एजेन्सी– शाहरुख खानका फ्यानहरुलाई खुशीको समाचार छ। लगातार पाँचवटा फिल्म फ्लप भएपछि स्वघोषित ब्रेकमा रहेका बलिउड सुपरस्टार शाहरुख खानले आफूले अभिनय गर्ने नयाँ फिल्म छनोट गरेको समाचार आएको छ। र, त्यो राजकुमारी हिरानीको फिल्म हुने बताइएको छ।
बलिउड हंगामाका अनुसार शाहरुखले अफर आएका ३०–३५ वटा फिल्ममध्ये हिरानीको फिल्म छानेका हुन्। उनलाई यशराज, साजिद नाडियडवाला, टिसिरज र संजयलिला भन्सालीजस्ता ठूला ब्यानरले फिल्म अफर गरेको पनि हंगामाले लेखेको छ।
मुन्नाभाइ, थ्री इडियट्स, पिके र संजुजस्ता फिल्मका निर्देशक हिरानीले बनाउने यो फिल्म सामाजिक विषयको कमेडी हुनेछ। यससम्बन्धी बाँकी कुरा उल्लेख गरिएको छैन। फिल्मको काम दुई महिनापछि मात्रै सुरु हुनेछ। शाहरुख आफैं पनि यसको निर्माता हुनेछन्।
उनका अलावा विधुविनोद चोपडा र हिरानी पनि यसका निर्माता हुनेछन्। चोपडाको निर्माणमा हिरानीले निर्देशन गरेको ’मुन्नाभाइ एमबीबीएस’मा सुरुमा शाहरुखले नै अभिनय गर्ने तयारी थियो। पछि उनको ढाडको अप्रेसनको समय जुधेकाले मु्न्नाभाइको भूमिका संजय दत्तले पाएका थिए।
लगातार फिल्महरु फ्लप भइरहेका बेला आनन्द एल रायको फिल्म ‘जिरो’बाट शाहरुखले ठूलो सफलताको आश गरेका थिए। यो फिल्म पनि फ्लप भएपछि उनले कुनै पनि फिल्म साइन गरेका छैनन्। आयन मुखर्जीको फिल्म ‘ब्रम्हाश्त्र’मा पनि शाहरुख अतिथि भूमिकामा देखिने बताइएको छ।