काठमाडौं– नेपाली चलचित्रमा पछिल्लो समय लोकगीत समावेश गर्ने प्रचलन बढ्दो छ। माघे संक्रान्तीको अवसर पारेर चलचित्र ‘लक्का जवान’ को शिर्ष गीत सार्वजनिक भयो। यो गीतमा नायक दिलिप रायमाझीदेखि नायिका प्रियंका कार्कीसम्मले अभिनय गरेका छन्।
चलचित्रमा गीत छान्न सिपालु मानिने निर्माता किरण केसीले यो गीत तयार पारेका हुन्। तर, पनि यो गीतले दर्शकको ध्यान तान्न सकेन। सार्वजनिक भएको ५ दिनमा चलचित्रको गीतलाई ३ लाख भ्यूज मिलेको छ। गीतले बजारमा खासै गतिलो प्रभाव पारेको छैन। चलचित्रको टिमले अब नयाँ गीत सार्वजनिक गर्दा अझै ध्यान दिनुपर्ने अवस्था छ।
हुनत, हरेक कुरा धेरै भयो भने त्यसले दर्शकको ध्यान तान्न सक्दैन। सायद, पछिल्लो समयमा चलचित्रमा लोकलयका गीतको अवस्था यस्तै हुँदैछ। ‘सुर्के थैली खै’ बोलको गीत हिट भएपछि नेपाली चलचित्रमा लोकलयका गीत राख्ने प्रचलन खुबै बढ्यो। यसपछि, चलचित्रका गीतमा लोकलयका गीत अनिवार्य जस्तै भयो।
राजनराज सिवाकोटी यस्ता गीत बनाउन माहिर देखिए। तर, अब त उनका गीत पनि कमजोर देखिन थालेका छन्। तिहारपछि सार्वजनिक भएका आधा दर्जन चलचित्रमध्ये अधिकांश चलचित्रमा लोकगीत समावेश छन्। तर, ती सबै गीतले बजारमा कुनै तहल्का पिट्न सकेका छैनन्।
चलचित्रमा लोकलयका गीत राखेर चर्चा पाउने र दर्शकको आकर्षण खोज्ने क्रम बढेको छ। तर, यसले गतिलो नजिता अहिलेसम्म दिन सकिरहेको छैन। चलचित्र ‘सेन्टी भाइरस’ को ‘फनफनी’ बोलको गीतदेखि चलचित्र ‘लभ डायरीज’ को ‘छमछम’ बोलको गीतको हालत पनि कमजोर रह्यो।
नायक विराज भट्टले बनाएको ‘साङ्लो’ को ‘चरीले काफल’ बोलको गीतको अवस्था पनि गतिलो रहेन। बरु, यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि चर्चा चुलिएको छ। अब, चलचित्र बनाउने मेकरले एउटा लोकगीत राख्नैपर्छ भन्ने भावले गीत तयार पार्नु फाइदाजनक नहुने देखिएको छ।
चलचित्रमा कथाको माग भएको खण्डमा यस्ता गीत आवश्यक छन्। तर, एउटा गीत राखेको खण्डमा चलचित्र चल्छ भन्ने सोचबाट भने बाहिरिन जरुरी देखिएको छ। यही मान्यताले गर्दा धेरै निर्माता निर्देशकले धोका खाईसकेका छन्।