एजेन्सी– यमनको मरिब शहरमा रहेको एक सैनिक तालिम केन्द्रमा हुथी विद्रोहीले आक्रमण गरेका छन्। आक्रमणमा परी ६० जनाको मृत्यु भएको छ।
इरानको समर्थनप्राप्त हुथी विद्रोहीले मरिबमा रहेको सैनिक तालिम केन्द्रमा शनिबार आक्रमण गरेका थिए। उक्त हमलामा परी ६० जनाको मृत्यु भएको छ। त्यस्तै दर्जनौं घाइते भएको साउदी अरबको सरकारी टेलिभिजनले जनाएको छ।
समाचार अनुसार ब्यालिस्टिक मिसाइल र ड्रोन हमलाबाट सैनिक तालिम केन्द्रमा हमला भएको थियो। तालिम केन्द्रमा रहेको मस्जिदमा समेत हमला भएको थियो। हमलाका क्रममा उक्त मस्जिदमा सैनिकहरू प्रार्थना गरिहेको बताइएको छ।
हमला लगत्तै यमनको राजधानी सानाको उत्तरपूर्वी क्षेत्र नहममा रहेका हुथी विद्रोहीका क्याम्पमा अरब गठबन्धनको सेनाले बमबारी गरिरहेको समेत समाचार माध्यममा जनाइएको छ।यमनमा इरान र साउदी अरबले समर्थन गरेका समूहबीच युद्ध भइरहेको छ।