काठमाडौं– मुलुकको पर्यटन क्षेत्रको निम्ति आकर्षक पद मानिएको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ। लाभ र सेवा सुविधा मात्र हैन राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न अवसर पाइने भएकाले पनि बोर्डको सिइओको छुट्टै आकर्षण छ।
आर्थिक हिसाबले पनि बैंकपछि सबैभन्दा आकर्षक बोर्डको सिइओ मानिन्छ। बोर्ड सार्वजनिक निजी साझेदारीको नमूना संस्था हो। सरकारी पाँच र निजी क्षेत्रका छ गरी ११ जना बोर्ड सञ्चालक समिति सदस्य रहने व्यवस्था छ। सिइओको प्रतिस्पर्धाको दौडमा अहिले नौ उम्मेदवार सम्पूर्ण शक्ति र सामार्थ्यसाथ लागि परेका छन्।
प्रतिस्पर्धीमध्ये कसले बाजी मार्ने हो त्यो चाही आइतबार टुङ्गो लाग्नेछ। बोर्डको सिइओ बन्नका लागि अहिले प्रारम्भिक छनोटमा परेका नौ जनाको प्रस्तुतिकरण र अन्तर्वार्ता भइसकेको छ। शुक्रबारदेखि आजसम्म सबै प्रतिस्पर्धीको प्रस्तुतिकरण सकिएको छ। प्रतिस्पर्धी सबैको प्रस्तुतिकरण राम्रो रहेको तर तिनैमध्ये उत्कृष्टताका आधारमा तीन जनालाई सिफारिस गरिने छनोट समितिका सदस्य विप्लव पौडेलले राससलाई जानकारी दिए।
छनोट समितिले प्रतिस्पर्धीको प्रस्तुतिकरण र अन्तर्वातापछि नम्बर दिइसकेको छ। प्रतियोगिको नम्बर सिलिङ् भइसकेको र आइतबार बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालका सचिव केदारबहादुर अधिकारीसँग छनोट समितिको बैठकबसी बोर्डको सिइओका लागि तीन सदस्यीय प्रतिस्पर्धीलाई सिफारिस गर्नेछ।
समितिको सिफारिसपछि बोर्ड सञ्चालक समिति आइतबार साँझसम्म तीनजनामध्ये एक अब्बल उम्मेदवारलाई बोर्डको सिइओ नियुक्त गरिनेछ। बोर्डको सिइओको कार्यकाल चार वर्षको हुनेछ। बलिया प्रतिस्पर्धीबीच उपयुक्त उम्मेदवार छान्न कत्तिको कठिन हुँदोरहेछ भनी सोधिएको राससको जिज्ञाशामा छनोट समितिका सदस्य पौडेलले प्रतिस्पर्धी सबै सक्षम र सवल भए पनि प्रक्रियागत ढङ्गले सिइओ छनोट गर्नुपर्ने भएकाले कुनै कठिनाई नभएको अनुभव सुनाए।
बोर्डको सिइओको प्रतिस्पर्धाका लागि निवेदन दिएका १७ प्रतियोगीमध्ये उनीहरुको शैक्षिक प्रमाणपत्र र अनुभवका आधारमा ‘सर्ट्लिष्ट’ गरिएको थियो। सर्ट्लिष्टमा परेका नौ जनालाई विज्ञसहितको सहभागितामा समितिले प्रस्तुतिकरण र अन्तर्वार्ता लिएको थियो। समितिका दुई विज्ञका रूपमा पूर्व पर्यटनसचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे थीए।
बजारमा हल्ला आएजस्तो सिइओ छनोटमा कुनैपनि किसिमको दबाब र प्रभाव नआएको सदस्य पौडेलले बताएका छन्। उनले भने, ‘बोर्डको सिइओ छनोट प्रक्रियागत ढङ्गले अघि बढेको हो, यसमा कुनै दबाब आएको छैन, कुनै प्रभाव पनि परेको छैन, निष्पक्ष र स्वतन्त्ररूपमा उत्कृष्ट व्यक्ति छनोट गर्छौै।’
बोर्डको सिइओ छनोटका लागि सिफारिस गर्न पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका सञ्चालक समिति सदस्य पौडेल र कृष्णबहादुर महरा सम्मितलित उपसिमित बनाइएको थियो। प्रारम्भिक छनोटमा परेका नौ प्रतिस्पर्धीको प्रस्तुतिकरणपछि उनीहरुमध्येबाट उपसमितिले तीन जनाको नाम बोर्डलाई सिफारिस गर्ने बोर्डका पूर्व सचिवायल सदस्य केबी रानाले बताएका छन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको बोर्ड सञ्चालक समितिले सिइओ नियुक्त गर्ने व्यवस्था छ। समितिले बनाएको सिइओ छनोट कार्य्विधि मातहत रही सिइओका लागि आवेदन माग गरेको थियो। गत मङ्सिर १८ गते प्रकाशित विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए।
त्यसमध्येबाट उपसमितिले काशिराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम छनोट गरेको थियो। प्रतिस्पर्धी उम्मेदवारमध्ये निवर्तमान सिइओ जोशी र हाल भ्रमणवर्ष सचिवालयमा सदस्य सचिव रहेका बच्छुनारायण श्रेष्ठको नाम अग्रपङ्तिमा छ।
जोशी कूशल अनुभव भएका व्यक्ति हुन् भने श्रेष्ठ पनि सबै हिसाबले अब्बल उम्मेदवार ठहरिन्छन्। राष्ट्रिय शक्ति सन्तुलनका हिसाबले बच्छुको बलियो सम्भावना छ। तर, बोर्डको अघिल्लो कार्यकालमा पनि सिइओ भइसकेका र विषयवस्तुलाई सरल तथा सहज ढङ्गले प्रस्तुत गर्ने कुसल खुबी भएका जोशी पनि रोजाइएका उम्मेदवार छन्।
यद्यपि, दुईमध्ये कसले बाजी मार्ने हो त्यसका लागि कम्तीमा दुई दिन कुर्नैैपर्छ। बोर्डको सिइओका प्रतिस्पर्धी जोशीले व्यावसायिक तथा स्वतन्त्र व्यक्तिको रोजाइमा आफू रहेको र एक पटक बोर्ड नेतृत्वका लागि अहिलेका समयसान्दर्भिक आवश्यकता भएकाले पनि केही सम्भावना रहेको बताएका छन्।
अर्का प्रतिस्पर्धी श्रेष्ठले सिइओ छनोट प्रक्रियामा आफू परीक्षार्थीका रुपमा सबै प्रक्रिया पूरा गरेको व्यक्ति भएकाले अहिले केही प्रतिक्रिया नदिने बताए। माघको पहिलो साताभित्रै सिइओको टुङ्गो लाग्ने बोर्डका निमित्त सिइओ नन्दिनी लाहे थापाले बताए। बोर्डको सिइओको आकर्षणसँगै चुनौती पनि उत्तिकै छ।
नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनु मुख्य जिम्मेवारी हुनेछ भने पर्यटन क्षेत्रका चार दर्जनबढी संस्थालाई रिझाउनु र निजी क्षेत्रको साझेदारितालाई व्यावसायिक र प्रभावकारी बनाउनु पनि गहन जिम्मेवारी हुनेछ। राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गतिविधिसँगै देशभित्र नयाँ गन्तव्य पहिचान तथा प्रवर्द्धन र अन्तर्राष्ट्रिय पर्यटन बजारको खोजी गर्नुपर्नेछ।