काठमाडौं– पछिल्लो समय नेपाली चलचित्र र गीत संगीतमा आफैले नाँच्ने र आफैँ निर्देशक बन्ने प्रचलन बढ्दो छ। यो बिषयमा हास्य कलाकार शिवहरी पौडेलले फिल्म निर्देशन निकै गाह्रो विषय रहेको बताएका छन्।
‘फिल्म निर्देशन गाह्रो विषय रहेछ’ शिवहरीले भने ‘कलाकार हुँदा आफ्नो सिन सकेपछि पुग्थ्यो। तर निर्देशकले सबैतिर ध्यान दिनपर्दाे रहेछ।’ केही दिन अगाडि फिल्म ‘लक्का जवान’ को शीर्ष गीत सार्वजनिक कार्यक्रममा शिवहरीले निर्देशक बन्दाको अनुभव समेत सबैमाझ सुनाएका थिए।
‘लक्का जवान’ चैत्र २१ बाट प्रदर्शनमा आउने छ। यसै फिल्म मार्फत शिवहरीले निर्देशनमा डेब्यु गरेका हुन्। सानो पर्दाको टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’, विज्ञापन चलचित्र तथा छोटा चलचित्र निर्देशन गरिसकेका पौडेललको ठूलो पर्दाका चलचित्र निर्देशन पहिलो हो।
सानो पर्दाको निर्देशन अनुभव ठूलो पर्दामा पनि काम लागेको पौडेलले कार्यक्रममा सुनाए। ‘मलाई सबैले कलाकारले राम्रो सहयोग गर्नुभयो,’ पौडेलले थपे ‘सबैलाई धन्यवाद।’ निर्माता समेत रहेका पौडेलललाई फिल्म निर्माणमा कलाकार किरण केसी र दीलिप रायमाझीले सहकार्य गरेका छन्।
कमेडी विषयमा निर्माण भएको फिल्ममा किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, दिलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जन लगायतको अभिनय रहेको छ। हाँस्य कलाकाकारहरुका सबै फिल्मले विगतमा राम्रो व्यापार गरिरहेका छन्। त्यसैले ‘लक्का जवान’ ले पनि राम्रो गर्नसक्छ भन्ने अपेक्षा गरिएको छ।