रुजा इग्नातोवा आफूलाई क्रिप्टोकरेन्सीकी महारानी भन्न रुचाउँथिन्। भन्ने गर्थिन् –बिटक्वाइनलाई समेत माथ गर्ने नयाँ क्रिप्टोकरेन्सी ‘वानक्वाइन’ उनले ल्याएकी छन्।
यतिमात्र होइन उनले मानिसहरूलाई नयाँ करेन्सीमा लाखौं करोडौं लगानी गर्नका लागि राजी पनि गराइसकेकी थिइन्। तर अचानक दुई वर्षअघि उनी गायब भइन्। रुजाले आखिर यो सबै काम किन र कसरी गरिन्, र अचानक कता गायब भइन् ? उनी कहाँ लुकेकी छन् ?
बिबिसीका जेमी बार्टलेटले मिसिङ क्रिप्टोक्वाइन नामको पस्टकाडका लागि रुजा इग्नातोवासँग जोडिएका यिनै प्रश्नहरुको जवाफ खोज्नका लागि कैयन् महिनासम्म लगातार अनुसन्धान गरे। उनको एकमात्र उद्देश्य थियो रुजा कहाँ लुकेकी छन् पत्ता लगाउन सकियोस्।
राजकुमारी जस्तै धपक्क बलेकी रुजा
सन् २०१६ को जुनको सुरुवाती दिनमा ३६ वर्षकी एक ब्यापारी डा. रुजा इग्नातोवा लण्डनको प्रसिद्ध वेम्बली एरेनामा हजारौं प्रशंसकबीच स्टेजमा उभिन्छिन्। सँधै जस्तै उनले महंगो बल गाउन लगाएकी थिइन्। कानमा हिराको लामो झुम्का र ओठमा गाढा लिपिस्टिकले उनी सजिएकी थिइन्।
भीडलाई जोस्याउँदै र आफूतिर आकर्षित गर्दै उनी भन्थिन्( बिटक्वाइन कसरी विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बन्दैछ। धेरै छिटो विश्वमा हरेक मानिस बिटक्वाइनबाटै पैसा भुक्तानी गर्नेछन् भन्दै उनी मानिसहरुलाई विश्वस्त पार्थिन्।
बिटक्वाइन विश्वकै पहिलो क्रिप्टोकरेन्सी थियो तथा आज पनि सबैभन्दा बढी नाम चलेको मानिन्छ। सन् २०१६ को मध्यसम्म यो करेन्सीको मूल्य धेरै नै बढ्यो। मार्केटमा पैसा कमाउने नयाँ तरिकाका रूपमा यसलाई ब्यापारीहरूले लिए। धेरैले यो नयाँ करेन्सीमा नयाँ सम्भावना खोज्न थालिसकेका थिए।
वेम्बली एरेनामा डा. रुजाले आफ्ना फ्यानहरूलाई बताइन् कि बिटक्वाइनलाई पनि सिध्याउन आएको डिजिटल करेन्सी हो( वान क्वाइन। मानिसहरूले दुई वर्षपछि बिटक्वाइनको नामै नलिने उनले दाबी गरिन्। वान क्वाइन बिटक्वाइनलाई सिध्याउन आएको बताइन। उनको कुरा सुनेर लगानीकर्ताहरू वान क्वाइनलाई नयाँ क्रान्ति मान्दै पैसा लगानी गर्न थाले।
बिबिसीलाई प्राप्त प्रतिवेदनका अनुसार सन् २०१६ को पहिलो ६ महिनामा बेलायतीहरूले वान क्वाइनमा करिब तीन करोड यूरो लगानी गरिसकेका थिए। यसमध्ये २० लाख यूरो एक हप्तामै लगानी भएको देखिन्छ। वान क्वाइनका बारेमा वेम्बलेमा भएको भव्य कार्यक्रमपछि यसमा लगानीको औसत अझ बढ्ने अनुमान थियो।
सन् २०१४ को अगस्टदेखि सन् २०१७ को मार्चसम्म विश्वका कैयन् देशहरूबाट करिब चार अर्ब यूरोको लगानी वान क्वाइनमा भइसकेको थियो। यसमा पाकिस्तान तथा ब्राजिलदेखि हङकङ, नर्वे, क्यूवा र यमनका साथै प्यालेस्टाइन जस्ता देशका नागरिकहरु समेत सहभागी थिए। तर वान क्वाइनमा आँखा चिम्लेर लगानी गरिरहेकाहरूलाई एक महत्वपूर्ण तथ्यबारे भने जानकारी थिएन।
केही मानिसहरू धेरै समयबाट यस्तो मुद्रा विकसित गर्ने कोशिश गरिरहेका थिए, जुन कुनै पनि सरकारको नियन्त्रणभन्दा पर होस्। तर हरेकपटक यो कोशिश विफल भइरहेको थियो, किनभने मानिसहरू यस्तो कुनै पनि करेन्सीमाथि विश्वास गर्न सक्दैनथे। यसमा जालसाजीको सम्भावना धेरै थियो, तर बिटक्वाइनले मानिसहरू भित्रको यो डरलाई जितेको थियो।
बिटक्वाइन एक विशेष डेटाबेसमा आधारित थियो, जसलाई ब्लक चेन भनिन्छ। यो एउटा ठूलो डायरीजस्तै हुन्छ। एउटा ब्लक चेन उसको मालिकसँग हुन्छ, तर यसभन्दा फरक एउटा ब्लक चेनको धेरै कपी हुन्छ।
हरेकपटक जब कुनै अर्को ब्यक्तिलाई बिटक्वाइन पठाइन्छ, त्यसको लेखाजोखा सबै बिटक्वाइन मालिकहरूसँग हुने बिटक्वाइन रेकर्ड बुकमा रेकर्ड हुने गर्छ।
यो रेकर्डमा कसैले पनि कुनै किसिमको परिवर्तन गर्न सक्दैन। स्वयं ब्लक चेनकै मालिकहरूले पनि यस रेकर्डलाई परिवर्तन गर्न सक्दैन। रेकर्ड बुक बनाउनेले नै पनि यसमा कुनै फेरबदल र्न नसक्ने गरी डेटाबेस बनाइएको हुन्छ।
यसका पछाडि एउटा जटिल गणितले काम गर्छ, जसलाई बुझ्न जो कसैले सक्दैन। तर यसको अर्थ ब्लक चेनको कपी हुन सक्दैन भन्ने पनि होइन। यसलाई ह्याक गर्न पनि सकिन्छ र यसको दुईपटक प्रयोग हुन पनि सक्छ।
खासमा कारोबारको दुनियाँमा बिटक्वाइन एक किसिमको क्रान्तिकारी डिजिटल करेन्सी थियो जसमा सबै बैंकहरू तथा राष्ट्रिय मुद्रालाई पछाडि पार्न सक्ने शक्ति थियो।
यो यस्तो करेन्सी थियो, जुन लगानीकर्ताहरूलाई एक फोनको भरमा नै बैंकिङ सुविधा दिन्थ्यो। अर्थात् बिटक्वाइनबाट डिजिटल करेन्सीको माहोल बनिरहेको थियो। त्यसै कारण डा. रुजाले पनि मौकाको फाइदा उठाउने योजना बनाइन् र मानिसहरुको सपना बेच्ने काम सुरू गरिन्।
रुजाको कम्पनीलाई प्रविधिमा माहिर यस्तो मानिसको खोजी थियो, जसले उनका लागि ब्लक चेन तयार पार्न सकुन्।
उनको यो खोजी ब्योर्न वियर्कमा पुगेर समाप्त भयो। अक्टोबर २०१६ मा ब्योर्न बियर्कलाई एउटा फोन कल आयो। फोन गर्नेले उनलाई जागिरको आकर्षक प्रस्ताव र्गयो ।
बियर्कलाई बस्नका लागि घर, कार तथा वार्षिक अढाई लाख पाउण्ड तलबको प्रस्ताव दिइयो। फोन गर्नेले आफ्नो कम्पनीबारे भन्यो,‘यो पूर्वी यूरोपेली देश बुल्गेरियाको एउटा क्रिप्टोकरेन्सी स्टार्टअप हो र कम्पनीलाई एक अनुभवी टेक्निकल चिफ चाहिएको छ।’
ब्योर्न बियर्क त्यो जागिरको प्रस्ताव गर्ने सँगको कुराकानी सम्झँदै भन्छन्, ‘म सोचमग्न भएँ कि कम्पनीमा मेरो काम के होला ?’ उनले सोधे पनि कि मलाई के काम गर्नुपर्ने हुन्छ। उत्तर आयो ’कम्पनीसँग अहिलेसम्म कुनै ब्लक चेन छैन, त्यसैले तिमीले कम्पनीको लागि ब्लक चेन तयार पार्नुपर्छ।’
बियर्कले भने,‘मलाई भनिएको थियो कि यो एउटा क्रिप्टोकरेन्सी कम्पनी हो र पछिल्लो केही समयदेखि काम गरिरहेको छ, तर योसँग ब्लक चेन छैन। तिमीले कम्पनीका लागि एक ब्लक चेन तयार गर्नुपर्छ।’ तब ब्योर्न बियर्कले कम्पनीको नाम सोधे। कम्पनीको नाम थियो( वानक्वाइन। ब्योर्न बियर्कले जागिरको यो प्रस्ताव अस्वीकार गरे।
जेन म्याकएडमको टाइकुन प्याकेज
यो केही महिनाअघिको कुरा हो जब जेन म्याकएडमका साथीले उनलाई यस्तो मौकाका बारेमा बताए, जसलाई नजरअन्दाज गर्न सकिँदैनथ्यो। ग्लास्गोमा बस्ने जेनले आफ्नो कम्प्युटर जब अन गरिन् र एउटा लिंकमा क्लिक गरिन् र वानक्वाइनको वेब(सेमिनारमा सहभागी भइन्।
