एजेन्सी– बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनले अब हिज–हर रोयल हाइनेस (एचआरएच) उपाधि प्रयोग गर्न नपाउने र उनीहरुले शाही कोषको रकम पनि नपाउने भएका छन्।
बकिङ्घम राजदरबारले शनिबार सो कुराको घोषणा गरेको हो। साथै सो दम्पतीले बेलायतकी महारानीलाई औपचारिक रुपमा प्रतिनिधित्व पनि नगर्ने राजदरबारले जनाएको छ।
ड्युक एण्ड डचेस अफ ससेक्स (ह्यारी दम्पती)को लागि छुट्याइएको करदाताको २ दशमलब ४ मिलियन पाउण्ड अब उनीहरुको बेलायती परिवारमा नै रहने जनाइएको छ। पछिल्लो व्यवस्थापन आउँदो वसन्त ऋतुबाट लागु हुने बताइएको छ।
गएको सोमबार राजपरिवारका वरिष्ठ सदस्यहरुबीचको बैठकपछि राजदरबारको पछिल्लो भनाइ आएको हो। हालै सो दम्पतीले वरिष्ठ शाही परिवारबाट बाहिरिने घोषणा गरेको थियो।
बेलायती महारानीले धेरै महिनासम्मको कुराकानी र हालैको छलफलबाट आफ्नो नाति र उनको परिवारको बारेमा रचनात्मक र सहयोगी बाटो पहिल्याउने काम भएकोमा खुसी व्यक्त गरेको राजदरबारको वक्तव्यमा उल्लेख छ।
उनले वक्तव्यमा ह्यारी, मेघन र आर्ची आफ्नो परिवारको धेरै माया गरिएका सदस्य सधैं रहने समेत जनाएकी छन्।उनीहरुले सामना गर्नुपरेको चुनौती आफूले महसुस गरेको र उनीहरुको अझ स्वतन्त्र जीवनका लागि समर्थन गर्ने महारानीले जनाएकी छन्।
ह्यारीले देश र कमनवेल्थमा प्रतिबद्धताका साथ काम गरेकोमा धन्यवाद भन्दै महारानीले मेघन यति चाँडै परिवारको सदस्य भएकोमा गौरव महसुस गरेको समेत जनाएकी छन्।
महारानीले पछिल्लो समझदारीले ह्यारी दम्पतीकोे खुसी र शान्तिपूर्ण जीवनको लागि अनुमति दिने आफ्नो परिवारको आशा रहेको जनाएकी छन्।