काठमाडौं– आर्युवेदमा दुबोको खास महत्व रहेकाे छ। यसलाई ठुलो औषधी मानिन्छ। दुबोले शरीरलाई अनेक रोगबाट मुक्त गर्छ। दुबोमा बाहिरी घाउदेखि भित्री रोगसम्म निको पार्ने क्षमता हुन्छ।
दुबोको अर्को विशेषता भनेको, यो जहाँतहीँ सजिलै उम्रन्छ र अन्य औषधिय गुणका वनस्पति दुर्लभ हुने गर्दछ। दुबो जताततै पाइन्छ। दुबोको यहि बिशेषताको कारण त भनिएको हो, ‘दुबो जस्तो मौलाओस्।’
दुबो पोषण तत्वको भण्डार
चमत्कारीक वनस्पति दुबोलाई आर्युवेदका अनुसार जुसको रुपमा समेत सेवन गर्न सकिन्छ। दुबोको रसमा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्शियम, फाइबर, पोटासियम पर्याप्त मात्रामा पाइन्छ। हरेक दिन निश्चित मात्रामा दुबो सेवन गर्नु स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ।
दुबोलाई कसरी सेवन गर्ने
दुबो सामान्य अवस्थामा पनि सेवन गर्दा लाभदायक हुन्छ। सफा ठाउँमा उम्रिएको दुबोलाई टिपेर पखाल्ने। त्यसलाई पिसेर रस निकाल्ने। उक्त रसमा पानी मिश्रण गरेर पिउन सकिन्छ। साथसाथै सफा दुबोलाई पानीमा उमालेर त्यसको रस सेवन गर्न पनि सकिन्छ। यसले आँखा पाकेको वा आँखामा कुनै किसिमको संक्रमण छ भने दुबोको रस रामबाण हुनसक्छ।
दुबोको रस पातलो कपडामा छानेर सफा रसलाई आँखामा लगाएमा संक्रमण ठिक हुन्छ। साथै दुबोमा खाली खुट्टा हिँड्नु पनि राम्रो मानिन्छ। उच्च रक्तचाप, मधुमेहको रोगीले बिहान दुबोमा खाली खुट्टा हिँडडुल गर्नु निकै फाइदाजक हुने बताइन्छ।
दुबो कुन रोगका लागि कति उपयोगी?
दुबोमा पोषक तत्व हुने भएकाले यो स्वास्थ्यका लागि निकै फाइदाजक छ। कब्जियत, कलेजोको रोग, यौनरोगमा दुबो अत्यन्तै लाभदायक हुन्छ।यसले शरीरको विकार हटाउँछ। यसले रगतलाई शुद्धिकरण गर्न सघाउँछ। पिसाबमा खराबी छ भने दुबोको रस पिउनु फाइदाजनक हुन्छ।
नाकको समस्यामा पनि दुबो लाभदायक हुन्छ। सामान्य अवस्था वान्ता भए, नाथ्री फुटे, छाती पोले, जिउ चिलाए, शरीरको कुनै भाग सुन्निएमा दुबोको प्रयोग गर्न सकिन्छ। यो दीर्घ रोगहरुको निदानमा पनि प्रभावकारी मानिन्छ। खासगरी मधुमेह, उच्च रक्तचाप, नपुङ्सकता आदिमा दुबोको रस खास उपयोगी हुन्छ।