बुटवल– आज(आइतबार)बाट प्रदेश ५ को हिउँदे अधिवेशन शुरु हुने भएको छ। त्यस्तै बैठक दिउँसो १ बजे बस्नेछ। कार्यपरामर्श समितिको बैठकले आज बस्ने बैठकका एजेन्डा बारे टुंगो लगाउने भएको छ।
यो अधिवेशनमा प्रदेशको नाम र राजधानी टुंगो लगाउने तयारी गरेको छ। नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले हिउँदे अधिवेशनबाट प्रदेशको स्थायी राजधानी र नामको टुंगो लाग्ने बताए। प्रदेश ५ मा नेकपा ६१, नेपाली कांग्रेस १९, समाजवादी पार्टी ५ र राजपा तथा राष्ट्रिय जनमोर्चाका १र१ गरी कुल ८७ सांसद् छन्। प्रदेश पाँचमा बुटवल कि दाङ राजधानी भन्नेमा विवाद रहेको छ।
हालसम्म सातमध्ये चार प्रदेशले नाम र राजधानी टुङ्गो लगाएका छन्। देशका ७ प्रदेश मध्ये अब १, २ र ५ले मात्र नाम र स्थायी राजधानी टुंगो लगाउन बाँकी रहेको छ। आजदेखि शुरु हुने प्रदेश सभाको नयाँ अधिवेशनले स्थानीय तह, लोक सेवा, विश्वविद्यालय, चलचित्र, सुशासन र वातावरणलगायत कम्तिमा आधादर्जन विधेयक पारित गर्नेछ।