थप एक घण्टा वा अलि बढी समयसम्म उनी यो क्रिप्टोकरेन्सीबारे मानिसहरुको अनुभव सुन्न थालिन्। सबै मानिस खुसी थिए। भनिरहेका थिए कि उनीहरुको भविष्य यसले बदल्न सक्छ। उनी जुन अनलाइन सेमिनार सुनिरहेकी थिइन्, त्यसमा उनलाई भनिएको थियो कि उनी धेरै नै सौभाग्यशाली हुन् जसले यतिबेला त्यस वेबिनारसँग जोडिएकी छन्।
अनलाइन सेमिनारमा डा. रुजाका बारेमा धेरै कुरा भनिँदै थियो। रुजाले अक्सफोर्ड युनिभर्सिटी पढेकी हुन्, उनले कोन्सतान्जबाट पीएचडीको डिग्री लिएकी हुन् इत्यादि।
यसमा रुजाको म्याकिन्से एण्ड कम्पनीमा म्यानेजमेन्ट एडभाइजरका हिसाबले काम गर्ने पनि भनियो। सबैभन्दा खतरा थियो कि नामी अखबार दी इकोनोमिस्टले आयोजना गरेको कन्फ्रेन्समा डा. रुजाको प्रेजेन्टेसन थियो। त्यो प्रेजेन्टेसन पनि अनलाइन सेमिनारमा देखाइएको थियो।
जेनलाई रुजाको बोल्डनेसले ज्यादै प्रभावित गर्याे। यहाँसम्म कि अनलाइन सेमिनार सकिनेबित्तिकै जेनले वान क्वाइनमा एक हजार यूरो लगानी गर्ने निर्णय समेत गरिन्। यो धेरै नै सजिलो थियो। तपाइँ एउटा वानक्वाइन टोकन किन्नुस् र यसपछि यसबाट थप वान क्वाइन (सिक्काहरु) प्राप्त हुन थाल्छ, जुन तपाईंको एकाउन्टमा आउँछ।
उनलाई भनियो कि एकदिन यस्तो पनि आउनेछ, जब जेनले आफूले किनेको वानक्वाइनलाई यूरो वा पाउण्डमा बदल्न सकिन्छ। जेनलाई लाग्यो यो त पैसा कमाउने मज्जाको र सजिलो तरिका हो। जेन म्याकएडमलाई लाग्यो कि यो क्रिप्टोकरेन्सीमा लगानी गर्नका लागि शायद एक हजार यूरो कम रकम हो। तर यो त जिन्दगी नै बदल्ने मौका हो भन्ने उनले सोचिन्।
उनको उत्साह देखेर प्रमोटरले बताए कि सबैभन्दा सानो प्याकेज १ सय ४० यूरोको छ। उनीसँग त एक लाख १८ हजार यूरोसम्ममा प्याकेज छन्। यसबाट अत्यधिक नाफा कमाउने उनलाई रहर पलायो। एक हप्तापछि जेन म्याकएडमले पाँच हजार यूरोको टाइकुन प्याकेज किनिन्। छिट्टै नै यस्तो समय आयो जब जेनले आफ्नो १० हजार यूरो वान क्वाइनमा लगाइन्। यसका साथै आफ्ना साथीहरु र परिवारका सदस्यहरुको समेत करिब अढाई लाख यूरो यसमा लगानी भइसकेको थियो।
उनी पटक(पटक वान क्वाइनको वेबसाइट हेर्ने गर्थिन्। र उनको पैसाको मूल्य बढिरहेको देख्दा एकदम खुसी महसुस गर्थिन्। छिट्टै नै जेनको वान क्वाइनको मूल्य एक लाख पाउण्ड पुगिसकेको थियो। अर्थात उनको लगानीभन्दा १० गुणा धेरै फिर्ता पाउने भइसकेकी थिइन् । यो रकम देखेर जेन बिदा मनाउन जाने र धेरै नै सपिङ गर्ने योजना बनाउन लागिन्।
तर त्यसै वर्षको अन्त्यमा एक अपरिचितले इन्टरनेटको माध्यमबाट जेन म्याकएडमसँग सम्पर्क गरे। उनले भने कि उनी मानिसहरुको मद्दत गर्न चाहन्छन्। उनले जेनलाई भने कि उनले वान क्वाइनका बारेमा गहिरो अनुसन्धान गरेका छन्, र अब यसमा लगानी गर्नेहरुलाई यस बारेमा जानकारी दिनैपर्छ भन्ने उनलाई लागेको छ।
जेन अनिच्छुक हुँदाहुँदै पनि उनीसँग स्काइपमा कुरा गर्न राजी भइन्। तर यो कुराकानी बाझाबाझमा गएर टुंगियो। ती अपरिचितले जेनसँग वान क्वाइनका बारेमा जे जति कुराहरु गरे, त्यस कुराकानीले जेनको जिन्दगीलाई नयाँ दिशातर्फ मोडिदियो।
ती अपरिचित व्यक्तिको नाम थियो– टिमोथी करी। उनी बिट क्वाइनमा रूचि राख्थे, क्रिप्टोकरेन्सीको वकालत गर्थे। उनले सोचे कि वान क्वाइनका कारण क्रिप्टोकरेन्सी बदनाम हुनसक्छ।
यसैले उनले जेन म्याकएडमलाई दुई शब्दमा बताइदिए कि वान क्वाइन खासमा एउटा धोका मात्र हो। उनकै शब्दमा सबैभन्दा ‘ठूलो घोटाला’ हो। उनले यो पनि भने कि उनी यो कुरा साबित गरिदिन सक्छन्। तब जेनले उनलाई भनिन् ,‘ठीकै छ त्यसो भए तिमी मलाई यो साबित गरेर देखाउ।’
त्यसपछिका केही हप्तासम्म टिमोथी करीले जेनलाई डिजिटल करेन्सीका बारेमा धेरै जानकारी पठाए। उनले क्रिप्टोकरेन्सीले कसरी काम गर्छ भनेर बुझाए। टिमोथीले यसबारेमा जेनलाई धेरै लिंक, लेख, यूट्युब, भिडियो तथा अन्य सामाग्री पनि पठाए। टिमोथीले जेनको सम्पर्क क्रिप्टोकरेन्सीका एक्सपर्ट ब्योर्न बियर्कसँग पनि गराए। ब्योर्न ब्लक चेनका डेभलपर हुन्। ब्योर्न उनै हुन जसले भनेका थिए ‘वानक्वाइनसँग कुनै ब्लक चेन छैन।’
जेन म्याकएडमलाई टिमोथीले पठाएको सबै जानकारी पढेर र सुनेर त्यसलाई बुझ्न झण्डै तीन महिना लाग्यो। तर अब उनको दिमागमा अनेकौं प्रश्न उठ्न थाले। उनले आफ्नो वानक्वाइन ग्रुपका लिडरसँग सोधपुछ गर्न थालिन्। उनले वानक्वाइनको ब्लक चेन भए नभएको बारे सोधिन्। सुरुमा त उनलाई भनियो कि उनलाई यी सब कुराबारे जान्न जरुरी छैन। तर जब उनले लामो समयसम्म निरन्तर प्रश्न गरिरहिन्। अन्त्यमा उनले वास्तविकता थाहा पाइन्। सन् २०१७ मा एक भ्वाइस मेलमार्फत उनले वास्तविकताबारे थाहा पाइन्।
उनलाई प्राप्त भएको भ्वाइस मेल यस्तो थियो। ‘ठिकै छ जेन। उनी यो जानकारी अरू मानिसहरूलाई दिन चाहँदैनथे किनभने डर के छ भने जहाँ ब्लक चेनलाई राखिएको छ, त्यसलाई कुनै खतरा नहोस्। यसबाहेक एक एप्लिकेसनका रूपमा यसलाई कुनै सर्भरको आवश्यकता पर्दैन। त्यसकारण हाम्रो ब्लक चेन प्रविधि खासमा एक एसक्यूएल सर्भर हो, जसको आफ्नै डेटाबेस छ।’
तर यहाँसम्म आइपुग्दा टिमोथी र ब्योर्न बियर्कको मद्दतबाट जेनले यो सबै जानकारी पाइसकेकी थिइन् कि कुनै पनि मानक एसक्यूएल सर्भर डेटाबेसको आधारमा कुनै पनि क्रिप्टोकरेन्सी विकसित गर्न सकिँदैन। किनभने यो डेटाबेसको म्यानेजरले जुनसुकै बेला यसको भित्र पसेर डेटा बदल्न सक्छ।
जेन भन्छिन्,‘त्यसबेला मात्र मैले सोचें कि यो सब के भइरहेको छ ? अनि मेरो त पैतालामुनिबाट जमीन नै खस्केझैं भयो। म भुँईंमा डङ्ग्रङ्ङ लडेँ।’
यो सबै कुराकानीको एउटै अर्थ थियो कि वानक्वाइनको वेबसाइटमा बढिरहेको नम्बरको कुनै अर्थ थिएन। ती केवल अक्षरहरू भरिरहेका थिए, जसलाई वानक्वाइनका कुनै कर्मचारीले कतै पर बसेर कम्प्युटरबाट टाइप गरेर बदल्न सकिन्थ्यो। जेन र उनका साथीहरु तथा आफन्तहरुले आफ्नो सबै पुँजी यो करेन्सीमा लगानी गरेका थिए, जुन करिब अढाइ लाख यूरो थियो।
डा. रुजा हराइन्
खासमा जेन म्याकएडमले अब सबै सत्य थाहा पाइसकेकी थिइन्। तर अझै पनि वानक्वाइनका धेरै जसो लगानीकर्ताहरुलाई यो तीतो सत्यको कुनै जानकारी थिएन। अझै पनि वानक्वाइनको मार्के्टिङका लागि डा. रुजा विश्व भ्रमण गरिरहेकी थिइन, र आफ्नो सपना पूरै विश्वलाई बेचिरहेकी थिइन्। मकाउदेखि दुबई र सिंगापुरसम्म उनलाई हेर्नका लागि भनेरै ठूला ठूला स्टेडियम भरिन्थ्यो। उनको आकर्षण यस्तो थियो कि नयाँ नयाँ लगानीकर्ताहरु वानक्वाइनमा खुसी खुसी असीमित पैसा लगानी गर्न राजी हुन्थे।
