काडमाडौँ, २३ माघ – धेरै मानिस अवकाशपछिको जीवन घरपरिवारसँग बसेर र घुमेर बिताउन चाहन्छन्। न कुनै कुराको चिन्ता लिन्छन् न त पीर नै। अवकाशपछि जागिरे जीवनका पीडा भुल्दै रमाउन चाहन्छन्।
तर, डोटीको तत्कालीन मुडभरा गाविस–१ (हाल कैलालीको धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोल)का पूर्णानन्द जोशी ४ दशकभन्दा बढी समयको शिक्षण पेशाबाट अवकाशपछि पनि कैलालीको धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकाडेमी (एसपीए)मा अध्ययनमा जुटिरहेका छन्।
‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैँ जोशीलाई पढ्नका लागि उमेरले रोकेन। विसं २००६ साल कात्तिक ५ गते शनिबार डोटीमा जन्मिएका जोशीले २०६८ सालमा प्रधानाध्यापकबाट अवकाश भएपछि अर्को वर्षदेखि पढाइलाई निरन्तरता दिइरहेका छन्। ७० वर्षीय जोशीले स्नातक तहको पढाइ गरिरहेका छन्।
स्नातक तह पहिलो र तेस्रो वर्ष उत्तीर्ण भइसकेका जोशी स्नातक तह दोस्रोको परीक्षाको पर्खाइमा छन्। उनी स्नातक तह दोस्रोमा एक विषयमा फेल भएका थिए। त्यसपछि स्नातकोत्तर अध्ययनका लागि काडमाडौँ आउने तयारीमा छन् जोशी।
४ दशकको शिक्षण पेशा
८ वर्षको उमेरमा गाउँमै पढेका पूर्णानन्द त्यसपछि डोटी सदरमुकाममा रहेको पदम पब्लिक हाइस्कूलमा २०२३ सालमा कक्षा ९ मा भर्ना भएका थिए।
कक्षा ९ सहजै उत्तीर्ण भएका जोशी कक्षा १० को एसएलसी (हाल एसईई)मा भने असफल भए। अर्को वर्ष एसएलसीका लागि परीक्षा फाराम भरे पनि जाँच दिन नपाएका जोशीले २०२६ सालमा एसएलसी पास गरेका थिए।
तर, २०२६ सालमा एसएलसी पास गरेका जोशीले २०२५ सालदेखि नै कैलालीको पञ्चोदय माध्यमिक विद्यालयमा पढाउन थालिसकेका थिए।
त्यसपछि कैलालीको गेटामा नयाँ स्थापना भएको गोमती बाल विद्या मन्दिर श्रीपुर गेटामा शिक्षण गर्न थालेका जोशी २०२९ मा नयाँ शिक्षा योजना लागू भएपछि प्रधानाध्यापकमा नियुक्त भए।
गोमती बाल विद्या मन्दिर श्रीपुरमा ३ वर्ष शिक्षण गरेपछि २०३२ सालमा डोटीको शारदा प्राविमा सरुवा भएपछि उनी स्थायी शिक्षक बने। त्यसपछि डोटीको दौडमा रहेको कालिका प्राथमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा ३५ वर्ष पढाएर २०६८ सालमा उनले अवकाश पाए।
कक्षा ३ सम्मको विद्यालयलाई १० सम्म बनाएर अवकाश भए
कालिका प्राथमिक विद्यालयमा पूर्णानन्द सरुवा भएर जाँदा उक्त विद्यालयमा ३ कक्षासम्म पढाइ हुन्थ्यो। उक्त विद्यालयमा उनले ३५ वर्ष पढाए र सोही स्कूलबाट २०६८ सालमा अवकाश भए।
उक्त अवधिमा अभिभावक लगायतको सहयोगका कारण उनले कालिका प्राथमिक विद्यालयलाई १० कक्षासम्म पढाइ हुने विद्यालय बनाउन सफल भए ।
‘गाउँमा कक्षा ३ सम्म मात्रै विद्यालय हुँदा धेरै बालबालिकाका अभिभावकले पढाउनका लागि बाहिर पठाउने अवस्था थिएन। जसका कारण धेरै बालबालिका पढाइबाट बञ्चित हुन्थे,’ जोशी भन्छन्, ‘अहिले त गाउँमै कक्षा १० सम्म पढाइ हुने विद्यालय भएपछि सजिलो भएको छ।’
अवकाशपछिको स्कूले जीवन
२०६८ सालमा अवकाश पाएलगत्तै उनको पेशा बदलियो। ४ दशक बढी शिक्षण पेशामा संलग्न भएका जोशी आफँै विद्यार्थी भएर पढ्न थाले। २०६९ सालमा कैलालीको धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)मा मानविकी सङ्कायमा भर्ना भएर नियमित पढ्न थाले उनी।
क्याम्पसमा नियमित उपस्थित हुने जोशीले कक्षा ११ र १२ सहजै पास गरेर सोही क्याम्पसबाट स्नातक पनि उत्तीर्ण गरिसकेका छन्।
