काठमाडौं – कपालले मानिसको सौन्दर्य बढाउँन सहयाेग गर्दछ। तर कतिपय अवस्थामा हेरचाह र स्याहार नपुग्दा कपाल झर्ने र तालु खुइलिने समस्याले धेरैलाइ सताइरहेकाे हुन्छ। कपालमा लगाउने क्रिम, तेल, जेल, रंग र स्ट्रेट गरेका कारणले पनि कपाल झर्दछ भने, अधिकांशमा वंशाणुगत कारणले पनि कपाल झर्ने हुन्छ। यस्तै विभिद कारणले गर्दा धेरै मानिसहरु चिन्तित रहने गर्दछन्।
के हो कपाल प्रत्यारोपण
कपाल प्रत्यारोपण भन्नले कुनै पनि व्यक्तिको कपाल नभएको ठाउँमा कपाल रोप्नुलाई प्रत्यारोपण भन्ने बुझिन्छ। टाउकाको अगाडि र बीचको भागमा कपाल नहुँदा टाउको पछाडि अर्थात् गर्धनको कपाल उखेलेर रोप्नुलाई कपाल प्रत्यारोपण भनिन्छ। यस्तो हुदाँ एउटा–एउटा गरेर गर्धनको कपाल जरा सहित निकालेर तालुमा रोपिन्छ।
प्रत्यारोपणपछि कोष सक्रिय भएर रोपिएको ठाउँमा कपाल उम्रन थाल्दछ। यसरी रोपिने कपाल उखेलेको ६ घण्टाभित्रै प्रत्यारोपण गरीसक्नु पर्छ। नत्र भने, कपालको कोष मर्दछ। कपाल रोपेको एक साता सम्म २० प्रतिशत कपाल आफैं झर्दछ। तर यो कपाल पुनः पलाउँदछ। प्रत्यारोपण गरेको तीन महिनामा रोपिएको कपालले मौलिक जरा बनाईसक्छ। प्रत्यारोपण गरिएको कपाल जीवनभर रहन्छ। यसलाई सामान्य कपाल झै धुन, तेल लगाउन, कोर्न र काट्न समेत मिल्दछ र यो सामान्य कपालजस्तै बढ्ने हुन्छ।
कसरी गरिन्छ कपाल प्रत्यारोपण?
चिकित्सा विज्ञानमा आएको विकाससँगै कपाल प्रत्यारोपणका क्षेत्रमा पनि नयाँनयाँ प्रविधि र तरिका भित्रिएका छन्। कपाल प्रत्यारोपण गर्नुअघि टाउकाको कपाललाई छालाको सतहसम्म हुने गरी काट्ने काम गरिन्छ।
कपाल प्रत्यारोपण विधिहरु
एफयुटी विधि — फलिक्युलर युनिट ट्रान्सप्लान्ट (एफयुटी) कपाल प्रत्यारोपणका लागि केही पुरानो विधि हो। यसमा व्यक्तिको टाउकाको पछाडि रौं भएको क्षेत्रबाट छालासहितको कपालको पत्र निकालिन्छ। त्यसपछि छालाको पत्र निकालेको स्थानलाई सिलाउने काम गरिन्छ। त्यसपछि तालुमा उपकरणको सहयाताबाट एकएक वटा गरी रोपिन्छ।
एफयुई विधि — एफयुटीपछि विकास गरिएको नयाँ विधि हो, फलिक्युलर युनिट एक्स्ट्रयाक्सन (एफयुई)। यो विधि एफयुटीभन्दा फरक छ। यसमा छालाको पत्र काटेर निकाल्नु पर्दैन। यसमा कपालका रौंका जरा र त्यस वरिपरिका छालालाई विशेष किसिमको मोटरयुक्त उपकरणको सहायतामा निकालिन्छ। यसरी निकालेको जरासहितको कपाललाई विशेष तरल पदार्थमा राखिन्छ। त्यसपछि निकालेर राखिएको जरालाई तालुमा रोप्नका लागि बनाइएको प्वालमा एकएक वटा गरेर राखिन्छ।
डाइरेक्ट विधि — यो फलिक्युलर युनिट एक्स्ट्रयाक्सन (एफयुई) कै विकसित र परिमार्जित विधि हो। अन्य विधिको तुलनामा यो विधिमा रोपिएका कपालको उम्रने नतिजा निकै राम्रो र गुणस्तरीय हुन्छ। यसमा कपाललाई सियो जत्रो आकार भएको इम्प्लान्टरमा जरा राखेर एकएक वटा कपाल रोपिन्छ। यो विधिमा कपाल रोप्न प्वाल बनाइरहनु पर्दैन। इम्लान्टरमा नै रहेको सियोले आफैं प्वाल बनाएर रोप्ने काम गर्छ। यो विधिमा रोपिएको कपाल बाँच्ने सम्भावना ९७ प्रतिशतभन्दा माथि हुन्छ।