अझै पनि वानक्वाइनको तीव्र गतिमा विस्तार भइरहेको थियो। रुजा आफ्नो यो कमाइलाई नयाँ नयाँ सम्पत्ति किन्न प्रयोग गरिरहेकी थिइन्। उनले बुल्गेरियाको राजधानी सोफिया र ब्ल्याक सिको किनाराको सहर सोजोपोलमा लाखौं डलरको सम्पत्ति किनिन्। आफ्नो फुर्सदको समयमा उनी आफ्नो महंगो र आलिशान ’ एट द( डेविना’ मा ठूला ठूला भोज दिन्थिन्। जुलाइ सन् २०१७ मा भएको एउटा यस्तै पार्टीमा अमेरिकी पप स्टार बेब रेक्चाले पनि एक प्राइभेट शो गरेका थिए।
अत्यन्तै सफल आवरण भएपनि डा. रुजाको वानक्वाइनको साम्राज्यमा अप्ठ्याराहरू सुरू हुन थालेका थिए। वानक्वाइनका सिक्काहरुलाई असली नगदमा बदल्नका लागि एक एक्सचेन्ज खोल्ने प्रतिबद्धता कम्पनीले जनाएको थियो, तर त्यसमा बारम्बार भइरहेको ढिलाइले लगानीकर्ताको चिन्ता बढिरहेको थियो।
यूरोपियन वानक्वाइन लगानीकर्ताहरूको यो चिन्ता पोर्चुगलको राजधानी लिस्बनमा हुने सम्मेलनले हटाउनुपर्ने थियो, जहाँ डा. रुजाले सन् २०१७ को अक्टोबरमा एउटा कार्यक्रम गर्ने तय भएको थियो। तर जब त्यो दिन आयो त्यहाँ समयको अत्यन्तै पालना गर्ने भनिएकी रुजा जाँदै गइनन्।
यो सम्मेलनमा भाग लिन गएका एक प्रतिनिधिले जानकारी दिए ‘केही बेरमै उनी आउँदैछिन्।’ तर कसैलाई थाहा थिएन कि उनी त्यहाँ छैनन्।
पटक पटक फोन कल र म्यासेज गइरहेको थियो, तर रुजाका तर्फबाट कुनै जवाफ आएन। सोफियास्थित वानक्वाइन मुख्यालय, जहाँ उनको उपस्थितिले मानिसमा एक किसिमको त्रास पैदा गथ्र्याे। उनीहरुलाई पनि थाहा थिएन कि रुजा कहाँ छिन्। डा. रुजा गायब भइसकेकी थिइन्। केही मानिसहरुमा यस्तो डर पनि उत्पन्न भयो कि रुजालाई कि त बैंकहरुले अपहरण गरे वा कसैले मारिदिएको पनि हुनसक्छ।
उनीहरुलाई भनिएको थियो कि क्रिप्टोकरेन्सीको यो क्रान्तिबाट बैंकहरूलाई नै सबैभन्दा धेरै खतरा थियो। वास्तविकता त यो थियो कि डा. रुजा अण्डरग्राउण्ड भइसकेकी थिइन्। सन् २०१९ को सुरुवातमा अदालतमा पेश गरिएको एफबीआइका डकुमेन्टहरुका अनुसार लिस्बनको सम्मेलनमा अनुपस्थित भएको केवल दुई हप्तापछि डा. रुजा रेयान एयरको एउटा फ्लाइट लिएर सोफियाबाट एथेन्सका लागि उडेकी थिइन्।
यसपछि उनका बारेमा कुनै पनि जानकारी पाउन सकिएन। त्यो नै अन्तिमपटक थियो, जब कसैले रुजालाई देखे वा उनको बारेमा सुने।
मल्टीलेवल मार्के्टिङको सबैभन्दा सफल उत्पादन
इगोर अल्बर्ट्सले सबै पहिरन कालो र सुनौलो लगाएका थिए। कालो र सुनौलो जुत्ता कालो र सुनौलो रंगकै सुट कालो र सुनौलो सर्ट, चस्मा र औंलामा मोटो कालो सुनौलो रंगको औंठी पनि थियो। इगोरको शरीरमा जे थियो सबै डोल्चे एण्ड गबाना ब्राण्डकै थियो।
उनी भन्छन्, ‘जब तपाई मेरो कपडा देख्नुहुन्छ त्यसमा तपाई एक किसिमको अनुशासन पाउनुहुन्छ।’ उनकी श्रीमती एड्रिया सिम्बाला सहमतिमा टाउको हल्लाउँछिन्। उनी यो पनि थप्छिन्, ‘जब इगोर सुतेर उठ्छन् यदि उनले गुलाबी अण्डरवेयर लगाए भने सबै पहिरन त्यसै कलर अनुसार म्याच गरेर गुलाबी नै हुन्छ। त्यो चाहे सर्ट पाइन्ट वा ज्याकेट नै किन नहोस्।’
उनी नेदरल्याण्डको एम्सटर्डर्मको बाहिरी भागस्थित एकदम भब्य क्षेत्रको ठूलो घरमा बस्छन्। उनको घरको अगाडि १० फुट अग्लो फलामको गेट लगाइएको छ। यसमा इगोर र उनकी श्रीमती एड्रियाको नाम लेखिएको छ। साथै लेखिएको छ– ‘थाहा छैन कुन सपना पूरा हुन्छ !’
भवनको बाहिर महंगो कारहरु मासेराती र एस्टन मार्टिन रोकिएको छ।
इगोर अल्बर्ट्सको बाल्यकाल एक गरिब इलाकामा बित्यो । त्यसपछि उनी नेटवर्क मार्के्टिङ वा मल्टिलेवल मार्के्टिङको कारोबारसँग जोडिए। यसैको मद्दतबाट उनले धेरै कमाए। इगोर दाबी गर्छन् उनले बिगत ३० वर्षमा मल्टीलेवल मार्के्टिङबाट मात्रै करिब १० करोड यूरो कमाएका छन्।
‘मल्टीलेवल मार्के्टिङले यसरी नै काम गर्छ। मैले मानिसहरुलाई भिटामिनको ट्याबलेट सिधै बेच्नका लागि सय पाउण्ड रकम तिर्छु। म ट्याबलेटको एउटा डिब्बा आफ्ना साथीहरु जर्जिया र फिललाई बेच्छु। यो बिक्रीबाट मलाई केही पैसा प्राप्त हुन्छ। फेरि म जर्जिया र फिललाई पनि यो मार्के्टिङ चेनमा सामेल गराउँछु। फेरि उनीहरु जे बेच्छन् त्यसको एक भाग मलाई प्राप्त हुन्छ। उनीहरु मेरो टिमको डाउनलाइन बन्छन्।
फिल र जर्जियापनि दुइ अन्य मानिसहरुलाई आफ्नो चेनमा जोड्छन्। फेरि यी चारैजना पनि आफुसँग अन्य दुई दुई जनालाई जोड्छन्। यसबाट यो चेन अझ लामो हुँदै जान्छ। बिस्तारै नै यो चेन यसरी बढ्दै जान्छ कि २५ वटा चेनपछि बेलायतका हरेकजसो नागरिक भिटामिनको ट्याबलेट बेच्दै गरेको देखिन थाल्छ। यो सिलसिला वा डाउनलाईन मैले सुरु गरेको हुँ त्यसैले यो सबै बिक्रीबाट एक भाग मैले पाइरहन्छु।’ उनी भन्छन्।
मल्टीलेवल मार्के्टिङ अवैध होइन। एमवे र हर्बालाइफ जस्ता ठूला कम्पनीहरु यही कारोबारको तरिका अपनाएर नै आफ्नो कारोबारलाई विस्तार गर्छन्। तर मल्टीलेवल मार्के्टिङ विवादास्पद छ किनभने आम रूपमा धेरै कम मानिसमात्र सबै नाफाको भागिदार हुन्छन्।
मल्टीलेवल मार्केटिङ नाफाको ठूलो ठूलो प्रतिबद्धता र बिक्रीको ठूलो दबाबका लागि पनि बदनाम छ। जब बेच्नका लागि कुनै बहुमूल्य वस्तु हुँदैन र सारा पैसा केवल अन्य ब्यक्तिलाई यो चेनमा जोडेर कमाइन्छ, तब यो अवैध बन्न जान्छ। त्यसबेला यसलाई मानिसहरु पिरामिड योजना पनि भन्ने गर्छन्।
सन् २०१५ मइमा जब इगोर अल्बर्ट्स एक सफल एमएलएम बिक्रेताको हैसियतमा स्थापित भइसकेका थिए, तब उनलाई दुबईमा वानक्वाइनको एक कार्यक्रममा आमन्त्रित गरिएको थियो। दुबईमा इगोरको भेट धेरै जनासँग भयो। यी सबै ब्यक्तिहरु वानक्वाइनको नयाँ डिजिटल करेन्सीबाट धेरै धन कमाउने उद्देश्यका साथ आएका थिए।
त्यहाँ डा. रुजाले पनि इगोमा गहिरो छाप छोडिन्। उनी राजकुमारीको भेषमा कार्यक्रममा उपस्थित थिइन्। उनले मानिसहरूलाई बित्तीय क्रान्तिको सपना बेचिन्।
दुबईबाट इगोर नयाँ मिसनका साथ फर्किए। उनले आपनो सेल्स टिमलाई निर्देशन दिए कि अब उनीहरुले सबै कुरा छाडेर केवल वानक्वाइन मात्र बेच्न सुरू गर्नेछन्। इगोर भन्छन्, ‘हामीले टिमलाई जम्मा र्पायौं र पागल जसरी काम थाल्यौं। पहिलै महिना हामीले शून्यबाट ९० हजार यूरो जम्मा पार्न सक्यौं।’
