काठमाडौं– वाग्मती सफाइ महाअभियानको ३ सय ५० औँ हप्तादेखि नदी सफाइको विशेष जिम्मेवारी वडालाई नै दिने गरी तयारी शुरु गरिएको छ। यही माघ ११ गते शनिबार वाग्मती सफाइ महाअभियान ३ सय ५०औँ हप्तामा प्रवेश गर्दैछ।
काठमाडौँ महानगरपालिका–११ लाई त्यस क्षेत्रको नदी सफाइको जिम्मेवारी दिन लागिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिएका छन्। बबरमहलस्थित रुद्रमती दोभानबाट त्रिपुरेश्वरस्थित गुसिङ्गाल पुल क्षेत्रसम्मको करीब एक हजार ५०० मिटर नदी क्षेत्र वडा नं– ११ मा पर्छ। सो क्षेत्रमा थापाथलीको सुकुम्वासी बस्ती पनि पर्छ।
त्यस क्षेत्रको सफाइ चुनौतीपूर्ण रहेको वडाध्यक्ष हीरालाल तण्डुकारले बताएका छन्। ‘सुकुम्वासीका कारण नदी सफाइ चुनौतीपूर्ण रहेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गराइसकेका छौँ, बस्ती व्यवस्थापन गरी नदी सफा राख्न उनले पनि चासो दिएकाले केही समयमै समस्या समाधान हुने आशा छ’,उनले भने। वडा नं– ११ मै आएर झर्ने रुद्रमती र इच्छुमती –टुकुचा खोलाका कारण पनि वाग्मती सफाइ चुनौतीपूर्ण बनेकाे छ।
टुकुचाभन्दा केही सफा देखिए पनि रुद्रमती–धोबीखोलाको किनारमासमेत नाक नथुनी हिँड्न सकिने अवस्था बनिसकेको छैन। टुकुचा भने ढलमै परिणत भइसकेको छ। केही क्षेत्रमा जमीनमुनि दबाएर टुकुचाको अस्तित्व समाप्त पारिएको छ। टुकुचा किनारको जग्गा छानबिन गर्न भनी समिति बनेको दशकौँ बित्दा पनि त्यसले काम सम्पन्न गर्न नसकेको स्थानीयवासीको गुनासो छ।
टुकुचाको जमीन धेरैले हडपेको वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठ बताएका छन्। सफाइ महाअभियानको ३ सय ४९औँ हप्तामा त्रिपुरेश्वर क्षेत्रमा सफाइ गरियो। सफाइमा १८ संस्थाका ३५० जनाभन्दा बढी अभियानकर्मी सहभागी भए। सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी खरेलले बताएका छन्।
सफाइमा तीनवटै सुरक्षा निकायको पनि सहभागिता थियो। अभियानकर्मी किशोरसिंह शाहीको जन्मदिन नदी किनारमा दुई रुद्राक्षका बिरुवा रोपी मनाइएको थियो।अर्को हप्ताको तयारीका लागि महानगरपालिकाको ११ नं वडा कार्यालयमा छलफलसमेत भएको छ।वडालाई सफाइ महाअभियानले नमूना वडा घोषणा गरेको छ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको ३ सय ११औँ हप्तामा गोठाटार पुलमुनिको नदी क्षेत्रमा सफाइ गरियो। वाग्मती सुन्दरता सरोकार मञ्चको सक्रियतामा भएका सफाइमा करिब ५० अभियानकर्मीको सक्रियता थियो। नकुहिने फोहर नगरपालिकाले व्यवस्थापन गरेको अभियानकर्मी ईश्वर पुडासैनीले राससलाई जानकारी दिएका छन्।
रासस