एजेन्सी– विश्व सैन्य इतिहासमा मिलुन्का साभिच (सन् १८८८–१९७३) लाई नायिकाका रूपमा स्मरण गरिन्छ। बाल्कन युद्ध र पहिलो विश्वयुद्ध लडेकी सर्बियाली साभिच वीरांगना थिइन्। सर्बियाले उनलाई देशको सबैभन्दा महान् लडाकू घोषणा गरेको थियो।
सन् १९१३ मा दोस्रो बाल्कन युद्धमा उनको भाइलाई युद्धमा बोलाइयो। साभिचले भाइको सट्टा आफू जाने निर्णय गरिन्। र, युद्धमा होमिइन्। उनले कपाल काटेर पुरुषले झैँ छोटो बनाइन्। पुरुषकै पोशाक र भेषमा सर्बियाली सेनामा आबद्ध भइन् । उनले पहिलो लडाइँमै बहादुरी देखाइन् र तक्मा पाइन्। कर्पोरलमा बढुवा भइन्।
अर्को एउटा युद्धमा उनी घाइते भइन् र अस्पताल भर्ना भइन् । त्यहाँका डाक्टर र नर्सले बल्ल उनी पुरुष नभई महिला भएको थाहा पाए। त्यसपछि त्यहाँ हंगामा मच्चियो।
उनलाई कमान्डिङ अधिकृतका अगाडि उभ्याइयो। तर, अधिकृतले उनलाई सजाय दिन चाहेनन्। किनभने, उनले बहादुर सैनिकको भूमिका निर्वाह गरेकी थिइन्। उनको बटालियनका लागि उनी महत्त्वपूर्ण योद्धा थिइन्। अधिकृतले उनलाई नर्सिङ विभागमा पठाउन खोजे तर उनले मानिन्। त्यसपछि उनलाई लडाकू दस्तामै पठाइयो।
त्यसपछि उनले प्रथम विश्वयुद्ध लडिन्। अभूतपूर्व बहादुरी देखाइन्। उनले सर्बियाको सर्वोच्च सम्मान मात्र प्राप्त गरिनन्, फ्रान्स, रुस र ब्रिटेनका महत्त्वपूर्ण तक्मा र उपाधि पनि हासिल गरिन्। उनलाई फ्रेन्च सरकारले आफ्नो देशको नागरिक बन्न अनुरोध र्गयो र आकर्षक पेन्सन दिने बतायो। तर, उनले सर्बिया छाड्न चाहिनन्। सर्बियाका केही सडक उनका नाममा नामकरण गरिएका छन्।