डा. रुजाको क्षमता यही थियो कि उनी ठूला ठूला डाउनलाइन वा टिमहरू भएको मल्टीलेवल मार्के्टिङका ब्यापारीहरुलाई प्रभाव पार्न सक्थिन्। किनभने उनीहरुकै माध्यमबाट रुजालाई एउटा नक्कली सिक्काको मार्केटिङ गर्न र त्यसलाई बेच्न धेरै सजिलो थियो। यो यस्तो योजना थियो जसका बारेमा एफबीआइको दाबी छ कि रुजा यसलाई केही विशेष मानिसहरुसँग वाल स्ट्रीटकी माहिर खेलाडी र एमएलएमसँगको गठबन्धन पनि भन्थिन्।
वानक्वाइनको सफलताको रहस्य यही थियो। यो केवल एक फर्जी क्रिप्टोकरेन्सीमात्र थिएन, यो पुरानै ढर्राको पिरामिड योजना थियो। यसको उत्पादन थियो वानक्वाइनको डिजिटल सिक्का। अब यसमा कुनै आश्चर्यको कुरा रहेन। वानक्वाइनको यो सत्यता डढेलोजस्तै फैलियो।
इगोर अल्बर्ट्स वानक्वाइन बेचेर हरेक महिना १० लाखभन्दा धेरै यूरो कमाइरहेका थिए। चाँडै नै यो नेटवर्क मार्के्टिङको सबैभन्दा ठूलो उत्पादन बन्यो। इगोर अल्बर्ट्स भन्छन्, ‘कुनै अरू कम्पनीको बिक्री यसको नजिक पनि आउन सकेन।’
इगोर अल्बर्टस् र एड्रिया सिम्बालाले वानक्वाइन बेचेर जे कमाए यसको ६० प्रतिशत भाग नगदमा भुक्तानी गरे। अन्तिम दिनहरुमा यो रकमा हरेक महिना २० लाख यूरोको आसपास थियो। र बाँकी भुक्तानी उनीहरुलाई वानक्वाइनको रूपमा दिन लागिएको थियो। यस कारोबारमा सहभागी बाँकी मानिसहरु जस्तै इगोर र एड्रियालाई पनि यो विश्वास थियो कि उनीहरु अकुत कमाइरहेका छन्।
इगोर भन्छन्, ‘मैले हिसाब गरे कि यो धर्तीको सबैभन्दा धनी बन्नका लागि मलाई कति सिक्का चाहिन्छ होला। मैले एड्रियासँग भने अब हामीले १० करोड सिक्का जुटाउनुपर्नेछ। किनभने जब यो १० करोड सिक्काहरु १० करोड यूरोमा बदलिन्छन् नि, त्यसबेला हामी बिल गेट्सभन्दा पनि धनी बन्नेछौं । यो गणित हो र धेरै बुझ्न धेरै सजिलो पनि।’
मल्टीलेवल मार्केटिङ नेटवर्कको विशेषता भनेकै जब मानिसहरु यसलाई मानिससँगको नेटवर्कमा जोड्छन्, त्यसबेला उनीहरुप्रति एउटा जवाफदेहिता महसुस हुन्छ। कसैमाथि पनि आरोप लगाउनु सजिलो हुँदैन। यदि बिक्रेताहरुले कुनै योजनामा आफ्नै पैसा लगानी गरिरहेका हुन्छन् भने उनीहरु पनि यसको शिकार हुन पुग्छन्।
लिस्बनको कार्यक्रमबाट डा. रुजा हराएपछि एक समय यस्तो आयो, जब जेन म्याकएडम जस्तै इगोरले पनि कम्पनीसँग ब्लक चेनको प्रमाण मागे। तर उनलाई पनि कुनै प्रमाण देखाइएन। र सन् २०१७ को डिसेम्बरमा उनले वानक्वाइनको साथ छोडे।
मैले इगोरसँग सोधे, ‘के तिमी आफूलाई अपराधी मान्छौं ?’ किनभने उनले यति धेरै मानिसलाई यो सिक्कामा लगानी गर्नका लागि राजी गराएका थिए, जसको कुनै अस्तित्व नै थिएन र यसबाट उनले धेरै पैसा कमाए पनि।
इगोर यो प्रश्नको जवाफमा भन्छन् ‘मैले आफूलाई यसको दोषी मानिन। तर मलाई एउटा जिम्मेवारी महसुस भइरहन्छ। कुनै कुरामाथि विश्वास गरेकै आधारमा तपाई कसैलाई पनि दोषी भन्न सक्नुहुन्न। मेरो विश्वास झुठो हुनसक्छ भन्नेमा मलाई शंकासम्म पनि थिएन। मलाई त यो पनि थाहा थिएन कि ब्लक चेन भनेको के हो। मेरो दिमागमा यसबारे कुनै शंका कसरी पसोस् ?’
इगोर के संकेत गर्छन् भने उनी आफैंले पनि वानक्वाइन किन्न लाखौं खर्चिएका थिए। यो शायद उनका सबै चिनजान वा आफन्तहरुमध्ये लगानी गरिएको सबैभन्दा धेरै रकम हो।
तर जेन म्याकएडम भन्छिन्, ‘उनको हृदयमा ठूलो बोझ छ।’ मैले उनीसँग सोधे उनले वानक्वाइन बेचेर कति कमाइन् ? तब उनी भन्छिन्, ‘केवल ३ हजार यूरो मात्र उनले कमाइन् जसमध्ये १८ सय यूरो नगद थियो जुन रकमलाई फेरि उनले वानक्वाइन किन्नमै खर्च गरेकी थिइन्।’
जेन उनीहरुबारे सम्झिएर पछुतो मान्छिन् जसलाई उनले वानक्वाइनसँग साक्षात्कार गराइन्। उनलाई सबैभन्दा बढी अपसोच आफ्ना मृतक पिताप्रति छ जसले जीवनभर कमाएको पैसा उनलाई दिएका थिए र त्यो जेनले वानक्वाइन किन्न खर्च गरिन्।
फलो द मनी
वान क्वाइनमा मानिसहरुले कति रकम खर्चिए भन्नेबारे हालसम्म यकिन तथ्यांक फेला परेको छै । बिबिसीलाई प्राप्त भएको डकुमेन्टहरुबाट के थाहा हुन्छ भने सन् २०१४ को अगस्टदेखि मार्च २०१७ सम्मको अवधिमा चार अर्ब यूरोको लगानी वानक्वाइनमा भइसकेको थियो। मानिसहरू यसमा १५ अर्ब यूरोभन्दा बढी लगानी भएको हुनसक्ने अनुमान गर्छन्।
फलो द मनीको नियम अनुसार म ‘द मिसिङ क्रिप्टोक्विन’ पडकास्टका निर्माता जर्जिया क्याटसँग ओलिवर बुलोलाई भेट्न गएँ। ओलिवर आफूलाई ‘मनिल्याण्ड’का विज्ञ मान्छन्। मनिल्याण्ड अर्थात अँध्यारो दुनियाँ जहाँ अपराधी तथा धेरै नै धनी मानिस आफ्नो सम्पत्ति लुकाउने गर्छन्। ओलिवर भन्छन्, ‘समस्या यो हो कि पैसाको पछि लाग्नु भन्ने शब्द सुन्दा जति सजिलो लाग्छ उति नै अप्ठेरो पनि। किनभने अपराधी आफ्नो कम्पनीहरु तथा बैंक खाताहरुमा यस्तो संरचना बनाउँछन् कि उनीहरुको धन माकुराको जालोजस्तो बनेर हराएर जान्छ।’
बेलायतमा हे अन वायस्थित घरको बगैंचामा बसेका ओलिवर हामीसँग भन्छन् ‘त्यो रकमा त्यहाँ त हुन्छ तर यदि कसैले त्यसलाई खोज्न चाह्यो भने त्यो अदृश्य हुन्छ चाहे त्यो खोजी गर्ने पत्रकार होस् वा पुलिस।’
यस्तोमा वानक्वाइनको कर्पोरेट संरचना पनि कति पेचिलो छ भन्नेमा कुनै दुइ मत हुन सक्दैन। यसको उदाहरण हेरौं रुजाले सोफियामा भब्य सम्पत्ति खरिद गरिन्। प्राविधिक रूपमा यो सम्पत्तिमाथि वान प्रोपर्टी नामको कम्पनीको स्वामित्व देखिन्छ। वान प्रोपर्टीको स्वामित्व अर्को कुनै कम्पनीले लिएको छ, जसको नाम हो रिस्क लिमिटेड। रिस्क लिमिटेडको स्वामित्व थियो रुजाको नाममा।
तर रुजाले यो कम्पनी पानामामा रहेका एक गोप्य ब्यक्तिको नाममा गरिदिइन्। रमाइलो त के छ भने अब यो कम्पनी पानामाका ति गोप्य ब्यक्तिको नाममा थियो, तर त्यसको ब्यवस्थापन पेराग्यान नामको कम्पनीसँग थियो। र पेराग्यानको स्वामित्व अर्को एउटा कम्पनीसँग थियो जसको नाम थियो आर्टे्फिक्स। यो कम्पनी थियो रुजाकी आमा वेस्काको नाममा। र सन् २०१७ मा आर्टे्फिक्सलाई २० वर्ष उमेरका एक गोप्य ब्यक्तिलाई बेचिदिइन्।
ओलिभर यो माकुराको जालोजस्तो ब्यबस्थालाई एक असम्भव मानक भन्छन्।
एक फ्रेञ्च पत्रकार म्याक्सिम गिम्बर्टले कैयन् महिनासम्म वानक्वाइनको कर्पोरेट संचरनाबारे बुझ्ने कोशिश गरे। उनले योसँग जोडिएका धेरैभन्दा धेरै कम्पनीहरुको नाम र बैंक खाताहरु पत्ता लगाउने कोशिश गरे। ‘मैले म्याक्सिमले गरेको मेहनत ओलिभरलाई देखाएँ।
