काठमाडौ— चिटिक्क अनुहार, आधुनिक पहिरनमा घरबाहिर निस्किनुअघि चारचोटि ऐना हेर्नेहरूले आफ्ना खुट्टाको सरसफाइमा भने सामान्य रूपमा ध्यान दिने गरेकाे पाइदैन। तर शारीरिक सुन्दरताकाे लागि पहिरनसँगै खुट्टाकाे पनि महत्वपुर्ण भुमिका हुन्छ।
यसैले भनिन्छ, कुनै व्यक्तिको पहिचान उसको अनुहारभन्दा बढी खुट्टाले दिइरहेको हुन्छ। शरीरका देखिने अंगहरूलाई सफासुग्घर बनाउने प्रयास गरिए पनि महिलाको दाँजोमा पुरुषहरू त्यति खुट्टालाई महत्व दिदैँनन्। उसो त महिलाहरूले समेत पर्याप्त र सही रूपमा खुट्टाको सरसफाइ गरेको विरलै पाइन्छ।
खुट्टालाई आकर्षक, स्वस्थ र संक्रमणमुक्त राख्न लोसन, क्रिम वा उपलब्ध कुनै पनि खाने तेलले नियमित मालिस गर्नु लाभदायक हुन्छ। मालिससँगै पेडिक्योर अर्थात् खुट्टाको सरसफाइसमेत आवश्यक हुन्छ। यसको लागि ब्युटिपार्लर नै जानु आवश्यक छैन, घरमै बसेर पनि राम्ररी सरसफाइ गर्न सकिन्छ।
पेडिक्योर गर्न शरीरले थेग्न सक्ने तातो पानीमा तरल अमोनिया, हाइड्रोजन पेरोक्साइड र तरल साबुन मिलाउनुपर्छ। अनि त्यसमा खुट्टा डुबाएर धुनुपर्छ। १५ देखि २० मिनेटमा छाला नरम भएपछि कुर्कुच्चा जस्ता भागलाई प्युबिक स्टोन आदिले बिस्तारै रगड्नुपर्छ। यसो गर्दा मृत छाला निस्किएर खुट्टा सफा देखिन्छ। पैताला र नङ सफा गर्न कुनै पुरानो तर संक्रमणमुक्त टुथब्रससमेत उपयोग गर्न सकिन्छ।
पैताला, औंला र नङ राम्ररी धोइपखाली गरेपछि सफा कपडाले पुछ्नुपर्छ। खुट्टा सुकेपछि पेट्रोलियम जेली, मोइस्चराइजिङ क्रिम वा खाने तेल लगाएर मालिस गर्नुपर्छ। खुट्टाको नङ भने नेल कटरले मिलाएर काट्नुपर्छ। अमेरिकन एकेडमी अफ डर्मेटोलजी (एएडी) को तथ्य अनुसार, मुख्य रूपमा रिमुभरका माध्यमले नेल पालिस हटाएपछि नङलाई नरम पार्न क्रिम लगाउने गर्नुपर्छ।
किनभने, धेरैजसो नेल पालिस रिमुभरमा रसायन हुन्छ, जसले नङलाई कडा बनाउँछ। खुट्टाको रौं हटाउनुपर्ने भए पेडिक्योरपछि मात्र त्यस्तो गर्न एएडीले सुझाव दिएको छ। पेडिक्योर गर्नुभन्दा २४ घन्टाअघिसम्म खुट्टाको रौं खौरनु वा कुनै उपायले हटाउनु हुँदैन। यसो गर्दा पेडिक्योरका कारण संक्रमणको सम्भावना बढ्छ।
खुट्टालाई सधैँ सफा गरौं
खुट्टा दिनहुँ साबुनपानीले धुने गरौँ, जुत्ता लगाउनुभन्दा अघि खुट्टा सुक्खा बनाऔँ, टाइट जुत्ता लगाऔँ, सफा मोजा लगाउने गरौँ, धेरै समयसम्म बसेपछि, केही समय हिँड्ने गरौँ, ताकि खुट्टामा रक्तसञ्चार बढोस र उपरखुट्टी लगाउँदा बेलाबेला खुट्टा बदल्ने गरौँ।