‘बाजे विद्यार्थी’
२०६९ साल असार महिना। एसएलसीपछि सबै विद्यार्थी क्याम्पसमा नयाँँ जोश र जाँगरका साथ पढ्न आएका। त्यसैमा पहिलो दिन। क्याम्पसको घण्टी बज्यो, बाहिर रहेकाहरू सबै कक्षाकोठामा गए।
अन्तिममा हतारिँदै आए– दाह्री फुलेका, कोट र प्वाइन्ट लगाएका ६५ वर्षका वृद्ध। सबै विद्यार्थीले उठेर गुड आफ्टरनून सर भने।
तर, उनी शिक्षक भने थिएनन्। लगत्तै उनीपछि अर्का शिक्षक आए। त्यसपछि मात्रै विद्यार्थीले थाहा पाए, ती वृद्ध त शिक्षक नभएर विद्यार्थी पो रहेछन् भनेर।
ती पहिले आएका वृद्ध त शिक्षक नभएर ‘बाजे विद्यार्थी’ पो रहेछन् पढन आएका। ४ दशक बढी पढाएका, प्रधानाध्यापकबाट अवकाश पाएर पढ्नका लागि क्याम्पस आएका।
उनी सुदूरपश्चिमाञ्चल एकेडेमीमा ‘बाजे विद्यार्थी’का रूपमा परिचित छन्। उनलाई विद्यार्थीले मात्रै हैन, क्याम्पसका अध्यक्ष, निर्देशक, क्याम्पस प्रमुखलगायत प्राध्यापकहरूले ‘बाजे’ भनेर नै सम्बोधन गर्ने गर्दछन्।
पढाइकै लागि ३ वर्ष ‘मौन व्रत’
अवकाशपछि ६५ वर्षको उमेरमा कक्षा ११ मा पढ्न थालेका पूर्णानन्द पढाइमा निकै ध्यान दिन्थे। मिहेनत गर्थे। फलस्वरूप उनी प्लस टु सहजै पास भए।
स्नातक तह पास गर्न केही गाह्रो लाग्यो पूर्णानन्दलाई। त्यसपछि उनले ‘मौन व्रत’ शुरु गरे। स्नातक तहको पढाइ शुरु भएसँगै उनले ‘मौन व्रत’ शुरु गरेका हुन्।
‘मौन व्रत’पछि घरमा मात्रै हैन, क्याम्पसमा विद्यार्थी र प्राध्यापकसँग पनि उनी हाउभाउ वा ईशारामा कुरा गर्थे। केही कुरा बुझिएन भने कापीमा लेखेर सोध्थे र लेखेर बुझाइदिन्थे।
स्नातक तह तेस्रो वर्षको परीक्षाको अन्तिमा दिन मात्रै उनले ‘मौन व्रत’ तोडे र परीक्षाबाट बाहिर आउनेबित्तिकै सबैसँग बोल्न थाले। ‘स्नातक तहको अध्ययनमा बाधा नपुगोस् भनेर ‘मौन व्रत’ थालेको थिएँ,’ पूर्णानन्द भन्छन्, ‘मौन व्रत बसेका कारण धेरैसँग कुराकानी हुँदैनथ्यो। राम्रोसँग पढ्ने अवसर पाएँ।’
अक्षय कोष स्थापना
सानैमा बुबा गुमाउँदा उच्च शिक्षा हासिल गर्नबाट बञ्चित जोशीले गरिबीलाई राम्ररी चिनेका छन् र देखेका छन्।
त्यसैका कारण सुदूरपश्चिमाञ्चल क्याम्पसमा उनले अक्षयकोषसमेत स्थापना गरेका छन्। यसबाट प्रत्येक वर्ष एक÷एक गरीब तथा जेहेन्दार छात्र र छात्रालाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ।
गरिबीका कारण पढ्नबाट बञ्चित विद्यार्थीलाई पढ्न सहयोग पुगोस् भनेर छात्रवृत्तिका लागि १ लाख रुपैयाँको पूर्णानन्द जोशी अक्षयकोष स्थापना गरिएको छ।
अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमबाट आफू पढ्ने सुदूरपश्चिमाञ्चल क्याम्पसकै एक–एक जना छात्र र छात्रालाई वर्षेनी ६–६ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिन्छ।
नेपालीमा स्नातकोत्तर गर्ने लक्ष्य
करिब ४ दशक शिक्षण पेशा गरेर अवकाशपछि क्याम्पस पढ्न थालेका जोशीको अब एउटै उद्देश्य छ, नेपाली विषयमा स्नातकोत्तर गर्ने।
उनी भन्छन्, ‘अध्यापनबाट अवकाशपछि पनि शिक्षाबाट टाढा नहुने भन्दै क्याम्पस पढ्न थालेको हुँ। अब नेपाली विषयमा मास्टर डिग्री (स्नातकोत्तर) गर्ने लक्ष्य छ ।’ उनले स्नातकमा पनि नेपाली र समाजशास्त्र पढेका हुन्।
‘जीवनको उद्देश्य शिक्षा हासिल गर्ने, शिक्षा क्षेत्रमा संलग्न रहने अन्तिम उद्देश्य छ,’ उनले भने, अवकाशपछिको जीवनमा खाली बस्नुभन्दा ज्ञान हासिल गरिरहेको छु। आनन्द छ। सन्तोष छु।’