उनले तत्काल यस कुरालाई औंल्याए की यसमध्ये धेरै कम्पनीहरु त बेलायतमै रजिस्टर्ड थिए,’ ओलिभर भन्छन्, ‘अक्सर यस्तो फर्जी कामहरुका लागि उनीहरुले बेलायती कम्पनीहरुकै सहारा लिन्छन् किनभने त्यसलाई खोल्न सजिलो हुन्छ र कानुनी रुपबाट वैध जस्तो पनि देखिन्छ।’
उनी त्यस लिस्टको पहिलो कम्पनीको नाम लिएर त्यसलाई ब्रिटेनको कम्पनीज हाउस वेबसाइटमा खोज्न थाल्छन्। ब्रिटेनमा हरेक कारोबार पारदर्शी हुनुपर्छ। वेबसाइटमा हरेक कम्पनीबारे जानकारी हुन्छ, जुन ब्रिटेनमा रजिष्टर्ड छ। यो वेबसाइट भ्रष्टाचार रोकथामको महत्वपूर्ण माध्यम भन्ने मान्यता छ। ओलिभर भन्छन्।े, ‘हामी आफ्नो देशमा भएको यो ब्यवस्थामा धेरै गर्व गर्छौं। तर समस्या के हो भने जब तपाई कुनै कम्पनी खोल्नुहुन्छ भने कोही पनि तपाईंले दिएको जानकारी सही हो वा होइन भन्ने तर्फ जाँच गर्न्तिर लाग्दैनन्।’
ओलिवर वेबसाइटमा त्यस कम्पनीको ट्याक्स फाइलको खोजी गर्न थाल्छन्। तर त्यहाँ त कम्पनीको खाताको हिसाब देखाउनु पर्ने ठाउँमा केही पनि थिएन। ओलिवर आश्चर्यमा परे ! ‘हेर्नुस् यही यिनीहरुको तरिका हो। यहाँ केही नै छैन। उनीहरुले आफ्नो बारेमा केही बित्तीय जानकारी दिएकै छैनन्। त्यसमाथि ओलिवर कम्पनीका स्वामित्वबारे पत्ता लगाउने कोशिश गर्छन्। हालै बेलायती सरकारले केमा बढी ध्यान दिन थालेका छन् भने कम्पनीहरू जसको स्वामित्वमा छ त्यसको वास्तविक मालिक को हो भन्ने बारेमा पूर्ण जानकारी हुनुपर्छ।’
वेबसाइट बारे ओलिवर भन्छन् ‘यो नियमको अर्थ हो अब कसैले पनि अब बेलायती कम्पनीको आडमा आफ्नो फर्जी धन्दा लुकाउन सक्दैन। यहाँ त कम्पनीको शेयरहोल्डरको समेत नाम छैन। यो अवैध हो। यो कुनै गोप्य सेल कम्पनी हो। यो त ठीक त्यस्तै कम्पनी हो जुन सेसेल्स, सेन्ट किट्स एण्ड नेविस वा भानुआटु वा मार्शल आइल्याण्डमा किन्न सकिन्छ।’
पैसाको पीछा गर्दा यस्ता नतिजा निस्कियो। आज आपसमा जोडिएको विश्वको अर्थव्यवस्थामा सम्पत्तिहरू अचानक हराउन पुग्छन् र केवल तपाई छायाँको पछि दौडिरहेको हुनुहुनेछ।
यस्तै जब तपाईको सामना अर्बौको घोटालासँग हुनेछ, त्यसबेला यो अझ बढी सामान्य हुन सक्छ कि यसमा कुनै यस्ता ठूला गिरोह वा संगठन पनि सहभागी हुन सक्छन्। जसको भूमिका असाध्यै ठूलो हुन्छ। मैले र जर्जियाले यस्ता धेरै मानिसको अन्तर्वार्ता पनि लिएका छौं जसले ठूला राजघरानासँग आबद्ध रहस्यमयी मानिसहरुका बारेमा पनि बताएका थिए। तर उनीहरुले ति मानसको नाम भने बताउन चाहेनन्।
ब्योर्न बियर्क भन्छन्, ‘जब तपाई वानक्वाइनमा लगाएको पैसाको कुरा गर्नुहुन्छ तब ति मानिसहरुको गुनासोको कुरा आउँछ जो म जस्ता मानिससँग धेरै रिसाएका छन् र हाम्रो मुख बन्द गराउन चाहन्छन्।’
ब्योर्न बियर्क ब्ल्याक चेनका त्यस्ता विज्ञ हुन् जसले यो वास्तविकतालाई उजागर गरे वान क्वाइनसँग कुनै ब्लक चेन छैन। उनले यसका बारेमा खुलेर कुरा गर्न थालिसकेका थिए।
त्यसपछि उनलाई मार्नेसम्मको धम्की आउन थालिसकेको थियो। बियर्क भन्छन्, ‘यदि मलाई थाहा हुन्थ्यो कि मलाई कुन अवस्थाबाट गुज्रनुपर्छ, म कहिल्यै यस कुरालाई सार्वजनिक नै गर्ने थिइन। कहिल्यै सत्यबारे थाहा दिन्थिँन। म यो वास्तविकताबाट पर भाग्थेँ र यो विवादबाट आफूलाई टाढा राख्थें।’
यो धम्कीको पछाडि कसको हात हुनसक्छ भन्ने बारे भने उनले खुलेर बताउन चाहेनन्। ब्योर्न बियर्कले यति मात्रै भने ‘म यसबारे थप चर्चा गर्न सक्दिन किनभने यो धेरै नै डरलाग्दो दिशामा अघि बढ्नेछ। र धेरै तीब्र रुपमा कुराहरु फैलिनेछ।’ बियर्कका अनुसार डा. रुजाले यो सोचेकी थिइनन् कि वानक्वाइनले यति विस्तारित रुप लिन्छ। जो मानिस यसको सुरुवातदेखि नै साथ थिए उनीहरुले रुजालाई भनेका थिए कि यहाँ कुनै अर्बौं डलरको घोटाला हुनेछैन। ब्योर्न बियर्क भन्छन्, ‘पछि रुजाले यसलाई बन्द गर्ने कोशिश गरिन्, तर कुनै अदृश्य र शक्तिशाली शक्तिले रुजालाई यसको अनुमति दिएनन्।’
बियर्क भन्छन्, ‘जब वानक्वाइन एक करोड, दुई करोड वा फेरि तीन करोडको दायरा तोड्दै थियो तब केही न केही यस्तो भएको हुनुपर्छ कि त्यसपछि वानक्वाइन रुजाको हातबाट नियन्त्रण बाहिर गयो। उनले चाहेर पनि यसलाई रोक्न सकिनन्। मलाई लाग्छ कि उनी सन् २०१७ को त्यो समयबाट अति नै डराइन् त्ययसैले उनले लिस्बनको सम्मेलनदेखि सबैसँग दूरी बनाइन्।’
मल्टीलेवल मार्के्टिङ बिक्रेता इगोर अल्बर्ट्स पनि यो घोटालामा ठूला र प्रभावशाली ब्यक्तिहरुको सहभागिताको कुरा गर्छन्। जब मैले उनीसँग यसबारेमा थप जानकारी मागें उनले भने म ति सबैबारे बताउन चाहन्न किनभने म आफ्नो जिन्दगीसँग खेलबाड गर्न चाहन्न।
यो स्पष्ट भइसकेको छैन कि ब्योर्न बियर्क र इगोर अल्बर्ट्स कसका बारेका कुरा गरिरहेका थिए। वा दुबै एकै खाले मानिसका बारेमा भनिरहेका थिए। तर अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसको दाबी छ कि उनीहरुसँग यस घोटालामा पूर्वी यूरोपका संगठित आपराधिक गिरोहका महत्वपूर्ण ब्यक्ति तथा रुजाका भाई क्यान्सटैंटिन इग्नातोवसँग सम्बन्धित ब्यक्तिहरु संलग्न छन्। जब रुजा हराइन्, तब वानक्वाइन चलाउने काम रुजाका भाई क्यान्सटैंटिनले आफ्नो हातमा लिए।
यो परिवारभित्रको कुरा हो
सन् २०१९ को मार्च ६ का दिन क्यान्सटैंटिन इग्नातोव अमेरिकाको लसएन्जलसको एयरपोर्टमा थिए। उनी वानक्वाइनसँग सम्बन्धित बैठकका लागि अमेरिका पुगेका थिए। फर्किएर उनी बुल्गेरिया जाने फ्लाइट कुरिरहेका थिए। तर प्लेन चढ्नु अघि नै उनलाई एफबीआइका एजेन्टले गिरफ्तार गरे। उनलाई एयरपोर्टबाटै गिरफ्तार गरी वानक्वाइनको फर्जी कामको अभियोग लगाइयो। ठीक त्यसै समय अमेरिकी अधिकारीहरूले डा. रुजामाथि पनि डिजिटल खेलबाड तथा सुरक्षा र फर्जी काम तथा मनि लण्डरिङको अभियोग लगायो।
यति हुँदा पनि वानक्वाइनको कारोबारको सिलसिला थामिएन र मानिसहरु यसमा लगानी गरि नै रहे। जब एक महिनापछि मैले जर्जियासँग सोफिया भ्रमण गरें, तब डाक्टर रुजाको निजी घर बन्द देखियो। तर वानक्वाइनको अफिस कुनै ब्यस्त अफिस जस्तै चालु थियो।
खासमा प्रश्न यो हो कि–‘यति धेरै प्रमाणहरु पछि पनि मानिसहरु किन यसमाथि यति धेरै भरोसा गरिरहेका छन् ?’
