काठमाडौं– चिकित्सकहरुको सल्लाह अनुसार तीस बर्ष पुगेपछी नियमित स्वास्थ्य परीक्षण गर्न थाल्नु पर्दछ। उमेर बढेसगैँ शरीरमा विभिन्न किसिमका समस्याहरू पैदा हुने गर्दछ। समयमै स्वास्थ्य परीक्षण गराउँदा राेगबारे सुरूमा नै पहिचान हुन्छ। जसका कारण कुनैपनि राेगकाे उपचार सम्भव हुन्छ।
थाइराइड– अचानक तौल बढ्नु, मनस्थितीमा परिवर्तन आउनु र तनाव हुनु थाइराइडको लक्षण हो। विशेषगरी ३५ वर्षपछि महिलालाई थाइराइडको खतरा रहन्छ। थाइराइड जाँच गर्न रक्त परीक्षण आवश्यक पर्दछ।
कोलेस्ट्रोल– कोलेस्ट्रोल निश्चित उमेरपछि मानिसमा देखिने विभिन्न समस्यामध्ये एक हो। विलासी, जीवनशैली तथा गलत खानपनका कारण रगतमा उच्च कोलेस्ट्रोलको समस्या देखिन्छ, जसले गर्दा मुटु सम्बन्धी विभिन्न समस्या ल्याउँछ। कोलेस्ट्रोलको मात्रा १ सय ३० भन्दा बढी भएमा स्वास्थ्यमा गम्भीर समस्या आउनसक्छ। त्यसैले त, चिकित्सक वर्षमा कम्तीमा एक पटक रगतमा कोलेस्ट्रोलको जाँच गराउन सल्लाह दिन्छन्।
रक्तचाप– यदी तपाईको रक्तचाप १२० र ८० देखि १ सय ३९ र ८९ मा छ भने वर्षमा एक पटक रक्तचापको जाँच गराउनु उपयुक्त हुन्छ। तर रक्तचाप १ सय ४० र ९० भन्दा अधिक रहेमा भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ। अन्यथा रक्तचापमा आएको गडबडीका कारण उच्च रक्तचापको खतरा बढ्न सक्छ। उच्च रक्तचाप भएमा पक्षघात, मुटु रोग, हृदयाघात, स्ट्रोक तथा मिर्गौला सम्बन्धी जटिल रोग लाग्नसक्छ।
मधुमेह– गलत खानपान तथा बद्लिदो जीवनशैलीका कारण थुप्रैलाई मधुमेहको समस्या देखिन थालेको छ। मधुमेह भएमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ। शरीरले खानालाई शक्तिमा परिणत गर्न नसक्दा इन्सुलिनको कमी हुन थाल्छ, जसका कारण अन्य धेरै समस्या निम्तने गर्दछ। स्वस्थ मानिसले समेत वर्षमा कम्तीमा एक पटक रक्त परीक्षणबाट मधुमेह भए–नभएको हेक्का राख्नुपर्छ।
स्तन क्यान्सर– मेमोग्राफमार्फत स्तन क्यान्सरको स्क्रिनिङ गर्न सकिन्छ। विशेषगरी, ४० वर्ष पार गरेका महिलालाई हरेक दुई वर्षमा कम्तीमा एक पटक स्तनको मेमोग्राफ गराउने सल्लाह दिने गरिन्छ। किनकी स्तन क्यान्सर भएको छ भने समयमै उपचार गर्न सजिलो हुन्छ।
पाठेघरको मुखको जाँच– नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख हो। पाठेघरको मुखमा क्यान्सर भए नभएको पत्ता लगाउन पाठेघरको मुखको स्क्रिनिङ गर्न सकिन्छ।स्क्रिनिङ गर्दा पाठेघरको मुख तथा गर्भासय सुन्नीएको छ भने तुरुन्तै पत्ता लगाउन सकिन्छ। पाठेघरको मुखको क्यान्सर छ कि छैन भनेर पत्ता लगाउन पेप्स स्मेयर जाँच गर्न सकिन्छ। तीस वर्षको उमेर कटेपछि हरेक तीन वर्षमा एक पटक पाठेघरको मुखको जाँच गराउनुपर्छ।