काठमाडौं– पर्यटन विभागले हिउँदे पर्वतारोहणका लागि आरोहण खुला गरेको छ। सगरमाथासहितका हिमाल आरोहणका लागि पर्यटन विभागले अनुमति खुला गरेको हो।
अनुमति खुला भएपछि चारओटा हिमाल आरोहणका लागि पर्वतारोहिले अनुमति लिएका छन्। सगरमाथाबाहेक नुप्त्से, आमादब्लम र रोक्पाइ हिमालका लागि विभागले अनुमति जारी गरिसकेको छ। सगरमाथा आरोहणका लागि अहिलेसम्म पाँच जनाले विभागबाट अनुमति लिइसकेका छन्।
अनुमति लिनेमा दुईजना जर्मनी र तीन जना स्पेनी नागरिक छन्। नुप्त्सेका लागि पाँच जना, आमादब्लमका लागि १५ जना र रोक्पाइ हिमालका लागि दुई जनाले अनुमति लिएको विभागले जनाएको छ।अहिलेसम्म विभिन्न पाँचओटा टोलीका २७ जनाले हिउँदे आरोहणका अनुमति लिइसकेका छन्।
अनुमति लिनेमा २३ जना स्पेन, दुई जना जर्मनी र एकरएक जना संयुक्त राज्य अमेरिका र चीनका नागरिक छन्। आरोहण अनुमतिबाट विभागले अहिलेसम्म १६ लाख ८२ हजार रुपियाँ रोयल्टी सङ्कलन भएको विभागले जनाएको छ।
त्यसमध्ये १५ लाख १३ हजार रुपियाँ मात्रै सगरमाथा आरोहण अनुमतिबाट प्राप्त छ।यस सिजनमा आरोहण अनुमतिका लागि लिइने रोयल्टी वसन्तयामको तुलनामा कम हुन्छ।