धेरैपटक लगानीकर्ताहरुले हामीसँग के भने भने उनीहरु आफ्नो हातबाट यति ठूलो अवसर नगुमोस् भन्ने चाहन्थे। उनीहरु धेरै रोमाञ्चकताका साथ बिटक्वाइनको सफलताबाट पैसा कमाएकाहरुबारे पढ्थे। यस्तोमा उनीहरुलाई लाग्थ्यो कि वानक्वाइन उनीहरुको लागि जीवनमा दोस्रो मौका लिएर आएको छ।
धेरै मानिसहरु दूरदर्शी रुजाको ब्यक्तित्व र मानिसहरुलाई सम्झाउने उनको प्रतिभाबाट कायल पनि भए। लगानीकर्ताहरुले यसको प्रविधिबारे धेरै नबुझेपनि उनीहरु यो त हेरिरहेका थिए कि रुजा मानिसहरुको भीडलाई कसरी सम्बोधन गरिरहेकी हुन्थिन्। अनि द इकोनोमिस्टको कन्फ्रेन्समा उनको प्रेजेन्टेसन कस्तो थियो। उनीहरुलाई रुजाको सबै डिग्री र उनको फोर्ब्स पत्रिकामा छापिएको पोट्रेटको कपि पनि देखाइन्थ्यो।
यसमा कुनै शंका छैन कि रुजाको पढाइको डिग्री सक्कली थियो। तर फोर्ब्स पत्रिकाको कभर सक्कली थिएन। यो फोर्ब्स पत्रिकाको भित्री पृष्ठमा छापिएको थियो र फोर्ब्स बुल्गेरियालाई पैसा दिएर बिज्ञापनका रुपमा यो छापिएको थियो। तर जब यसको वास्तविक कभर च्यातियो तब यसले धेरै नै प्रभाव छोड्न सफल भयो।
तर यस्तो पनि लाग्छ कि केवल धनी हुने सपनामा विश्वास गरेर मात्र मानिसहरुले यसमा लगानी गरेका होइनन्। जब जेन म्याकएडमले वानक्वाइनमा पैसा लगानी गरिन् उनलाई लगातार भनियो कि उनी वानक्वाइन परिवारको सदस्य हुन्। उनलाई एउटा ह्वाट्स एप ग्रुपसँग पनि जोडियो जसको आफ्नै ग्रुप लिडर थियो जो सोफियास्थित मुख्यालयबाट प्राप्त भएको भन्दै जानकारीहरु ग्रुपमा पठाउने गर्थ्यो। यसकासाथै जेन म्याकएडमको ग्रुप लिडर उनलाई धेरै सावधानीसँग मानिसहरुसँग कुरा गर्न सिकाउँथ्यो जसबाट वानक्वाइनमाथि शंका उत्पन्न नहोस्।
उनी सम्झेर भन्छिन्, ‘यदि कसैले तपाईलाई बाहिरको कुनैपनि भनाईमा विश्वास नगर्नुस् भनिन्छ तपाईं त्यसै गर्नुहुन्छ। उनीहरु विटक्वाइन वालाहरुलाई घृणा गर्थे। यहाँसम्मकी गुगललाई पनि। गुगलको कुरा नपत्याउ समेत भन्थे। कसैले आलोचना वा अप्ठेरो प्रश्न सोध्न थाले पनि उनीहरुलाई हतोत्साहित गरिन्थ्यो। जेनलाई पनि भनिन्थ्यो तिमीभित्र नकारात्मकता छ भने तिमी ग्रुप छोडेर जान सक्छौ।’
लण्डन स्कुल अफ इकोनोमिक्सका प्रोफेसर एइलिन बार्करले मुनिज र साइंन्टोलोजिस्ट जस्ता समूहहरुका बारेमा अध्ययन र्न धेरै वर्ष खर्च गरेकी छन्। प्रोफेसर बार्कर भन्छिन्, ‘नयाँ युगका यस्ता शक्तिशाली समूह र वानक्वाइनमा धेरै समानता छन्। यस्ता समूहमा सहभागी हुनेहरुलाई लाग्छ कि उनीहरु यस्तो कुनै ठूलो कुराको हिस्सा हुन् जसले विश्व नै बदलिदिन्छ। यदि सबुत प्रमाण नै देखाएपनि एकपटक यस्तो समूहमा आबद्ध भए भने उनीहरु यसलाई गलत मान्न चाहँदैनन्।’
प्रोफेसर बार्कर भन्छिन्, ‘जब कुनै भविष्यवाणी गलत हुन्छ तब त्यो विश्वास अझै बलियो बन्छ। खासगरी यदि त्यो कुनै लगानीसँग जोडिएको हुन्छ। पैसामात्र होइन आफ्नो विश्वास, प्रतिष्ठा, विवेक समेत लगानी हुन्छ। फेरि लाग्छ अझै केहीबेर प्रतीक्षा गरौं न त।’
सुरुमा मानिसहरु पैसाको लोभमा लगानी गर्छन् तर फेरि एक किसिमको लगाव उत्पन्न हुन्छ। उनीहरु केही विशेष गरिरहेका छौं जस्तो सोच्न थाल्छन्। धेरै ठूलो उपलब्धी हासिल गर्ने हौसलाकासाथ अघि बढ्छन्। यसैकारण मानिसहरु त्यसमा जोडिइरहेका हुन्छन्। प्रोफेसर बार्कर भन्छिन् ‘यो लगाव कुनै धार्मिक समुदायसँगको लगाव जस्तो हुन पुग्छ।’
एक आदर्श विश्वमा नियामक संस्थाहरु ग्राहकहरुलाई वानक्वाइन जस्ता घोटालाहरुबाट बचाउनका लागि तुरुन्तै कारवाही गर्छन्। तर पूरै विश्वमा यस्ता घोटालाहरुप्रति अधिकारीहरुको रवैया ढिलासुस्तीको देखिन्छ। यसको एउटा कारण यो पनि हो कि क्रिप्टोकरेन्सी विश्वमा नयाँ शक्तिका रुपमा विकसित भएको हो।
बेलायतको फिनान्सियल कन्डक्ट अथरिटी एफसीएसँग बित्तीय बजारलाई नियन्त्रण गर्ने अधिकार हुन्छ। सन् २०१६ को सेप्टेम्बरमा उसले आफ्नो वेबसाइटमा एक चेतावनी जारी गरेको थियो ‘हामीलाई लाग्छ कि ग्राहकहरुलाई वानक्वाइनबाट लेनदेन गर्ने बेला सावधानी अपनाउनुपर्ने देखिन्छ। हामी चिन्तित छौं कि बेलायती ग्राहकहरुलाई यसबाट जोखिम हुन सक्छ।’
तर त्यसको एक वर्ष नबित्दै एफसीएको वेबसाइटबाट यो चेतावनी हटाइयो। एफसीएका अनुसार यो चेतावनी धेरै समयदेखि वेबसाइटमा रहेकोले अब पर्याप्त प्रसारण भएको भन्दै हटाइएको थियो। तर वानक्वाइनका संचालकहरुले भने यसलाई सकारात्मक रुपमा प्रचार गरे। एफसीएले पनि वान क्वाइनमा लगानी कानुनी रुपमा वैध भएको मान्दै वेबसाइटबाट सूचना हटाएको उनीहरुको तर्क थियो।
क्यानडाको अल्बर्टामा रहेका वानक्वाइनका एक प्रमोटरले अनलाइन भिडियो पोष्टबाट एफसिएको यस कदमका बारेमा भनेका छन्, ‘ल अब जवाफ पाइयो सिधै अधिकारीहरुकै तर्फबाट । यदि तपाई अझै पनि यो सोच्नुहुन्छ कि हामी एक नक्कली कम्पनी हौं भने त त्यो चेतावनी हट्थ्यो होला। अब सबै कुरा स्पष्ट भइसकेको छ।’
वानक्वाइनसँग जोडिएको कैयन् कार्यक्रम बेलायतमा त्यसबेला आयोजना भएको थियो जुन एफसीएले आफ्नो वेबसाइटबाट यसबारेको चेतावनी हटाएको थियो। यसपछि पनि लगानीको सिलसिला चलिरह्यो। बिबिसीले जब एफसीएसँग यसबारे प्रतिक्रिया लिन चाह्यो तब उनीहरुले कुनै प्रतिक्रिया दिन मानेनन्।
अधिकारीहरुले वानक्वाइनको विरुद्ध कुनै पनि कारवाही गर्नमा यसकारण पनि समस्या भयो कि वानक्वाइनले अन्तर्रा्ष्ट्रिय स्तरमा काम गरिरहेको थियो। सन् २०१९ को अगस्टमा लण्डन पुलिसले वानक्वाइनसँग जोडिएको दुई वर्षदेखि चलिरहेको अनुसन्धान बन्द गरिदियो। लण्डन पुलिसले यसबारेको एक स्टेटमेन्ट जारी गर्दै भनेको थियो, ‘वानक्वाइनलाई संचालन गर्ने कम्पनीहरु तथा मानिस बेलायतको न्यायिक अधिकार क्षेत्रभन्दा बाहिर छन्। हामी बेलायतमा उनीहरुको सम्पत्ति खोजी गर्नमा असफल रह्यौं, जसलाई जफत गरी बेलायती लगानीकर्ताको क्षति भर्पाइ गर्न सकियोस्।’
