काठमाडौं– नेपालकै चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’, ‘हिमालय रोडिज’ प्रसारण गरिरहेको हिमालय टेलिभिजनले अब, नयाँ रियालिटी शो प्रसारण गर्ने भएको छ।
फागुनबाट ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ नामक रियालिटी शो हिमालय टेलिभिजनमा प्रसारण हुन लागेको हो। बीबीसी स्टुडियोले सुरु गरेको यो रियालिटी शोको फ्रेञ्चाइज अहिले विश्वका सयभन्दा बढी देशमा विभिन्न नाममा प्रसारण भईरहेको छ।
अमेरिका र अष्ट्रेलियामा यो शो सर्वाधिक लोकप्रिय छ। भारतमा ‘झलक दिख ला जा’ नाममा ‘डान्सिङ विथ दि स्टार्स’ को फ्रेञ्चाइज केही वर्षदेखि प्रसारण भईरहेको छ। यो शोलाई ‘दि भ्वाइस अफ नेपाल’ को टिमले उत्पादन र व्यवस्थापन गर्नेछ। तर, यो शोको सम्पूर्ण अधिकार भने हिमालय टेलिभिजनसँग रहनेछ।
शोका निर्देशक लक्ष्मण पौड्यालले भने, ‘यसमा स्टार भन्ने वित्तिकै चलचित्रका मात्र हुन्छन् भन्ने छैनन्। व्यवसायी, नायक, नायिका, पत्रकार, मोडल जो पनि यो शोको प्रतिस्पर्धी हुन सक्छन्।’ यो शोमा २४ जना प्रतिस्पर्धी सहभागी हुनेछन्। जस मध्ये १२ जना स्टार र ती १२ जना स्टारका लागि १२ जना कोरियोग्राफर हुनेछन्।
एक स्टार एक कोरियोग्राफर जोडीले शोमा प्रतिस्पर्धा गर्नेछन्। निर्देशक पौड्यालले भने, ‘विशेष गरी दर्शकले कुन स्टारलाई नाचेको हेर्न चाहनुहुन्छ, हामी उहाँहरुलाई छनोट गर्नेछौं। यो शोमा नाच्नै नजान्ने स्टार पनि सहभागी हुन सक्नेछन्। यसको छनोट प्रक्रिया हामी सुरु गर्दैछौ।’
कार्यक्रम प्रसारण भएसँगै हरेक हप्ता दर्शकको भोट र निर्णायकको मतको आधारमा १ जना प्रतिस्पर्धी बाहिरिने लक्ष्मणले बताए। उनका अनुसार २६ देखि ३० भागसम्म यो शो प्रसारण गर्ने योजना गरिएको छ। फागुनबाट यो शो हिमालय टेलिभिजनमा प्रसारण हुने बताइएको छ।