जनकपुर– जनकपुरबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया बस्ने ४० वर्षीय जितेन्द्र यादव र क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने ३० वर्षिय कुमोदनारायण झा रहेका छन्।
धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनकपुरधाम उपमहानगरपालिका १ भानु चोकमा शनिबार दुर्घटनामा परेको कारलाई चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि दुवैजनालाई प्रहरीले पक्राउ गरेको बताए।
शनिबार दिउँसै जनकपुरको भानु चौकमा बा १४ च ७४५९ नम्बरको कारले ज ९ प ४८०६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। ठक्कर पश्चात् वडा प्रहरी कार्यालय, रेल्वे स्टेशन चौकीका असई अशोक राय यादव नेतृत्वको प्रहरी टोलीले कारको खानतलासी गर्दा ६ राउण्ड गोलीसहित पेस्तोल बरामद भएको हो।
दुवैजनामाथि थप अनुसन्धान धनुषाका ईन्सपेक्टर अशोक झाको कमाण्डमा भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।