वानक्वाइन घोटालाबाट प्रभावित मानिसहरुकालागि यस्ता सफाइले कुनै राहत भने दिँदैन।
जब जेन म्याकएडमले यो खबर सुनिन् उनले भनिन्, ‘म बर्बाद भएँ। तर मलाई मसँगै बेलायतका सबै पीडितहरुप्रति सहानुभूति छ।’
अब जेन वानक्वाइनका लगानीकर्ताहरुकोलागि यस्तो ह्वाटस्एप ग्रुप चलाउँछिन् जसलाई लाग्छ कि उनीहरु बेवकुफ बनाइएका हुन्।
उनी भन्छिन,‘हामीलाई अब कसले मद्दत गर्छ ? कसले हामीलाई सहयोग गर्छ ? अब त अझ धेरै मानिसहरु यसको प्रचार गर्नेछन्। वानक्वाइनका फर्जीधन्दा गर्नेहरुका लागि यो एक किसिमको हरियो झण्डा हुनेछ कि उनीहरुले बेलायतका सोझा जनताको पैसा ठगिरहे। यसको बिरुद्ध केही कारवाही भएन। उनीहरुलाई केही फरक परेन।’
लण्डन प्रहरीले बिबिसीलाई भने, ‘बेलायतमा यससँग सम्बन्धितहरु विरुद्ध आपराधिक प्रक्रिया सुरु गर्न पर्याप्त प्रमाण जुट्न सकेन। हामीले कहिल्यै यो भनेका छैनौं वानक्वाइनबाट कुनै पनि जोखिम हुनेछैन। प्रहरीले यो मामिलामा जाँच गरिरहेका बिदेशका कानुनी एजेन्सीहरुसँग पनि हामीले मद्दत मागिररहेका छौं र भविष्यमा पनि यसबारेमा कारवाही अघि बढाउनेछौं। यदि तपाईलाई लाग्छ कि तपाई वानक्वाइनसँग जोडिएको कुनै पनि जालसाझी वा घोटालाबाट पीडित हुनुहुन्छ वा तपाईलाई कसैमाथि पनि शंका छ भने यसबारे एक्सन फ्रडमा अनलाइन सूचना दिनुस्।’
वानक्वाइनको कार्यालय हालैका दिन समेत कारोबारका लागि खुला देखिन्छ। धेरै मानिसहरु डिजिटल करेन्सीका रुपमा यसको प्रचार आज पनि गरिरहेका छन्।
डा. रुजा कहाँ छिन् ?
जब हामीले सन् २०१८ को आखिरी दिनहरुमा मिसिङ क्रिप्टोक्विन पडकास्ट बनाउने योजनामा काम सुरु र्गयौं, तब कसैलाई पनि यो थाहा थिएन कि डा. रुजा कहाँ छिन् उनलाई के भयो र कता हराइन् ?
सन् २०१९ को सुरुवाती दिनमा अमेरिकी अधिकारीहरुले यो रहस्य खोले कि रुजाले सन् २०१७ को २५ अक्टोबरमा एथेन्सको फ्लाइट समातेकी थिइन्। तर पनि प्रश्न कायमै थियो आखिर रुजा एथेन्सबाट कता लागिन् ?
यसबारेमा धेरै किसिमका अफवाह फैलिएका थिए। मल्टीलेवल मार्के्टिङका बादशाह इगोर अल्बर्टसले सुने अनुसार रुजासँग रुस र युक्रेनको पनि पासपोर्ट थियो । उनी अक्सर रुसबाट दुबई आउजाउ गरिरहन्थिन्। यो पनि भनिन्छ कि यस्ता धेरै शक्तिशाली व्यक्तिको रुजालाई सपोर्ट छ, जसले उनलाई बुल्गेरियामा सुरक्षित अवस्थामा राखेको छ। उनी आराम र शान्त जीवन बिताइरहेकी छन् किनभने उनले आफ्नो अनुहार प्लास्टिक सर्जरी गरेर पहिचान गर्न नसक्ने बनाएकी छन्। यतिसम्मको अफवाफ पनि फैलिएको छ कि डा. रुजा मरिसकिन्। यौटा सम्भावना त यो पनि बाँकी नै छ।
तर यो प्रश्नको जवाफ खोज्नु एक प्रोफेसनलको काम हो। यसैकारण म र जर्जिया एक प्राइभेट जासुस एलन म्याकलिनसँग भेट्न गयौं। उनी मानिसहरुलाई खोज्न माहिर छन्। एलन भन्छन्, ‘हामीलाई यस्ता सबै हल्लाहरुभन्दा पर ध्यान दिनु जरुरी हुन्छ।’
उनी भन्छन्, ‘उनको रहनसहन के थियो? यो सबैभन्दा महत्वपूर्ण कुरा हो। तपाई वानक्वाइनभन्दा पहिलेको उनको जिन्दगीबारे खोज्नुहोस्। पत्ता लगाउनुस् कि उनका साथीहरु को थिए। उनको लाइफस्टाइल कस्तो थियो उनको परिवार कस्तो थियो?’
उनले हामीलाई अझ एउटा टिप्स दिए जब रुजा आफ्नो याचमा हुन्थिन् तब उनी कहाँ आवतजावत गर्थिन्? एलन भन्छन्, ‘रुजाको त्यस याचको ट्रयाकर निकाल्न सकियो भने त्यसबाट धेरै जानकरी पाउन सकिन्छ।’
एलन भन्छन्,‘यदि तपाई मेरो राय बुझ्न चाहनुहुन्छ भने मलाई लाग्छ रुजा यसबेला भूमध्य सागरको नजिक कतै बसेकी हुनुपर्छ।’
हामीसँगको भेटको केही हप्तापछि एलनले हामीलाई फेरि सम्पर्क गरे। उनले हामीलाई केही आश्चर्यजनक जानकारी पनि दिए। उनका केही प्राइभेट डिटेक्टिभहरुले रुजाको तस्वीर लिएर एथेन्सका केही महंगा महंगा रेष्टुरेन्टहरु चाहारेका रहेछन्। त्यसका केही वेटरहरुले दाबी समेत गरेका रहेछन् कि उनीहरुलाई राम्रोसँग याद छ सन् २०१९ को सुरुवातमा उनी त्यहाँ पटक–पटक पुगेकी थिइन्।
एलनको यो दाबीबारे थप जानकारी लिन हामीले ती वेटरहरुलाई फोन पनि र्गयौं। यस्तो लाग्छ रुजा अझै पनि जीवित छिन् र गिरफ्तार हुने डरलाई बेवास्ता गर्दै यूरोपको कुनै देशको राजधानीमा घुम्न सक्षम पनि छिन्।
रुजाका बारेमा हामीलाई थप जानकारी फेरि प्राप्त भयो जब हामी पूर्वी यूरोपेली देश रोमानियाको राजधानी बुखारेस्टमा वानक्वाइनको तर्फबाट आयोजित एक अचम्मको सौन्दर्य प्रतियोगिता हेर्न गयौं। यो आयोजना यति तडकभडकवाला थियो जति तपाई सोच्न पनि सक्नुहुन्न। पुरुषहरू त्यहाँ बोतलबाटै स्याम्पेन पिइरहेका थिए। जब हामी भित्र पस्यौ तब मानिसहरुले हामीलाई अजिब ढंगले घुरेर हेर्न थाले।
यसकारण हामीलाई त्यहाँ असहज भइरहेको थियो। तर हामीले त्यो माहौलमा घुलमिल र्गयौं। हामीले बेलायती प्रतियोगीको हौसला पनि बढायौं, तर पछि हामीलाई के थाहा भयो भने जहाँ हामी थियौं रुजा पनि त्यही थिइन्। उनी त्यही कोठामा थिइन्। हाम्रै आँखा अगाडि। तर प्लास्टिक सर्जरीका कारण अब उनलाई चिन्न धेरै कठिन छ।
युनान वा रोमानियाबाट डा. रुजालाई अमेरिका सुपुर्दगी पनि गरिएको हुनसक्छ। यदि यो साँचो हो भने गत वर्ष यिनै मध्येको कुनै देशमा उनी थिइन् र शायद कुनै नक्कली पहिचानका साथ उनी त्यहाँ पुगेकी हुन सक्छिन्।
हामीले वानक्वाइनको चर्चाभन्दा पहिलेको रुजाको जिन्दगीका बारेमा पत्ता लगाउने एलन म्याक्लिनको सल्लाहलाई गम्भीरताकासाथ लियौं। जर्जिया र मैले इन्टरनेटमा खोज्न सुरु र्गयौं। हामीले रुजाका पुराना दिनबारे खोज्न थाल्यौं। उनका साथीभाईका बारेमा खोज्न थाल्यौं। पुराना फोन नम्बर पत्ता लगायौं। हामी त्यो हरेक चिज खोजिरहेका थियौं जसमा हामीलाई रुजालाई खोज्न सजिलो हुन्थ्यो।
