काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिच बालुवाटारमा भएको छलफल सकिएको छ। लामो समयदेखि अल्मलिएको सभामुख चयनका लागि आइतवार विहान करिब साढे २ घन्टा भएकाे उनीहरुकोबिचको भेटवार्ता सकिएको हो।
नेकपाका महासचिव विष्णु पौडेलको अनुसार दुई नेताबीचको बैठकले आजै ४ बजेका लागि सचिवालय बैठक बोलाउने निर्णय भएको छ। महासचिव पौडेलले सभामुख आपसी समझदारीमा चयन गर्ने निर्णय भएको र त्यसका लागि ४ बजे सचिवालय बैठक बोलाइएको जानकारी दिए। आजै सभामुखबारे टुंगो लाग्ने पनि उनले बताए।
भोलि संसदको बैठक आह्वान भएका कारण नेकपालाई आजै सभामुख चयन गर्नुपर्ने दवाव रहेको छ। पार्टी अध्यक्ष ओलीले सुवास नेम्वाङलाई र अर्का अध्यक्ष प्रचण्डले अग्नी सापकोटालाई अध्यक्षको रुपमा अघि सारेका छन् भने राष्ट्रपतिले उपसभामुख शिवमाया तुम्बाहाङ्फेमाथि चासाे देखाएपछि सभामुख बारे निर्णय हुन सकेको थिएन।
बालुवाटार श्रोतको अनुसार सभामुखमा केपी ओली केही लचक भएका छन्। तर उनले अहिले चर्चामा रहेको भन्दा फरक व्यक्ति चाहेका छन्। यसबारेमा प्रचण्डसँग छलफल भएको बताइएकाे छ।