श्वासप्रश्वास
चिसो बढेसंगै मानिसमा श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने गर्दछ। श्वासप्रश्वास सम्बन्धी रोग लाग्नुको मुख्य कारण प्रदूषण, धुम्रपानसंगै चिसो मुख्य कारण हो। यस रोगमा दम, ब्रोङकाइटिस र निमोनिया लगायतका समस्या हुनसक्छ। यो रोगबाट बच्न सम्भव भएसम्म धुलो, धुवाँ तथा प्रदूषणबाट टाढा बस्नुपर्छ। धुम्रपान, चुलोको धुवाँ तथा प्रदुषणबाट पनि बच्नु पर्छ।
६. हृदयघात र मुटुरोग
चिसो मौसममा हुनसक्ने अर्काे जटिल समस्या भनेको हृदयघात र मुटुरोग हो। मुटुमा रक्तप्रवाह अचानक बन्द भएमा हृदयघात हुने गर्दछ। यसका साथै वजन कम गर्ने, बढि चिल्लो, बोसो वा मसलेदार खाना नखाने गर्नुपर्दछ। शरीरमा कममात्रामा सक्रिय हुने भएकाले शरीरलाई सक्रिय राख्ने वा नियमित केहिबेर व्यायाम गर्नुपर्दछ।
७. कार्वनमनोअक्साइड पोइजनिङ
चिसो मौसममा मानिसहरु सबै झ्यालढोका बन्द गरेर आगो ताप्ने गर्दछन्। यसरी कतैबाट हावा नछिर्ने गरी कोठा बन्द गरेर आगो वा हिटर ताप्दा कोठामा कार्बनमोनोअक्साइडको मात्रा बढ्न जान्छ। कार्वनमनोअक्साइड पोइजनिङबाट बच्न कोठा भित्र आगो वा हिटर ताप्दा कोठाको कुनै एक भाग खुल्ला राख्नुपर्दछ। आगो वा हिटर तापेपछि कोठा बाहिर जाने र अन्य काममा सक्रिय हुनुपर्छ।
८. जोर्नीको दुखाइ
चिसो मौसममा कतिपयको जोर्नीको दुखाई मुख्य समस्या हो। विशेषतः वृद्ध मानिसलाई देखापर्ने यो समस्या जाडो बढेसँगै शुरु हुने गर्दछ। चिसो मौसममा जोर्नीको दुखाईबाट बच्न शरीरमा एक समानको तापमान बनाइ राख्नु पर्दछ। शरीरको माथिल्लो भाग अर्थात जिउमा न्यायो लुगा लगाएपनि खुट्टामा भने साधारण पेन्ट, सारी वा पातलो लुगा मात्र लगाउने गर्दछन्। शरीरको तल्लो भागमा पनि न्यायो हुने गरी टाउजर वा पर्याप्त तातो हुने कपडा लगाउनु पर्दछ।
९. सुख्खा छाला
चिसो मौसम बढ्नु भनेको छालाका लागि सुख्खा यामको सुरुवात हो। चिसो मौसममा छालाका लागि अनुकूल समय होइन। जाडो मौसममा पर्याप्त न्यायो लुगा लगाउनु पर्छ। शरीरलाई ढाकेर न्यायो बनाउने र तातो तथा झोलिलो खानेकुरामा ध्यान दिनुपर्छ। यदि छाला धेरै सुख्खा भए मोइस्चराइजर क्रिम लगाउनुपर्दछ।
१०. नोरोभाइरसरविन्टर डाइरिया
जाडो मौसममा नोरोभाइरसको सक्रियताका कारण केहि मानिसमा बान्ता हुने तथा झाडापखाला लाग्ने गर्दछ। जसलाई विन्टर डायरिया भनिन्छ। विन्टर डाइरियाबाट बच्न खाना पकाउँदा साबुनपानीले राम्ररी हात धुने, संक्रमित व्यक्तिको संसर्गमा नआउने, एकअर्का कपडा वा सामान प्रयोग नगर्ने, मास्क लगाउने र तातोपानि सहित साबुनपानिले मिचिमिचि हात धुने गर्नुपर्दछ।