हामीलाई यो पहिल्यै थाहा थियो कि रुजाले आफ्नो बचपनका केही दिन दक्षिणी जर्मनीको श्रैमबर्गमा बिताएकी थिइन्। हामीले जर्मनीको वाल्टेनहाफेनको पनि यात्रा र्गयौं। त्यहाँ रुजा र उनका बुवाले करिब एक दशक पहिले स्टीलको एक कारखाना किनेका थिए। यो यस्तो घटना थियो जसका कारण रुजामाथि फर्जीको केस पनि चलाइएको थियो।
यो मामिलामा सन् २०१६ मा रुजामाथि जरिवाना तय भएको थियो र जेल सजाय पनि तोकिएको थियो। यो हामीले वाल्टेनहाफेनमा गएर पत्ता लगायौं। के पनि थाहा भयो भने उनका जर्मन श्रीमान वकिल हुन् एक प्रसिद्ध ल फर्म लिंकलेटर्ससँग सम्बन्धित थिए।
यो सबै जानकारी भएर पनि हामी त्यसबेला छक्क र्पयौं, जब रुजाका बारेमा जर्मनी सहर फ्रैंकफर्टसँग सम्बन्धित सूचनाहरु आउन थाल्यो। हामीले यसअघि सोचेका थिएनौं कि हामीले फ्रैंकफर्ट सहरमा पनि रुजाका बारेमा केही खोज्नुपर्ने अवस्था आउन सक्छ।
फ्रैंकफर्ट इलाकामा रुजासँग जोडिएका धेरै पुराना ठेगाना थिए। हामीले सन् २०११ को उनको फोटो पत्ता लगायौं। फोटोमा रुजा एक साथीसँग थिइन्। उनै साथी सन् २०१९ मा फ्रैंकफर्टको सबैभन्दा महंगो क्षेत्रमा थिए। एक टेनिस टुर्नामेन्टको प्रचार जस्तो देखिने पोष्टरको अनुसन्धानपछि हामीले के थाहा पायौं भने त्यो तस्वीर फ्रैंकफर्टको कुनै पार्कमा खिचिएको थियो।
हामीले के पनि थाहा पायौं भने सन् २०१६ को आखिरी दिनमा डा. रुजाले एक छोरी पनि पाएकी थिइन्। हामीलाई जानकारी दिइयो कि रुजाकी ति छोरी फ्रैंकफर्टमा छिन्। शायद यो त्यही ठाउँ हो जहाँ रुजाका पति वा पूर्वपति बस्ने वा काम गर्ने गर्छन्।
हामी रुजाका धेरै तस्वीरका साथ एक माइक्रोफोन बोकेर फ्रैंकफर्ट पुग्यौं र त्यस पुराना ठेगानाहरुमा रुजालाई खोज्न थाल्यौं। हामी जर्मनीका धेरै महंगा मानिने स्थानहरुमा पुग्यौ। धेरै मानिसहरु ती फोटो हेरेर धेरै बेर घोरिएको देख्दा लाग्यो हाम्रो प्रयास सफल हुन खोज्दैछ।
तर फेरि उनीहरुले जब त्यस्तो अनुहारका महिलालाई उनीहरु नचिनेको बताए हाम्रो आशा निराशामा बदलियो। हामीले ती वकिललाई पनि फोन र्गयौं, जसको विवाह रुजासँग भएको थियो। तर उनले पनि हामीसँग कुरा गर्न सहमत भएनन्।
के हामी रुजाको निकट पुगेका थियौं? के उनी साँच्चै नै यूरोपियन युनियनमै बसिरहेकी छन् ? हामीलाई थाहा छैन। फ्रैंकफर्ट त्यो एक्लो स्थान हुँदै होइन जहाँ रुजाको आवतजावत भइरहन्छ। यो त ती धेरै ठाउँहरु मध्ये एक मात्र हो। यो ठेगानामा रुस र दुबई पनि पर्न सक्छ।
त्यसको कैयौं दिनपछि हामीलाई आफ्नो एक विश्वस्त सुत्रबाट एउटा खबर प्राप्त भयो। उसले हामीलाई के बताए भने हामी सही थियौं। फ्रैंकफर्ट नै त्यो ठाउँ हो जहाँ रुजा आफ्नो अधिकांश समय बिताउँछिन्। तर हामीलाई आफ्नो खोजी जारी राख्नुपर्ने हुन्छ। हाम्रो हौसला बढाउँदै उनले भने, ‘तपाईहरु उनलाई खोज्न सक्नुहुन्छ। अझै गहिरोसँग खोजी जारी राख्नुहोला !’
उनले यो पनि भने, ‘डा. रुजालाई यो पनि थाहा भइसकेको हुनसक्छ कि हामी उनलाई खोजिरहेका छौं। र उनी हाम्रो प्रयासमाथि हाँसिन् पनि होला !’
सन् २०१९ को नोभेम्बर ५ का दिन ’द मिसिङ क्रिप्टोक्विन’ पडकास्टको अन्तिम श्रृंखलाको प्रसारणपछि डा. रुजाका भाई क्यान्सटैन्टिन इग्नातोवलाई न्यूयोर्कको एक अदातमा पेश गरियो। यस मुद्दामा क्यान्सटैंन्टिनले सरकारको तर्फबाट बयान दिए। यो मुद्दा एक वकिलका विरुद्ध थियो, जसमाथि यो आरोप थियो कि उसले वानक्वाइनको अमेरिकामा कमाईको ४० करोड डलरको मनि लन्डरिङ गरेका थिए।
अदालतमा यो रहस्य पनि खुल्यो कि क्यान्सटैन्टिन इग्नातोवले सन् २०१९ को ४ अक्टोबरमा सरकारको तर्फबाट बयान दिने सम्झौतामा हस्ताक्षर गरेका थिए। यो सम्झौतामा उसले जालसाझीका कतिपय आरोप स्वीकार गरेका थिए। अदालतको रिपोर्टिङ गर्ने एक पत्रकार उनको बयान सुन्न अदालतमा थिए। उनका अनुसार क्यान्सटैन्टिनले आफ्नी बहिनी रुजाले पनि आफूलाई अरु लगानीकर्ताहरुलाई जसरी नै धोका दिएको बयान दिएका थिए।
क्यान्सटैन्टिनले अदालतमा आफ्नो बयानमा यो पनि भने कि डाक्टर रुजा यसकारण हराइन् कि रुजालाई यो डर थियो कि उनको कोही निकट ब्यक्ति एफबीआईलाई उनीबारे सूचना दिनेछ। उनका अनुसार उनकी बहिनीसँग एउटा ठूलो पासपोर्ट पनि छ र रुजाले नै उनलाई पहिले भियना र फेरि एथेन्सको हवाइ टिकट किन्न भनेकी थिइन्।
वानक्वाइनले सँधै नै कुनै पनि गडबडी नगरेको दाबी गर्दै आएको छ। वानक्वाइनले बिबिसीलाई भनेको छ कि यसले एउट क्रिप्टोकरेन्सीको सबै मापदण्ड पूरा गरेको छ। यसको जतिसुकै बेला पनि जाँच गर्न सकिन्छ। वानक्वाइनले आफ्नो बयानमा भनेको छ, ‘द मिसिङ क्रिप्टोक्विन’ पडकास्टले हाम्रो बारेमा कुनै साँचो जानकारी दिनेछैन।
निष्पक्ष र निरपेक्ष हुनेमा आशावादी पनि छैन। विश्वभर हामीमाथि जुन आरोप लगाइएको छ र चुनौती दिइएको छ हामीलाई बदनाम गर्ने यो अभियानको विरुद्ध हामी लाग्नेछौं। हामीलाई विश्वास पनि छ कि वित्तीय क्रान्तिमा आधारित यो नयाँ व्यवस्था छिट्टै साकार पनि हुनेछ।’
वानक्वाइन यस्तो घोटाला थियो जसबाट धेरै पिडीत भए। यो पुरानो पिरामिड योजनाको नयाँ र अत्यन्तै सफल मोडल थियो।
डाक्टर रुजाले समाजका कैयन कमजोर छिद्रहरुलाई पहिचान गर्दै त्यसको दुरुपयोग गरिन्। उनलाई थाहा थियो कि यस्ता धेरै मानिसहरु छन् जो धेरै लोभी, अधैर्य वा पैसाको तीव्र बृद्धिको लोभमा फस्छन्। उनले यही कुरालाई आड बनाउँदै मानिसहरुलाई वान क्वाइनको लालचमा फसाइन्।
उनी यति बाठी थिइन् कि उनले पहिल्यै यो अन्दाज लगाइसकेकी थिइन्, जब हामीले यस धोकाका बारेमा थाहा पाउनेछौं, उनी सबै पैसा कुम्ल्याएर भागिसकेकी हुनेछिन्। किनभने यो कारोबारसँग लड्नका लागि समाजको ब्यबस्था तथा कानुन बनाउनेहरुका साथै प्रहरी र मिडियालाई पनि वास्तवमा के भइरहेको हो भनेर थाहा पाउँदा पाउँदै धेरै ढिला भइसकेको हुनेछ भन्ने उनले बुझेकी थिइन्।